इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै
इलाम । पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको हो । माईजोगमाई गाउँपालिकाको सोयाङ, नामसालिङ इलाम नगरपालिकाको गोलाखर्क, माईखोला, भञ्ज्याङ तथा चुलाचुली गाउँपालिकाको तल्लो भू–भागलगायत क्षेत्रमा उक्त खेती विस्तार हुँदै गएको बर्देवाले बताए । ‘नयाँ खेतीमा किसानको आकर्षणलाई प्रोत्साहन दिन ज्ञान केन्द्रले अनुदान सहयोग सुरु गरेको छ,’ उनले भने, ‘व्यावसायिक फलफूल बगैँचा स्थापना सहयोग कार्यक्रमअन्तर्गत अनुदान दिइएका छौँ ।’ माईजोगमाई –५ सोयाङका लक्ष्मण खत्रीले चार रोपनी क्षेत्रफलमा प्रतिपिलर चारवटा बिरुवाका दरले एक सय ५० पिलर लगाएका छन् । ‘भर्खर ३०–४० पिलरबाट मात्र फल उत्पादन सुरु हुँदैछ, वार्षिक ८० हजार आम्दानी छ’, उनले भने, ‘कुनै दुई वर्षका, कुनै तेस्रो वर्षका बिरुवामात्र छन्, चार वर्षको म्याचोर्ड भएपछि त एउटै पिलरले ४० केजीसम्म उत्पादन दिने रहेछ ।’ खत्रीले इलाम बजारमा प्रतिकेजी पाँच सयका दरले बिक्री गर्दै आएका छन्। ‘उत्पादन बढ्दै गएपछि अन्य जिल्लाका बजार खोज्नुपर्ला, अहिलेसम्मको चैँ यहीँबाट खपत भइरहेको छ,’ उनले भने । झापाको प्यारोडाइज एग्रोफार्मबाट बिरुवा मगाएर त्यहाँको परामर्शबमोजिम खत्रीले खेती सुरु गरेको आउँदो जेठमा चार वर्ष पुग्छ । ‘इलाममा ड्रागन फ्रुटको खेती सुरु गर्ने सायदै म नै पहिलो होला, विज्ञको सुझाव र काम गर्ने लगनशीलताले मलाई सफल भएँ जस्तो लाग्छ,’ उनले भने, ‘यसले वैशाखदेखि सुर भएर कात्तिकसम्म फल दिन्छ । स्वादिलो तथा पोषिलो यो फलको यति बेला बजारमा राम्रै माग छ ।’ इलाम गोलाखर्कका अर्का किसान सन्देश खड्काले ड्रागन फ्रुटलाई सजावट तथा फल उत्पादन दुवै प्रयोजनका लागि प्रयोग गरिने बताए । यो फलको खेती पानी कम पर्ने ठाउँहरुमा एकदम राम्रो हुने गरेको उनले बताए । ‘विशेषगरी सुगर र कोलेस्ट्रोलका बिरामीका लागि यो हितकर छ । यसमा प्रोटिनको प्रशस्त मात्रा पाइन्छ, जसले गर्दा सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै मद्दत गर्दछ,’ किसान खड्काले भने । चिकित्सकका अनुसार यो भिटामिन र मिनिरल्सको राम्रो स्रोत हो । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत भएकाले बाथरोगका बिरामीहरुलाई धेरै लाभदायक छ । त्यतिमात्र हैन यसले मुटु पनि स्वस्थ राख्दछ । ड्रागन फ्रुट थोरै मलिलो माटो र तापक्रममा धेरै भिन्नता भएको ठाउँमा पनि रोप्न सकिने किसान बताउँछन् । उष्ण क्षेत्र यो खेतीका लागि उत्तम मानिने किसान खत्रीले बताए । यदि धेरै घाम लाग्ने ठाउँ छभने छाया प्रदान गरी राम्रो उत्पादन लिन सकिने उनको भनाइ छ । ‘यसका लागि हल्का बलौटेदेखि दोमट माटो उपयुक्त हुन्छ । प्राङ्गारिक मल धेरै भएको र पानीको निकास राम्रो भएको ठाउँ राम्रो मानिन्छ । माटो मसिनो हुने गरेर जोतेर झारहरु सफा गरी प्राङ्गारिक मल आवश्यकताअनुसार हाली बिरुवा रोप्न सकिन्छ’, उनले भने । यसको बीउबाट बिरुवा बन्न धेरै समय लाग्ने र बीउबाट फलमा मात्र गुणमा परिवर्तन आउने हुँदा फल राम्रो लाग्दैन त्यसैले व्यावसायिक खेती गर्न बीउबाट उत्पादित बिरुवाले सम्भव नहुने उनको सुझाव छ । ड्रागन फ्रुट खेतीका लागि थोपा सिँचाइ प्रयोग गर्नु उत्तम हुने विज्ञ बताउँछन् । छ गाउँपालिका र चार नगरपालिका भएको इलामका सबै पालिकामा यो खेती विस्तार भइसकेको छैन । तर हावापानी र तापक्रम मिल्ने क्षेत्रका किसान यस खेतीतर्फ आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ । वार्षिक ठूलो परिमाणमा बाहिरबाट आयात हुने ड्रागन फ्रुट जिल्लाका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुँदा अनुदानमार्फत प्रोत्साहन दिएको ज्ञान केन्द्रका प्रमुक बर्देवाले बताए। बजारको उचित व्यवस्था गरी किसानलाई थप अनुदान प्रदान गरेर स्थानीय तहले समेत प्रोत्साहन दिन सके नयाँ खेतीका रुपमा यो फल इलाममा फस्टाउने सम्भावना रहेको उनको भनाइ छ । रासस
हिमालयन हाइट होटलमा जुवातास खेलिरहेका दशजना पक्राउ
काठमाडौं । जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ तहाचलस्थित काठमाडौं महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई रु ५५ हजार तीन सय, आठ हजार भारतीय मुद्रा र एक बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रासस
राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै गुरुङ
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उनको कृषि पेसाको लगाव घटेको छैन । धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेकोे ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आउनुभएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी पूरा गरेर बाँकी बिहान–बेलुकीको अधिकांश समय त्यहीँ फार्ममा बिताउछन् । त्यसैबाट हुने आम्दानीले आफ्नो र सिङ्गो परिवारको जीविकोपार्जन राम्रोसँग चल्दै आएको उनी बताउछन् । पालिकाको केन्द्र रहेको माछीखोलाबाट करिब २० मिनेटमा पुगिने खोर्लाबेँसीमा रहेको अग्र्यानिक फार्ममा उनी सकभर हरेक साँझ बास बस्न पुग्नुहुन्छ र फार्ममा रहेका माछापोखरी डुलेर दिनभरिको थकाइ मेट्छन् । खोर्लाबेँसीमा गुरुङले करिब १२ रोपनी क्षेत्रफल जमिनमा नौवटा पोखरी निर्माण गरेर व्यावसायिक रेन्वो ट्राउट माछापालन गर्दै आएका छन् । ‘धार्चेमा धेरै चिसो पानी बगिरहेको छ, यसलाई उपयोग गर्नुपर्यो भनेर व्यावसायिकरूपमा रेन्व्रे ट्राउट माछापालन गर्न सुरु गरिएको हो’, उनले भने । उनले बाह्य पर्यटकलाई लक्ष्य गरेर २०६७ सालमा निर्माण गरिएको अग्र्यानिक होमलाई रुपान्तरण गरेर अहिले साझेदारीमा ट्राउट एण्ड अग्र्यानिक होम सञ्चालन गरेको बताए । ट्राउट एण्ड अग्र्यानिक होममा उत्पादित रेन्वो ट्राउट माछा प्रतिकिलो रु एक हजार सात सयमा बिक्री हुने गरेको उनको भनाइ छ । “अग्र्यानिक होममा नै पकाएर खाने पर्यटक तथा पाहुनाले ट्राउट माछा प्रतिकिलो रु दुई हजार तिनुपर्छ, घर लैजानेले प्रतिकिलो रु एक हजार सात सयमा पाउँछन्”, उनले भने । आजभोलि मनास्लु पदयात्रामा जाने आउने पर्यटकसमेत ट्राउट एण्ड अग्र्यानिक होममा बसेर ट्राउट माछाको स्वाद चाखेर मात्र फर्कने गरेको उनले बताए । ‘दैनिक करिब छ–सात किलो माछा बिक्री हुन्छ, माघमा तातोपानी मेलाको समयमा त दैनिक दुई–तीन क्विन्टलसम्म पनि बिक्री हुँदै आएको छ’, उनले भने । फार्मको उत्पादनले स्थानीय बजारमा नपुग्नेसमेत गुरुङले बताए । ट्राउट माछा पाल्नका लागि १४ देखि १८ डिग्री उपयुक्त तापक्रम हो । अहिले ट्राउट एण्ड अग्र्यानिक होमबाट वार्षिक २० देखि २५ क्विन्टल उत्पादन हुन्छ । यसबाट राम्रो आम्दानी हुँदै आएको छ, उत्पादित माछा अधिकांश स्थानीय बजारमा खपत हुने गरेको भए पनि केही भने आरुघाट बजार बिक्री हुने गरेको उनले जानकारी दिए । रेन्वो ट्राउट माछा दुई वर्षमा तीन सय ग्रामसम्मको हुने र अन्य माछाको तुलनामा अन्यन्तै स्वादिष्ट हुने भएकाले पनि ग्राहकको रोजाइ पर्ने गरेको अध्यक्ष गुरुङले बताए । उनले अग्र्यानिक फार्ममा माछापालनबाहेक माछाको भुरा उत्पादन गर्ने ह्याचरी सञ्चालन गरिएको छ भने एरोविक कफीखेती र लोकल कुखुरापालन गर्दै आएका छन्। धार्चेमा चिसो पानी भएकाले ट्राउट माछापालनको प्रशस्त सम्भावना रहेको उनले जानकारी दिए । धार्चेका किसानलाई हौसला प्रदान गर्नका फार्ममै भुरा उत्पादनका लागि ह्याचरीसमेत सञ्चालन गरिएको छ । फार्म सञ्चालनका लागि करिब रु तीन करोड लगानी भएको उनले जानकारी दिए । ट्राउट एण्ड अग्र्यानिक होममा माछाका लागि दाना उत्पादन गर्नका लागि एक तालिम प्राप्त व्यक्तिलाई सेयर सदस्यका रूपमा राखिएको उनले बताए । सामूहिकरूपमा कमाउने र रोजगारी प्रदान गर्ने उद्देश्य छ । बाहिरबाट आउने पर्यटकले बोकेर ल्याएर फोहर फाल्ने ठाउँ धार्चेलाई बनाउनु हुँदैन, धार्चेको उत्पादनले बजारलाई आत्मानिर्भर बनाउनुपर्छ गुरुङले भने । अहिले सञ्चालन गरिएको ट्राउट एण्ड अग्र्यानिक होम बाह्यभन्दा पनि आन्तरिक पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको उनको भनाइ छ । ग्रामीण परिवेश भएकाले धार्चेमा सानो लगानीमा तर सफा र स्वच्छ संरचना निर्माण गरेर पर्यटकलाई आर्कषित गर्नुपर्ने उनले बताए । धार्चे आउने पर्यटकलाई यहीँको उत्पादनको स्वाद चखाउन सके स्थानीय किसानले उत्पादन गरेको बस्तु बिक्री पनि हुने र किसानले पैसा पाउने अवस्था सिर्जना हुन्छ, त्यसो गर्दा स्थानीय किसानको आयआर्जन वृद्धि गर्न मद्दत पुग्छ भन्ने विश्वास अध्यक्ष गुरुङको छ । फार्मबाट अहिले वार्षिक एक लाख ट्राउट माछाको भुरा उत्पादन गर्न सकिने अध्यक्ष गुरुङले बताए । ‘फार्मका लागि आवश्यक पर्ने ३० हजारदेखि ३५ हजारसम्म मात्र माछाको भुरा उत्पादन गर्ने गरिएको छ’, उनले भने, ‘भुराको माग भए त एक लाखसम्म पनि उत्पादन गर्न सकिन्छ ।’ एउटा उमेर पुगेका माछाबाट एक सय ५० ग्राम अण्डा उत्पादन हुन्छ भने एक ग्राम अण्डाबाट १६ वटा भुरा उत्पादन हुने गुरुङको भनाइ छ । फार्ममा अहिले भुरा उत्पादनका लागि छ सयवटा पोथी माछा रहेको छ । फार्ममार्फत धार्चेका किसानलाई माछापालनमा प्रोत्साहनका लागि तालिम सञ्चालन गर्ने तयारी गरिएको छ । रासस