रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान
इलाम । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्छन् । उनलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काए । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ । तर अबोध बालकको डाक्टर बन्ने सपनाले आयुसका बाबु कृष्णको मनमा चिसो पस्यो । ‘आजकलका बच्चाको सपना नै डाक्टर, इन्जिनियर, पाइलट बन्ने हुँदो रहेछ । सन्तानको पवित्र सपना पैसाकै अभावमा पूरा गराउन नसक्नु हामी किसानको बाध्यता छ’, उनले भने । रोङ गाउँपालिकाले कुनै पनि बालबालिका रकम अभावमा उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि ‘एक रुपैयाँ बचत’ अभियान धमाधम चलाइरहेको छ । ‘अभाव, गरिबी र कमजोर आर्थिक अवस्थाकै कारण हाम्रो गाउँपालिकाका कुनै पनि बालबालिका उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ‘एक रुपैयाँ बचत’ कार्यक्रम सुरुआत गरेका हौँ’, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले भने, ‘प्रत्येक बालबालिकाको बैंक खातामा गाउँपालिकाले हरेक दिन रु एक जम्मा गरिदिन्छ र उनीहरूलाई पनि आफैँ बचत गर्न लगाउँछ ।’ यो कार्यक्रमका लागि दैनिक एक रुपैयाँका दरले पालिकाको वार्षिक रु पाँच लाख ९४ हजार खर्च हुने उनले बताए । बालबालिकालाई दिनको न्यूनतम एक रुपैयाँ बचत गर्न लगाए पनि उनीहरूले मासिक छ हजारसम्म बचत गरिरहेको उनले जानकारी दिए । ‘हामीले हरेक दिन एक रुपैयाँ बचत गर्नुपर्छ भन्दा एक महिनामा ३० रुपैयाँ हुने हो । तर बालबालिकाले रु छ हजारसम्म बचत गरिरहेका छन् । यो कार्यक्रमले बालबालिकामा बचत गर्ने संस्कार सिकाएको छ’, अध्यक्ष स्याङबोले भने । माछा मारेर खुवाउनुभन्दा माछा मार्न सिकाउनुचाहिँ बुद्धिमानी हुने ठानेर गाउँपालिकाले यो कार्यक्रम सुरुआत गरेको उनले बताए । ‘एक रुपैयाँ दिनु ठूलो कुरा होइन । यति जाबो पैसा दिने भन्ने कुरा पनि नआएका होइनन् । तर उहाँहरूलाई हामीले बचत गर्न सिकाएको मात्र हो’, स्याङबो भन्छन्, ‘म भोलि इन्जिनियर बन्नु छ, त्यसका लागि आजैबाट बचत गर्छु भनेर बालबालिका लागेका छन् । राज्यले सबै कुरामा दान, भत्ता दिएर हाम्रो सोचाइ बिग्रिसकेको छ । राज्यले बाटो देखाइदिनेमात्र हो । हामीले एक रुपैयाँबाट सुरु गर्यौँ यसले बालबालिकाको उच्च शिक्षा अध्ययनलाई ठूलो मद्दत पुग्छ ।’ क्षमता भएर पनि पैसा नहुँदा कैयन बालबालिकाले राम्रो विषयमा उच्च शिक्षा हासिल गर्न नसकेको दृष्टान्त नेपाली समाजमा प्रशस्तै रहेको उनको भनाइ छ । ‘रोङ गाउँपालिकाका विद्यार्थी अबको पाँच–दश वर्ष पछाडि पढाइ छाडेर कतार, मलेसिया जानुपर्ने बाध्यता सधैँका लागि अन्त्य हुन्छ भन्ने विश्वास छ’, उनले भने । यो कार्यक्रमले राज्यलाई पनि फाइदा पुग्ने भएकाले देशव्यापी रूपमा सुरुआत गर्न उनले आग्रह गरेका छन् । ‘तीन तहका सरकारले देशभरिका सबै बालबालिकाको खातामा एक रुपैयाँ हालिदिने र तिमीहरू पनि बचत गर भन्ने हो भने अबको पाँच वर्ष पछाडि राज्यले छात्रवृत्तिको नाममा बजेट छुटाउनै पर्दैन’, उनी भन्छन्, ‘आज एक रुपैयाँ बचतका लागि चाहिने कोषभन्दा पचासौँ गुणा बढी रकम त हामी छात्रवृत्तिका नाममा खर्च गरिरहेका छौँ । त्यति गर्दा सबैले पाएको अवस्था पनि छैन । पहुँचका भरमा पाउलान्, तर वास्तवमै गरिब किसानका छोराछोरीले छात्रवृत्ति पाएका छैनन् ।’ राज्यको सयौँ गुणा बढी खर्च पनि भइरहेको छ, लक्षित समुदायले लाभ लिन सकेका पनि छैनन् भने यो समानता र वितरण प्रणाली तीन तहका सरकारले कपि गर्नुपर्ने भन्दै उनले माग गरेका छन् । गाउँपालिकाले केही वर्षभित्रै छात्रवृत्ति वितरण रोक्ने बताएको छ । छात्रवृत्तिको सट्टा बचत अभियानलाई नै अझ प्रभावकारी बनाउँदै लैजाने गाउँपालिकाको सोच छ । ‘यो वर्ष रु २० लाखको छात्रवृत्ति बाँड्दै छौँ, गत वर्ष रु २० लाखभन्दा बढीकै छात्रवृत्ति वितरण गर्यौँ । अबको दुई–तीन वर्ष पछाडि हामी छात्रवृत्ति रोक्छौँ’, अध्यक्ष स्याङबोले भने । गाउँपालिकाको ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत सञ्चालित बचत कार्यक्रमबाट पालिकाभरिका ३० वटा विद्यालयका करिब दुई हजार पाँच सय विद्यार्थी लाभान्वित हुन्छन् । प्राइम कमर्सियल बैंकले हरेक विद्यार्थीको खातामा एक सय रुपैयाँ जम्मा गरिदिने सहमति छ । बैंकले प्रत्येक वर्ष वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पालिकासँग सम्झौता गरेको बताएको छ । विद्यालयमा आधारित उद्यमशीलताका लागि १४ शर्तमा बैंकसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमका लागि बैंकले रु दुई लाख ५० हजारभन्दा बढी सहयोग गर्ने गाउँपालिका अध्यक्ष स्याङबोले जानकारी दिए । रासस
पकेट क्षेत्रमै ६० प्रतिशत घट्यो सुन्तला उत्पादन
पर्वत । सुन्तला उत्पादनका लागि ख्याति कमाएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरका सुन्तला कृषक गत वर्षजस्तो खुसी छैनन् । किनकी, यस वर्ष उनीहरूले सोचेअनुसारको कमाइ गर्न सकेनन् । गत वर्ष सुन्तला उत्पादनबाट पाँच करोडभन्दा बढी भित्र्याएका कृषकले यस वर्ष दुई करोड हाराहारीको आम्दानीमा चित्त बुझाउनुपरेको छ । गत वर्षभन्दा ६० प्रतिशतले उत्पादनमा कमी आएको कृषकले गुनसो गरेका छन् । सुन्तला पकेट क्षेत्र भए पनि बोट मर्ने र फल पाक्ने बेलामा औँसा किराको प्रभावले पनि यस वर्ष उत्पादनमा ६० प्रतिशतले गिरावट आएको स्थानीय कृषक खेमनाथ पौडेलले बताए । यहाँका बगैँचामा सुन्तला किन्नका लागि काठमाडौं पोखरा, नारायणगढदेखि व्यापारी घरघरमै आएर लगिसकेका छन् । तीन वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढङ्गले बगैँचा जिम्मा लगाएको माछापुच्छ्रे सुन्तला सहकारी संस्थाका पूर्वअध्यक्ष दाताराम चापागाईँले बताए । यस वर्ष उत्पादन घटेकाले गत वर्षजस्तो राम्रो कमाइ नभएको उनले बताए । ‘गएको वर्ष पाँच करोडभन्दा बढीको सुन्तला बिक्री गरेका थियौँ । यस वर्ष मुस्किलले रु दुई करोड जति आम्दानी भएको अनुमान छ,’ चापागाईँले भने। आफूले गत वर्ष ६ लाखको सुन्तला बिक्री गरेकामा यस वर्ष २ लाखभन्दा आम्दानी नभएको उनले गुनासो गरे । स्थानीय शिक्षक भूमिराज शर्माका अनुसार सुन्तला टिप्नका लागि एक साताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैँचा भरिएका थिए । सुन्तला टिप्ने र लैजानेका कारण मेला लागेजस्तै देखिएको थियो । थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको उनले बताए । देउपुरका कृषक खेमराज पौडेलले एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने भएकाले गत वर्षजस्तो उत्पादन नभएको बताए । उनले गत वर्ष पाँच लाखमा सुन्तलाको बगैँचा बिक्री गरेको बताउँदै यस वर्ष सुन्तला उत्पादन झण्डै आधा घटेको जानकारी दिए । विगत दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएका छन् । परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ। यहाँका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन् । साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिकरूपमा सुरु गरेको अर्का कृषक विजय चापागाईँले बताए । उनले सुन्तला खेतीको विस्तारका लागि अझै प्रयास गर्न जरुरी रहेको बताए । सुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिकरूपमा प्रत्येक परिवारको दुईदेखि सात लाखसम्म कमाइ हुन थालेको चापागाईंको भनाइ छ। यस वर्षदेखि सुन्तलाका बोट मर्न थालेको स्थानीय टीकाराम तिमिल्सिनाले बताए । ठूला र साना बोट पनि धमाधम मर्न थालेको र रोग पत्ता नलागेको उनले बताए । विभिन्न औषधि प्रयोग गरे पनि निरन्तर रुख सुक्न थालेको उनको भनाइ छ। कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बोटमा लामो समय फल राख्दा अर्को वर्षको उत्पादनमा कमी आउने बताए । उनले देउपुरमा औँसा कीरा, फल झर्नेलगायत अन्य सङ्क्रमणका कारण पनि सुन्तलाको उत्पादन गत वर्षभन्दा घटेको बताउँदै समग्र जिल्लाभरमा भने उत्पादनमा असर नगरेको बताए ।
दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान
काठमाडौं । प्युठान नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिएको छ । नगरपालिकाले नगरलाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरेको जनाएको छ । नगरलाई दूध तथा दुग्धजन्य वस्तुमा आत्मनिर्भरताका लागि दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहित गर्न दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने नीति ल्याइएको नगरप्रमुख विष्णु योगीले जानकारी दिए । उनका अनुसार कार्यक्रम सुरु भएकै पहिलो तीन महिनामा ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । नगरप्रमुख योगीले भने, “उत्पादनमा आधारित अनुदान प्रभावकारी र प्रेरणामुखी हुन्छ भन्ने आधारमा यो कार्यक्रम सुरु गरिएको हो ।” किसानको सम्मानका लागि ‘उत्पादन हातमा अनुदान साथमा’ भन्ने नीति अवलम्बन गरिएको उनको भनाइ छ । नगरपालिकाले प्युठान नगरपालिका–१ खैरास्थित शिवालय दुग्ध सहकारी संस्था लिमिटेड र वडा नं ३ स्थित नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमार्फत सो कार्यक्रम लागू गरिरहेको छ । दैनिक १ हजार ५ सय लिटर दूध खपत हुने आँकलन गरिएकोमा हाल दैनिक ४ सय लिटर दूध सङ्कलन हुँदै आएको छ । नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमा दैनिक १५० लिटर दूध सङ्कलन हुँदै आएको सहकारीका अध्यक्ष विष्णु पाण्डेले बताए । सहकारीले त्रैमासिकरुपमा प्रतिवेदन पेश गर्ने र सोही आधारमा नगरपालिकाले अनुदान उपलब्ध गराउने गरेको छ । अध्यक्ष पाण्डेले भने, “हामीले पेश गरेको प्रतिवेदनका आधारमा नगरपालिकाले सोझै किसानको खातामा राखिदिन्छ ।” नगरपालिकाका अन्य वडामा पनि छिट्टै डिपो राखी दूध सङ्कलन गर्ने उक्त सहकारीको योजना छ । भौगोलिक विकटता तथा ढुवानी समस्याले चाहे जति दूध सङ्कलन गर्न नसकिएको पाण्डेले जानकारी दिए । स्थानीय तहले उत्पादनमा आधारित अनुदान दिएपछि दूधको सङ्कलनमा सहजता र लागत मूल्यमा राहत मिलेको शिवालय सहकारीका अध्यक्ष विष्णु बस्नेतले जानकारी दिए । सहकारीमा दैनिक २५० लिटरसम्म दूध सङ्कलन हुँदै आएको छ । दूधको साथसाथै छिट्टै तरकारी उत्पादनमा समेत किसानलाई अनुदान दिने कार्यक्रम ल्याउन लागिएको नगरपालिकाले जनाएको छ ।