पोखरामा ‘मेरो रूख म काट्छु’ अभियान
काठमाडौं । बाँदरको आतंक बढेपछि पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले रूख काट्ने भएको छ । वडा नम्बर १९ ले एक सूचना प्रकाशन गरी घर वरपरका रूख कटानी गर्न आग्रह गरेको हो । वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेका अनुसार बाँदर नियन्त्रणका लागि रुख कटान गरिने भएको हो । पोखरा महानगरपालिकाको साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र रहेको उनले बताए । साथै, हाल प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१को निति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धि निति पास गरेको हुँदा माघ १५ गतेदेखि १० दिन भित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान संचालन गरिएको उनले बताए । सो अभियान अन्तर्गत आ-आफ्नो घर वरपर रहेका सम्पूर्ण रूखहरू कटान गरि प्रदेश सरकारको निति तथा कार्यक्रमलाई सहयोग पुर्याउन उनले आग्रह गरे ।
१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गराउँदै कोशी प्रदेश सरकार
मोरङ । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुआत गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग निःशुल्क उपचार गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट अौपचारिक रूपमा बालबालिकाको निःशुल्क उपचार सेवाको सोमबार शुभारम्भ गरिन् । यो सेवा प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने छन् । निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोके बमोजिमको औषधि प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको सचिव डा देवकोटाले बताइन् । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरु गरेको उनले जानकारी दिइन् ।
सङ्घीय सरकारले तीन करोडभन्दा कमका योजनामा लगानी गर्दैन : प्रधानमन्त्री
पर्सा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सङ्घ सरकारले तीन करोड रुपैयाँभन्दा कमका योजनामा लगानी नगर्ने घोषणा गरेका छन् । उनले सङ्घ, प्रदेश र स्थानीय तहबीच हुने योजनाको दोहोरोपनलाई रोक्न र जनतालाई विकासको प्रत्यक्ष अनुभूति गराउनका लागि तीन करोडभन्दा माथिको योजनामा मात्रै सङ्घीय सरकारले लगानी गर्ने बताए । वीरगञ्जको नगरसभागृहमा सोमबार आयोजना गरिएको प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकको उद्घाटन सभामा प्रधानमन्त्री दाहालले सबैको सल्लाहमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताए । सरकारले एकपक्षीय ढङ्गले ल्याउने नीति तथा कार्यक्रमले काम नगरेको भन्दै उनले अब नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिबीच बृहत् छलफल र बहसबाट प्राप्त रायसुझावकै आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याउने बताए । सरकारले पहिले पुराना योजनालाई पूरा गर्ने अनि मात्र नयाँ योजनामा लगानी गर्ने निर्णयमा पुगेकाले आगामी आवको बजेट पुराना योजनालाई सम्पन्न गर्ने दिशातर्फ उन्मुख हुने प्रधानमन्त्रीको भनाइ थियो । उनले पुराना योजना सम्पन्न नहुँदै नयाँ योजना ल्याएका कारण ऋणको भार मात्र थपिएको र आम जनताले विकासको अनुभूति नगरेको बताए । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भए पनि आम जनताले विकासको अनुुभूति गर्न नसकिरहेकाले सरकार अब उत्पादन र रोजगार सृजनालाई मुख्य कार्ययोजनामा समेट्ने उनले बताए । ‘सरकारले चाँडै देशभित्रका रुग्ण उद्योगलाई सञ्चालन गर्ने तयारीमा जुटेको छ’, उनले भने, ‘पहिलो चरणमा विराटनगरको जुटमिल, हेटौँडाको कपडा कारखाना, गोरखकाली टायर उद्योग, बुटवल धागो उद्योगलाई सञ्चालन गर्ने तयारीमा सरकार जुटेको छ ।’ उनले केही उद्योग सरकारी-निजी साझेदारी ढाँचामा सञ्चालन गर्ने र केहीको सञ्चालन नेपाली सेनालाई दिने गरी तयारी भइरहेको बताए । उनले त्यस्ता उद्योग सञ्चालन गर्न सके उत्पादन र रोजगार दुवै बढ्ने बताए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत सरकारलाई बदनाम गराउने प्रयास भइरहेको समेत बताउँदै उनले सरकारले राम्रो काम गर्दा पनि सामाजिक सञ्जालमा गतल ढङ्गले प्रचारप्रसार भइरहेको गुनासो व्यक्त गरेका हुन् । प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रलाई नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटा र मातृका यादवलगायत वक्ताहरुले समाजिक सञ्जालको दुरुपयोग गरी सरकारविरुद्ध भइरहेका गलत प्रचारलाई चिर्न सञ्चारकर्मीले भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रेस सेन्टरका विभिन्न प्रदेश तथा जिल्लाका पदाधिकारीलाई प्रधानमन्त्रीले सम्मान गरेका थिए । रासस