प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
काठमाडौं । प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजना अन्र्तगत “नगरकी छोरी” कार्यक्रम आइतबारबाट शुभारम्भ भएको छ । छोरीहरूले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा विशेष संरक्षण प्रदान गर्न र छोरीहरूलाई शिक्षित र स्वावलम्बन बनाउने लक्ष्यका साथ प्रभु बैंकसँगको सहकार्यमा नगरपालिकाले “नगरकी छोरी” कार्यक्रम शुभारम्भ गरेको हो । नगरपालिकाको तर्पmबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र बैंकका तर्पmबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले “नगरकी छोरी” कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गेका हुन् । बागलुङ नगरपालिका वडा नं. २ की अदीती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली “नगरकी छोरी” कार्यक्रमको शुभारम्भ गरिएको हो । “नगरकी छोरी” कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता बमोजिम २०८० आषाढ १ गतेपश्चात् बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिनेछ । बागलुङ नगरपालिकाको सिफारिसका आधारमा बैंकको शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा नगरपालिकाको तर्पmबाट एकमुष्ट ५ हजार रुपैयाँ जम्मा गरिनेछ । बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ । यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकहरुले ईच्छानुसार थप रकम जम्मा गर्न पाउने छन् । २० वर्षपश्चात् सम्बन्धित व्यक्ति (छोरी)ले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाई सञ्चालनमा ल्याईएको हो । बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्धारा आजबाट शुभारम्भ गरिएको “नगरकी छोरी” कार्यक्रमबाट बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीहरुको समाजिक सम्मान तथा आर्थिक संरक्षण भई छोरीहरुलाई हौसला बढ्ने, विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्य प्राप्ती हुने बैंकले विश्वास लिएको छ ।
चन्द्रागिरिमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको नगद १८ लाख ५० हजार रुपैयाँसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-११ का २३ वर्षीय रिसब श्रेष्ठ र ३७ वर्षीय देवेन्द्र न्यौपाने रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले लु२ख ४५३५ नम्बरको बस जाँच गर्ने क्रममा बसका सहचालक रिसबलाई उक्त नगदसहित पक्राउ गरेको थियो । साथै थप अनुसन्धानका क्रममा उक्त रकम देवेन्द्र न्यौपानेले काठमाडौं पुर्याइदिनु भनी श्रेष्ठलाई दिएको खुल्न आएपछि न्यौपानेलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रवक्ता ढकालले बताए ।
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको प्रतिवेदन सर्वसम्मत अनुमोदन
चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन भएको जनाएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै महानगरपालिकाले चितवन उद्योग संघको सभाहलमा भ्रमण वर्ष–२०२४ मूल समारोह समितिको बैठकमा फागुन १८ गते नारायणी नदी किनार प्रर्दशनी किनारमा भएको उद्घाटन कार्यक्रमको प्रतिवेदन पेश गरेको थियो । बैठकले उद्घाटन कार्यक्रम अभूतपूर्वरुपले सम्पन्न भएको निष्कर्ष निकाल्दै पेश भएको प्रतिवेदन सर्वसम्मतरूपले अनुमोदन गरेको थियो । कार्यक्रमको समुद्घाटन हुनुपूर्व महानगरका विभिन्न वडाहरूबाट विविध समूहको सहभागिता रहेको बृहत् र्यालीसहित झाँकी प्रदर्शन भएको र विहान ११:०० बजेबाट शुरु भई दिउँसो ३:०० बजेसम्म जारी र्यालीमा महानगरको विविधता झल्कने गरी उत्साहजनक सहभागिता रहेको थियो । करिब एक लाख भन्दा बढी भरतपुर महानगरवासीको उपस्थितिमा ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन समारोह सञ्चालन भएको महानगरले विज्ञप्तीमा उल्लेख गरेको छ । पर्यटन पूर्वाधारको विकास र पर्यटकीय गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनबाट यस क्षेत्रको आर्थिक गतिविधिलाई गति प्रदान गर्ने, कोरोना कहरबाट शिथिल पर्यटन व्यवसायलाई क्रियाशील तुल्याउने, भरतपुर महानगरपालिकाको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अभिवृद्धि गर्ने तथा प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको व्यापक प्रचार प्रसार गरी पर्यटकको सङ्ख्या र बसाइ अवधि बढाउने उद्देश्यले भरतपुर महानगरपालिकाको ७७ औं नगर कार्यपालिकाको वैठकले निजी क्षेत्र लगायत पर्यटन सम्बद्ध सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०२४ लाई ‘घुमौं भरतपुर’ भन्ने मूल नाराका साथ भरतपुर भ्रमण वर्षको कार्यक्रममार्फत् बृहत् प्रवर्द्धनात्मक महाभियान सञ्चालन गर्ने निर्णय भए पश्चात सम्बद्ध क्षेत्रसँगको सहकार्यमा विविध प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिंदै आएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । ‘यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पूर्व प्रधानमन्त्रीहरु, पूर्व उपप्रधानमन्त्री, प्रतिनिधि सभा राष्ट्रिय सभा तथा प्रदेशका माननीय सदस्यहरू लगायत विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थितिका बीच ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को भव्य र सभ्य रुपमा समुद्घाटन भएको कुरा सर्वविदितै छ’–विज्ञप्तीमा भनिएको छ । ‘समुद्घाटन कार्यक्रममा देखिएको अभूतपूर्व उल्लास र उत्साहलाई कायम गर्दै भरतपुर भ्रमण वर्ष २०२४ लाई आगामी दिनमा पनि सोही रुपले निजी क्षेत्र, आम महानगरवासी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा रहेका शुभचिन्तकहरूको साथ, सहयोग र सक्रियताका लागि हार्दिक अपिल गर्दछौं’–महानगरद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।