डोटीमा प्याज खेतीप्रति बढ्दो आकर्षण
डोटी । डोटीमा प्याज खेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गरेका छन् । विसं २०६१ देखि कृषिकर्म गरिरहेका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए । कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष प्याजखेती विस्तार गरेको उनले बताए । २० रोपनी जमिनमा विभिन्न चरणमा चार किलो प्याजको बीउ रोपिएको महराले बताए । ‘बीउ फरक–फरक समयमा राखेको थिएँ, त्यसरी नै फरक समयमा सबै जमिनमा प्याज रोपिएको हो । प्याज रोप्न ५५ दिन बराबर ज्यालामा स्थानीयलाई काम लगाएको छु,’ महराले भने । एक दिन काम गरेबापत एक जनालाई आठ केजी प्याज दिने सहमति भएको उनले बताए । उनले सिजनमा २५ देखि ३५ प्रतिकिलो र बेसिजनमा ४५ देखि ८० रुपैयाँ प्रतिकिलोका दरले प्याज बिक्री गर्दै आएका छन् । प्याज उत्पादन गर्नुभन्दा पनि बिक्री गर्न समस्या हुने गरेको महरा बताउँछन् । उनले भने, ‘सिजनमा भनेको मूल्य पाइँदैन, बेसिजनमा बेच्दा मूल्य पाइन्छ तर प्याज जोगाउन गाह्रो हुन्छ, प्याज भण्डारणका लागि कुनै व्यवस्था नहुँदा धेरैजसो प्याज बिग्रिएर जाने गरेको छ ।’ महराले यस वर्षदेखि प्याजको बीउ पनि उत्पादन गर्न सुरु गरेका छन् । पहिलोपटक १ सय ५० गाना प्याज बीउँका लागि रोपिएका छन् । महराले गरेको प्याजखेती सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाकै नमूना रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए । महराले गरेको प्याजखेतीबाट आफू प्रभावित भएपछि उनलाई प्रोत्साहनस्वरूप ज्ञान केन्द्रबाट बीउ र सात सय मिटर ३२ एमएमको सिँचाइ पाइप सहयोग गरिएको अवस्थीले बताए । महराले प्याज रोपेको जमिनबाट करिब दुई क्विन्टल प्याज उत्पादन हुने अनुमान गरिएको उनले बताए । किसानले फलाएका प्याजको बजारीकरण गर्न व्यापारीसँग समन्वय गरिरहेको पनि अवस्थीले जानकारी दिए । यसैगरी, बोगटान फुड्सिल गाउँपालिका–१ का यम बमले १० रोपनी जमिनमा प्याजखेती गरेका छन् । उनले काटैस्थित मौडामा प्याजखेती गरिरहेको बताए । उषा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म खोलेर कृषि पेसा गरिरहेका बमले तीन वर्षदेखि प्याजखेती गर्न थालेका हुन् । बमले थप ४० रोपनीमा प्याजखेती गर्ने सोच बनाएको बताए । दिपायल सिलगढी नगरपालिका–२ पन्तोलाका ध्रुव मलासीले पनि प्याजखेती गरेका छन् । उनले ६ रोपनी जमिनमा प्याज र दुई रोपनीमा लसुन लगाएको बताए। लसुनप्याज बेचेर गर्जो टार्न सकिने भएकाले यसतर्फ आफू आकर्षित भएको उनले सुनाए ।
वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ । वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको छ । आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन हुनेछ । अहिले सजावटदेखि स्टल बुकिङलगायत काम धमाधम भइरहेको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, नेपाल युवा उद्यमी मञ्ज वीरगञ्ज, वीरगञ्ज साइकक्लिङ क्लबलगायत संस्थासँगको सहकार्यमा रात्रि बजार सञ्चालन हुन लागेको हो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार रात्रि बजार अवधिभर नेपाल– भारत मुख्य सीमा चौबिसै घण्टा खुला राख्ने व्यवस्था मिलाउने प्रयास भइरहेको छ । भारतका पर्यटकलाई लक्ष्य गरेर यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उनीहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारमा महानगरपालिकाले ७५ प्रतिशत लगानी गर्नेछ । ‘यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार सञ्चालन गर्न लागेका हौँ’, उनले भने । रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थिक गतिविधि बढाउने उद्देश्यले बजार सञ्चालन हुन लागेको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताए । आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेन पार्कसम्म लाग्ने रात्रि बजारमा १०० भन्दा बढी स्टल रहने उनले जानकारी दिए । शिक्षा, स्वास्थ्यसम्बन्धी जानकारीमूलक स्टलका साथै त्यहाँ विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध सामग्री राखिने छन् । वीरगञ्ज महानगरपालिकाले अघिल्लो वर्ष पनि नयाँ वर्षका अवसरमा रात्रि बजार सञ्चालन गरेको थियो । रासस
महानगरमा हरियाली र सुन्दर सहरका लागि भित्ते बगैँचामा फूल रोपियो
काठमाडौं । काठमाडौं महानगरपालिकाले भित्ते बगैँचामा बुधबार दुई सय फूल र लहरा बोटका बिरुवा रोपिएको छ । पार्क तथा हरियाली प्रवद्र्धन आयोजनाअन्तर्गत कामपाले रत्नपार्कको आकाशे पुलका दुई भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेर सुरु गरेको हो । कामपाले चालु आर्थिक वर्षमा एक लाख बिरुवा रोपी महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाका रुपमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा बिरुवा रोपिएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।उनका अनुसार रोपिएका फूलमा बेगमबेली र स्वस्थानी फूल (भेरेस्ता) छन् । बेगनबेलीमा पनि गुलाबी, रातो, सेतो, पहेँलो, सुन्तला गरी विभिन्न प्रकारका फूल फुल्ने बिरुवा छन् । सामान्यतयाः यो जातको फूल चारदेखि छ महिनासम्म फुलिरहन्छन् । यी बिरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिने श्रेष्ठको भनाइ छ । त्यसैगरी, हरियाली हुने होया, मनिप्लान्ट, आइभ्यूका बिरुवा रोपिएका छन् । यी बिरुवा लहरिँदै बढ्दै जान्छन् । यी आकाशे पुलका भित्ता साढे ३२ मिटर लामा छन् । उचाइ साढे छ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका बिरुवा रोपिएका छन् । लहराउने बिरुवालाई गमलामा झुन्ड्याइएको छ । यसमा बिरुवा लहराउन भित्ताभरि दुई/दुई वर्गमिटरका जालीदार बार बनाइएको छ । उक्त कार्य रु नौ लाख ५६ हजार लागतमा सम्पन्न गरिएको हो । रासस