आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’
फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाइन्छ । साहित्य श्रष्टा दानस मल्ल भाइटीकाको अवसरमा दिदीलाई समर्पण गरेर आफ्ना सिर्जनालाई यसरी पोख्छन्, सयपत्री र मखमली, घरको दायाँबायाँ । पवित्र होस् सधँैभरि, दिदीभाइको माया ।। यी माथि व्यक्त गरिएका साहित्य हरफले तिहार पर्वमा गलामा सयपत्री, मखमली फूलको माला र दिदीको न्यानो स्नेह, ममता पाउँदाको भाव र ती क्षणलाई सम्झदै उहाँले आफ्ना शब्दमार्फत दर्शाउन खोजेका हुन् । तिमै्र साथमा रहन पाऊँ, बनी तिम्रो छाया । पवित्र होस् सधैँभरि, दिदीभाइको माया ।। तिहार पर्वले दिदीभाइ र दाजुबिहिनीबीचको सम्बन्ध अझै पवित्र प्रगाढ स्नेही र पुनर्मिलन गराउनमा महत्वपूर्ण भूमिका खेलेको उहाँको बुझाइ छ । ‘दाजुभाइ पनि आफ्नो कार्यव्यस्तताले जहाँ रहे पनि वर्ष दिनमा एक पटक आउने चाड तिहारमा जस्तोसुकै काम भए पनि थाती राखेर दिदीबहिनीसँग पुनर्मिलन हुन पुग्ने गर्दछन्’, उनले भने, ‘मलाई सबैभन्दा बढी मनपर्ने चाड तिहार हो, यस पर्वले सबैलाई उमङ्ग, उज्यालो र आत्मीयता बढाएको हुन्छ ।’ निधारमा सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलले सजिएका ती गला, दिदीबहिनीको माया, स्नेह र आशीर्वाद लिने पर्व भाइटीकाले सबै उमेर समूहमा उत्तिकै आत्मीयता र महत्व राख्दछ । साहित्यकार मित्रलाल गौतम कवितामार्फत भाइटीकालाई यसरी व्यक्त गर्नुहुन्छ, बल्छन् बत्तीहरु झिलीमिली गरी सबैका घर । दुःखी हुन् अथवा गरिब पनि सुखी देखिने तर ।। आफ्ना जो घरका दिदी र बहिनी छन् जसका जहाँ जति । आशीर्वाद लिनेदिने समयको मौका मिलेको कति ।। सबका घरमा बलेका ती झिलीमिली बत्तीले को धनीको गरिब छुट्याउँदैनन्, धनी गरिब सबैलाई समानरुपमा जोड्ने पर्व तिहार अर्थात् भाइटीकालाई लिनुहुन्छ, साहित्यकार गौतम । उनका कविताले दिदीभाइ, दाजुबहिनीले एकापसमा भाइटीका ग्रहण गरी आशीर्वाद दिने र लिने एक महत्वपूर्ण अवसर, उत्सवका रुपमा लिने गरेको गौतम बताउँछन् । ‘अन्य पर्वका तुलनामा यो पर्वले फरक भूमिका खेलेको छ, दाजुभाइ दिदीबहिनीले एकले अर्कोलाई गर्ने माया प्रेम, हेरचाह, प्रेमिल सम्बन्धलाई फराकिलो बनाएको पाइन्छ, दिदीभाइ, दाजुबहिनीबीचको माया, प्रेम, आशीर्वाद लिने र दिने गर्दा अझ बढी तिहारको महत्व बढेको पाइन्छ’, उनले भने। रामपुर साहित्यिक प्रतिष्ठानको आयोजनामा भएको तिहारको सन्दर्भ पारेर आयोजना गरिएको रचनावाचन कार्यक्रममा लक्ष्मीपूजा, देउसीभैलो, भाइटीकाको महत्व समेटिएका आफ्ना सिर्जना साहित्य श्रष्टाले अभिव्यक्त गरेका छन् । करिब दुई दर्जन श्रष्टाले तिहार विशेष आफ्ना साहित्य सिर्जनामार्फत दिदीभाइ, दाजुबहिनीबीचको सम्बन्धलाई जोड्ने, मखमली फूल, सप्तरङ्गी टीकाको महत्वलाई उजागर गरेका छन् । दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । मखमली फूलको तिहारमा धेरै महत्व छ । यो फूल कहिले न ओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् । नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । विभिन्न समयमा पर्व विशेष, मोती जयन्ती, भानु जयन्ती, लक्ष्मी जयन्ती, मेला पर्व, विभिन्न मठ मन्दिरमा हुने पूजाका अवसरमा विभिन्न क्लब संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भई रचनावाचन कार्यले कला, संस्कृति, सिर्जना, साहित्यको विकासका निम्ति महत्वपूर्ण योगदान रहेको बताउँछन्, रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष वासुदेव ढकाल । ‘रामपुर नगरपालिका मात्रै नभई कालीगण्डकीबेँसी आसपासका साहित्यकारले नियमित रचनावाचनका अलवा चाडपर्व विशेष र समय सान्दर्भिक बिशेष कार्यक्रमलाई असाध्यै चासो दिनुुहुन्छ, बेला बेलामा रचनावाचन कार्यक्रम आयोजना हुने गरेपछि साहित्य श्रष्टा जुर्मुराउन थालेको पाइएको छ’, उनले भने । प्रतिष्ठानले साहित्यिक रचनावाचन कार्यक्रमलाई नियमितरुपमा हरेक महिना गर्न थालेपछि लुकेर रहेका प्रतिभाको उजागर गर्ने अवसर मिलेको छ । कला र गला भएका श्रष्टाले आफ्ना सिर्जना, भावनालाई बेला बखत पोख्ने माध्यम बनेको छ । प्रतिष्ठानले घुम्तीरुपमा रामपुरका विभिन्न स्थानमा साहित्यिक गतिविधि गर्दै आइरहेको छ । रासस ।
कुकुर : सहरमा रहर, गाउँमा गोठालाका भर
बेनी । प्रायःसहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिकरुपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्ने गरेका छन् । अनकन्टार जङ्गल, पहाड र हिमालका बुकीसम्म नै घुम्तीरुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ । अन्नपूर्ण गाउँपालिका–५ का भेडापालक युवा प्रकाश पुनले भेडीगोठमा रहेका भेडाको हेरालु र गोठको सुरक्षाका लागि कुकुर पालिएको बताए । ‘हामी पनि गोठमा हुन्छौँ, तर कहिलेकाहीँ जङ्गली जनावरले गोठमा रहेका भेडामाथि आक्रमण गर्नसक्ने जोखिम रहन्छ, जङ्गली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ’, उनले भने । खोप्रा र खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरेका हरेक गोठमा ‘भोटे’ जातका कुकुर रहेका छन् । अधिकांश समय जङ्गलमै बिताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँधेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा गोठाला र गोठका भेडाबाख्राको सुरक्षामा कुकुरलाई द्वारपालकको रुपमा लिने गरिन्छ । खासगरी पहाडी क्षेत्रमा घुम्ती चरनमा लैजाने गरी राखिने गोठका गाईभैँसीपालन र भेडाबाख्रासँगै गोठमा रहेका गोठाला र हेरालुका समेत सारथी र साथी कुकुर नै हुन् । चरन क्षेत्रको लागि गोठको दूरी टाढा–टाढा राख्ने भएकाले गोठमा सुरक्षाको भरोसा कुकुरमै निर्भर हुने गरेको धौलागिरि गाउँपालिका–५ मल्कबाङका भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताए । जङ्गलका बाघ, चितुवा, भालुलगायतका हिंस्रक जनावरको आक्रमणले भेडाबाख्रामा पार्ने क्षति न्यूनीकरण गर्न कुकुरले महत्वपूर्ण भूमिका खेल्ने गरेको उनले सुनाए । ‘गोठदेखि जङ्गलमा चरन क्षेत्रसम्म नै कुकुरले भेडाबाख्रालाई घुमीघुमी रेखदेख गर्छन्, जङ्गली जनावरको आवाज र सङ्केत पनि कुकुरले नै छिटो थाहा पाउने भएकाले ठूलो स्वरमा भुकेर भगाउने गर्छन्, हामीगोठमा कुकुरकै भरमा हुन्छौँ’, उनले भने । करिब छ सय बढी भेडापालन गर्नुभएका छन्त्यालको गोठमा दुई जना हेरालु र चार कुकुरले भेडीगोठ धानेका छन् । चरन क्षेत्रमा समेत कुकुरले नै भेडाबाख्रालाई जोखिमपूर्ण ठाउँमा जानबाट रोक्ने र साँझ गोठतर्फ भेडाबाख्रा ल्याउन सहयोग गर्ने गरेको विगत ६० वर्षदेखि नै भेडापालनमा सक्रिय रहनुभएका अन्नपूर्ण गाउँपालिका–५ का ७८ वर्षीय लालविर तिलिजा बताए । गोठका सारथी बनेका कुकुरलाई जङ्गली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने गरिन्छ । जिल्लाको लेकाली क्षेत्र समेटिएको क्षेत्रमा घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन रहेको छ । घरपालुवा गुनिलो र आज्ञापालक तथा सुरक्षामा भरपर्दो जनावरको रुपमा चिनिने कुकुरको महत्वलाई तिहारको अवसरमा गरिने कुकुर तिहारको पूजा आराधानाले थप बढाउने गरेको छ । यमपञ्चकअर्थात् दीपावलीपर्वको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ । रासस
दुःख र तनावमा रहने मानिसहरु बुढो देखिन्छन्
एजेन्सी । कतिपय मानिस आफ्नो वास्तविक उमेरभन्दा बुढो जस्ता देखिन्छन् । सामान्यतया अरुको तुलनामा तनाव वा दुःखमा भएका मानिसहरु बुढो जस्ता देखिने गरेको पाइएको छ । अनुसन्धानमा भनिएको छ कि एक्लै बस्दा वा मौन बस्दा चाँडै बूढो बन्न सक्छ । समाजसँग मेलमिलापमा बाँच्न र सधैं खुसी रहने प्रयास गरेर बुढ्यौलीको गतिलाई रोक्न सकिन्छ। यसका लागि ३५ हजार वयस्क र वृद्धवृद्धामाथि अध्ययन गरिएको थियो । सो अध्ययनले अकालमै ज्यान गुमाउनेमा सामाजिक एक्लोपन पनि एउटा कारण रहेको खुलासा गरेको छ । अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीका शोधकर्ताहरूले गरेको यो अनुसन्धान ‘एजिङ’ जर्नलमा प्रकाशित भएको छ ।