आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव देशभर सामान्य रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेकाले वर्षा भइरहेको विभागले जनाएको छ । हाल देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव तीन डिग्री र अधिकतम तापक्रम २३ दशमलव सात डिग्री सेल्सियस छ । रासस
अब तीन दिन भारी वर्षा हुन्छ, उच्च शतर्कता अपनाउनुस् : विज्ञ
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन् । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन् । उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए । ‘मनसुन शुरु भएदेखि हामीले एनसेलबाट १३ लाख ९१ हजार र एनटिसीबाट ५ लाख ६२ हजार गरेर प्रभावित हुने क्षेत्रहरुमा २० लाख हामीले एसएमएस गरिसकेको अवस्था छ, हिजो रातिदेखि हामीले धेरै खोलाहरुमा बाढी आउँछ भनेर गरेको, हिजो रातिदेखि १० लाख मानिसलाई एसएमएस गरेर खबर पुर्याईदिइसकेका छौं, यो तीनदिन भारी वर्षा हुनेछ देशभर, भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन कुन खोला के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोध के छ भने सबै निकायहरुलाई रेगुलर बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा शतर्क भइदिनु होला, किनकी विशेष बुलेटिन भनेको चाहीँ हुन्छ भन्ने नै हो,’ उनले भने । उनले विभागले मौसम सम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ शतर्क हुन आग्रह गरेका छन् ।
अब ‘एस्ट्रोपड’ डेटिङ एपबाटै मन मिल्ने जोडी भेटिने, जम्मा ७ पक्ष परीक्षण गरिने
काठमाडौं । अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ । कम्पनीले प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पुर्याउने उद्देश्यले शुक्रबार एक कार्यक्रम आयोजना गरी एप सार्वजनिक गरेको हो । एस्ट्रोपडको नारा ‘मेड इन स्टार्स’ राखिएको छ। उक्त एप डेभलप गर्ने प्रेरणाका बारेमा एस्ट्रो वेद प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत परिवेश कोइरालाले आफू विश्वको सानो हिस्सा भएका कारण विश्वका लागि केही बनाउने प्रवेशद्वारका रुपमा रहेकाले एप डेभलपमेन्टमा विशेषज्ञतासहितको सफ्टवेयर कम्पनी शुरु गरेको बताए । ‘सोही अनुभवलाई नेपालमा पनि बाँड्नका लागि हामीले डेटिङ्ग एप एस्ट्रोपड सार्वजनिक गरेका हौं, यो अन्य सामान्य डेटिङ एप भन्दा फरक छ’ कोइरालाले भने- ‘यसमा नेपाली युवाहरुले वैदिक ज्योतिष शास्त्रका आधारमा आफूलाई मिल्ने जोडि वा साथीहरु छनोट गर्न सक्ने सुबिधा छ र त्यसै आधारमा उनीहरुले कम्प्याटिबिलिटी टेस्ट गरेर जाँच गर्न सकिने सुबिधा रहेको छ ।’ यस्तो थियो शुरुवाती योजना परियोजनाको शुरुवाती योजना २०१४ मा मानिसहरुलाई एक आपसमा जोड्न र खुशी आदानप्रदान गर्न आईएम अर्थात् इन्स्ट्यान्ट मेसेजिङलाई कम्पनीको मुख्य भिजनरमिशन बनाउने रहेको थियो । तर पर्याप्त लगानीको अभावका कारण हामीले यसलाई स्थगित गर्नु पर्यो । कोइरालाले रिकेश र विवेक नामका साथीहरुसँग मिलेर एउटा सफ्टवेयर कम्पनी शुरु गरे, आफ्नो एपमार्फत् विश्वभर नै ज्योतिष विज्ञानसम्बन्धी सेवा दिनका लागि बनेको परियोजनामा गुरु समुन्द्र नामका अर्का सहकर्मी जोडिएपछि यो ४० जनालाई रोजगारी दिने कम्पनीमा परिणत भयो र यसले हाल विश्वभरमा १० लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गर्दै आइरहेको छ । एस्ट्रो वेद मानिसको जीवन सहज बनाउँदै उनीहरुलाई खुशी जीवन बाँच्न सल्लाह दिने उद्देश्यले ज्योतिषीय सेवा प्रदान गर्ने नेपालमा रहेको कम्पनी हो । १० लाखभन्दा बढी मानिसहरुलाई सेवा प्रदान गरिसकेको अनुभवका आधारमा अधिकांश मानिस आफ्नाबारेमा र आफ्ना सहयात्रीहरुसँगको सम्बन्धका बारेमा थाहा नपाएर दुखी हुने गरेको पाइएको छ । यो अन्तरंग जानकारीले यो टोलीलाई एस्ट्रोपड डेटिङ- ‘मेड इन स्टार्स’ नामक एप निर्माण गरेर उक्त समस्या समाधान गर्ने निष्कर्षमा पुर्यायो । सबै मानिसलाई आफ्ना जीवनमा आवश्यक खुशी तथा आबद्धता प्रदान गर्ने (कम्पनीको मौलिक उद्देश्य आईएम बनाउनु थियो) यो मोबाइल एप्लिकेशन कोइरालाको टोलीले शुरुवाती दिनदेखि नै बनाउने सपना देखेका थिए । त्यसमार्फत् उनीहरु प्रविधि र आइडियाबाट मात्र नभई ज्योतिष विज्ञानका माध्यमबाट यो सेवा प्रदान गर्न सफल भएका हुन् । ग्रह-नक्षत्रले हाम्रा जीवन तथा हामीले अनुसरण गर्ने मार्गलाई निकै प्रभाव पार्छन् भन्ने कम्पनीको विश्वास छ। यस्ता प्रभावलाई शुरुमै थाहा पाउन सक्नु ठूलो उपलब्धि र सम्पत्ति पनि हो । त्यसैले कम्पनीको उद्देश्य अंग्रेजी शब्दावली लभ इज नट इन द एयर रहेको हो । यसको मतलब भने वास्तवमा ‘द लभ इज इन द स्टार्स’ हो । एस्ट्रोपड म्याच के का लागि ? चर्चित डेटिङ एपहरुले मानिसहरुलाई सामान्यतया राम्रा फोटोका साथमा आफ्ना विवरण राखेर आफ्ना विशेषता, व्यवहार, जीवनशैली तथा संवेदनशील पक्षलाई बढी उजागर गर्न प्रेरित गर्छन् । यस्तै अन्य डेटिङ एपले प्रयोगकर्तालाई आफू सुहाउँदो जोडी भेट्नका लागि अझै पुराना पट्यारलाग्दा फर्म भराउने अल्गोरिदमलाई पछ्याइरहेका छन् । यी डेटिङ एपहरुले प्रत्येक व्यक्तिलाई एक सेट प्रश्नमार्फत् पहिचान र वर्गीकरण गर्छन् तर सही जोडी भेट्नका लागि व्यक्तिको वास्तविक प्रवृत्ति तथा संवेदनशील पक्षलाई भने उजागर गर्न सक्दैनन् । यी दुवै अवस्थामा जोडी खोज्न चाहनेले अनलाइनमा भएको उक्त व्यक्ति आफ्ना लागि सही छ या छैन भन्ने थाहा पाउन थुप्रै पटक हिट एन्ड ट्रायल अर्थात् परीक्षणका लागि गरिने कुराकानी तथा भेटघाटमा भर पर्नुपर्ने हुन्छ। एस्ट्रोपडले वेदहरुमा भएका जोडी बनाउने पौराणिक ज्ञानलाई हालको तीव्रगतिमा चलिरहेको अत्याधुनिक डेटिङ प्लेटफर्ममा उपलब्ध गराएको छ । यसले प्रयोगकर्तालाई कुनै पनि व्यक्ति आफ्ना लागि सही जोडी हो वा होइन भन्ने थाहा पाउन सम्बन्धका लागि आवश्यक मुख्य ७ ओटा पक्षलाई परीक्षण तथा हिसाबकिताब गर्न मद्दत गर्छ। यो स्थानका आधारमा काम गर्ने डेटिङ एप हो जसले प्रयोगकर्तालाई दायाँतर्फ स्वाइप गर्नुअघि ज्योतिष विज्ञानका हिसाबले मिल्दो छ वा छैन भन्ने परीक्षण गर्न सघाउँछ। यो एपमा दायाँतर्फ स्वाइप गर्नुको मतलब कुनै पनि प्रयोगकर्ताले उक्त व्यक्तिप्रति चासो देखाएको छ भन्ने बुझाउँछ। हाल यो एप नेपालमा डाउनलोड गर्नका लागि गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोर दुबैमा उपलब्ध रहेको छ।