पुराना खानेपानी मर्मतमा रु ९५ करोड बजेट विनियोजन, सबैभन्दा धेरै दार्चुलामा
काठमाडौं । खानेपानी तथा ढल निकास विभागले पुराना खानेपानी आयोजना मर्मत सम्भारका लागि ९५ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विभागले ७५ जिल्लाका दुई हजार १७० योजना मर्मतका लागि उक्त रकम विनियोजन गरेको हो । विभागका उपसचिव अरुणकुमार सिम्खडाले खानेपानी सेवा नियमन तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत पुराना खानेपानी आयोजनालाई मर्मत गर्नका लागि बजेट छुट्याएको जानकारी दिए । त्यसमध्ये सबैभन्दा धेरै दार्चुलामा २१५ योजना मर्मत सम्भार गर्न लागेको छ भने सबैभन्दा कम मनाङमा तीन योजना मर्मत सम्भार गर्न लागेको छ । यसका लागि दार्चुलामा तीन करोड ५२ लाख रुपैयाँ र मनाङमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको विभागले जनाएको छ । रासस
काठमाडौं-निजगढ द्रुत मार्ग निर्माणको लागि वार्षिक २० अर्ब बजेट विनियाेजन गर्न कार्यदलकाे सुझाव
काठमाडौं । काठमाडौं-निजगढ द्रुतमार्ग(फास्ट ट्रयाक) सुझाव समितिले यो मार्ग नेपाल सरकारले आफैं निर्माण गर्न सक्नेसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । त्यसका लागि वार्षिक १० अर्ब रुपैयाँ देखि २० अर्ब रुपैयाँ बजेटको व्यवस्था गर्न सकिने र सरकार आफैँले कार्यालय स्थापना गरेर काम सुरु गर्नु राम्रो हुने सुझाव दिएकाे सुझाव समितिका संयोजक एवम् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बताएका छन् श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार सो प्रतिवेदन बुझाएका हुन् । गत पुस ७ गते द्रुत मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न मन्त्रिपरिषद्ले आयोगका उपाध्यक्ष डा श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति बनाएको थियो । समितिलाई पुरानै कम्पनीले बनाएको विस्तृत परियोजना प्रस्ताव (डिपीआर) लिन सकिने वा नयाँ बनाउनुपर्ने, द्रुत मार्गको वित्तीय व्यवस्थापन कसरी गर्ने, नेपाल आफैँले बनाउन सक्ने वा नसक्ने, कुन मोडालिटीमा बनाउनेजस्ता विषयमा सरकारलाई सुझाव पेस गर्न कार्यादेश दिइएको थियो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले “समितिले तोकिएको अवधिभित्र कार्यादेश अनुसार सुझाव दिएको छ, केही दिन पहिले मैले द्रुत मार्गको स्थलगत निरीक्षण गरेको थिएँ, द्रुत मार्ग नेपालले बनाउन सक्छ कि सक्दैन भन्ने बहस थियो, अब त्यो द्विविधा अन्त्य भएको छ, छिटोभन्दा छिटो द्रुत मार्ग निर्माणको काम सुरु हुन्छ”–भने । प्रतिवेदन बुझाउँदै संयोजक डा श्रेष्ठले सरकारले दिएको कार्यादेशअनुसार प्रतिवेदन बुझाएको बताए । प्रतिवेदनमा समय र खर्चको बचतका लागि पुरानो कम्पनीले बनाएको डिपीआर लिनु उपयुक्त हुने, द्रुत मार्ग नेपालको आफ्नै लगानीमा निर्माण गर्न सकिने उनले बताए ।
भारतद्वारा काठमाडौं दिल्ली रेल बनाउने प्रस्ताव, नेपालको सडक सञ्जालमा ३४० मिलियन डलर लगानी गर्ने सम्झौता
काठमाडौं। राजधानीमा सुरु पूर्वाधार सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार उद्घाटन गरे। नेपाल उद्योग परिसंघले सरकारसँगको सहकार्यमा आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री दाहालले पूर्वाधारमा स्वदेशी र विदेशी लगानी भित्र्याउन सरकारले उच्चतम वातावरण बनाइ रहेको बताए। कार्यक्रममा अतिथि रहेका भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौं – दिल्ली र काठमाडौं – कलकत्ता रेलमार्ग बनाउने प्रस्ताव समेत गरेका छन्। आइतबारबाट शुरु दोस्रो पूर्वाधार सम्मेलनमा सहभागी हुन आएका रेलमन्त्री प्रभुले उक्त दुई रेलमार्गका लागी नेपाल सरकारसमक्ष चाँडै नै प्रस्ताव गर्ने जानकारी दिए। उनको प्रस्ताव एकदमै प्रारम्भीक र उक्त प्राप्तीका लागि नेपालकै तर्फबाट घचघच्याउने काम शुरु गर्नुपर्नेमा सम्मेलनमा सहभागीहरुले बताएका छन्। यसबारेमा सिमावारी र सिमा पारिका लागि लिङ्क गर्न सकिने र नेपालमा रेलको विषयमा विस्तृत अध्ययन पश्चात काम अगाडि बढाउन सकिने सम्मेलन आयोजक मध्येका एक रविभक्त श्रेष्ठले बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र रेलमन्त्री प्रभुबीच उक्त आयोजनाहरु सहुलियतपुर्ण ऋणमा बनाउने हस्ताक्षर आइतबार भइसकेको छ । ‘यो महत्वपुर्ण उपलब्धी हो,’ उनले भने । प्रभुले भारत नेपालका लागि ठूल्दाई नभई जुड्वा भाई भएको भन्दै सहकार्य निरन्तर जारी रहने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाली नेताहरुले बोलि धेरै गर्ने काम नगर्ने परिपाटीको आलोचना समेत भएको थियो। विकासका कुराहरु गर्ने तर उचित मात्रामा भिजन नबनाई अघि बढ्ने गरेको भन्दै एसियाली बिकास बैंकका उपाध्यक्ष वेन्काई झाङले नेपालका नेताहरुको कार्यशैलीको आलोचना गरे। उनको त्यस्तो वक्तव्य आएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले त्यसको खण्डन गरे । भट्टराईले सपनाको बचावट गर्दै भने- ‘हामीले सुतेर देख्ने सपनाको कुरा गरेका होइनौं, हामीले त यस्तो सपनाको कुरा गरेका हौं, जसले हामीलाई सुत्नै नदिओस् ।’ पूर्वाधार सम्मेलनमा बोल्दै डा. भट्टराईले देशमा राजनीतिक प्राप्तिपछि अब आर्थिक परिवर्तनका लागि सबैको ध्यान जानुपर्ने बताए । देशमा लगानीको वातावरण तयार भएको भन्दै निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्न डा. भट्टराईले आग्रह गरे । भारतले सडक निर्माणका लागि ३४० मिलियन डलर लगानि गर्ने भारतले नेपालको सडक सञ्जाल विस्तार गर्नका लागि ३४० मिलियन अमेरिकी डलर लगानी गर्ने विषयमा हस्ताक्षर भएको छ। ‘भारत नेपालको असल मित्र त हो नै एक ‘स्योर सट’ लगानीकर्ता पनि हो’ प्रभुले भने। ‘म अहिले भाग्यमानी महशुस गरि रहेको छु की आजै मात्र हामीले सडक निर्माणका लागि ३४० मिलियन अमेरिकी डलर (३६ अर्ब ४७ करोड रुपैयाँ) लगानी गर्न यहाँको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छौँ।’ यो मात्र होइन नेपालमा सडक, रेल्वे लगायतका पुर्वाधार विकासका लागि थप लगानी गर्न भारत तयार रहेको उनले बताए। ‘हामी चाहन्छौँ की नेपाल लगानीका लागि साँच्चिकै उपयुक्त ठाउँ हो भनेर अरु विदेशी लगानीकर्ताले पनि विश्वास गरुन्। हामीले गरेको लगानी सम्झौताले त्यो बाटो खन्न मद्दत गर्छ भन्ने मलाइ लागेको छ।’ ‘भारत ठूल्दाई हैन जुम्लाहा हो’ ‘नेपाल जति नजिकको मित्र हाम्रा लागि कोही छैन। कसै कसैले को ठूल्दाइ? को सानो भाइ? जस्ता प्रश्न पनि गर्ने गरेका छन्। तर, म भन्छु- नेपाल र भारत कुनै ठूल्दाइ/सानो भाइ होइन, यी त जुम्ल्याहा भाइ हुन्। त्यसैले नेपाल र भारत सधैं साथ साथ हिँड्नु पर्छ’ उनले भने । प्रभुले ग्रिन इन्फ्राष्ट्रक्चरमा रेल्वेको स्थान अवश्य पनि अगाडी आउँछ। दुई देशका राजधानी जोड्ने गरि काठमाडौं र नयाँ दिल्ली एवं नेपालको प्रमुख व्यापारिक बन्दरगाह कलकत्ता र काठमाडौँ जोड्ने गरि दुई वटा रेल्वे लिंक निर्माण होउन् भन्ने भारतको चाहना रहेको बताए। यी दुई लिंक जति सक्दो चाँडो बनुन् भन्ने भारतको चाहना रहको उनले बताए। त्यसका लागि नेपाल सरकारले आफ्नो तिर ट्राफिक सर्भे लगायतका पुर्व तयारी जतिसक्दो चाँडो गर्न सुझाए।