शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय लम्बियो
काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । माघ ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिने समय फागुन ८ गतेसम्म लम्बिएको हो । कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँको ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो । स्थानीयलाई छुट्याएको सेयरमा बागलुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका वडावासी र विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कर्णालीमा पहिलोपटक १३२ केभी प्रसारण लाइन, उद्योग सञ्चालनको बाटो खुल्यो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै उक्त प्रदेशको आर्थिक वृद्धिमा मद्दत पुग्ने विश्वास गरे । उनले विगतमा ३३ केभी क्षमताको प्रसारण लाइनबाट कर्णाली प्रदेशमा विद्युत् आपूर्ति भइ ओभरलोड हुने, छिनछिनमा बत्ती गइरहने र लो-भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुने बताए । आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरुले सबैभन्दा बढी विद्युत् उद्योगमा खर्च हुन सक्ने उनको भनाइ छ। पुसको तेस्रो साता स्थलगत अवलोकन गरेर कार्यकारी निर्देशक शाक्यले आयेजनाबाट छिटो चार्ज गराउने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । आयोजनाका प्रमुख रविकुमार चौधरीले करिब ५२ किलोमिटर लामो कोहलपुर-सुर्खेत खण्डको काम प्राधिकरणले दिएको जिम्मेवारी बमोजिम छिटो सम्पन्न गर्न सम्भव भएको बताए । अब दोस्रो खण्डको सुर्खेत-दैलेख खण्डको काम तीव्र गतिमा अघि बढ्ने उनले जानकारी दिए ।
१२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको पहुँच सडक निर्माण सुरु हुँदै
दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पहुँच सडक निर्माण सुरु गर्न लागिएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको लिमिटेडले यहाँबाट खेरजान पानीको सदुपयोग गर्दै तल्लो सेती जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको हो । त्यसका लागि निर्माण व्यवसायीले आयोजनाको पहुँच सडक निर्माण तथा कार्यालय स्थापना सुरु गरेको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीबाट प्राप्त हुन थप पानी प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । तल्लो सेती जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको छ । आयोजनाको जग्गा अधिग्रहण प्रक्रियासमेत अगाडि बढिसकेको छ । आयोजनाका विभिन्न संरचनाका लागि आवश्यकपर्ने निजी जग्गा अधिग्रहणका प्रक्रिया अगाडि बढाउन प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको जनाइएको छ । आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट–३ र ४ हुँदै छ दशमलव आठ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब ५०० मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ । आयोजनाबाट बन्दीपुर–६, व्यास नगरपालिका–१३, १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछन् । देवघाट–४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुने छ । आयोजनाबाट वार्षिक रुपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको अनुमानित लागि रु २५ अर्ब रहेको छ । कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब तीन दशमलव पाँच मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत/निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो । रासस