नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न वार्षिक ३० करोड खर्च हुने, सडक दस्तुर सरकारको खातामा

काठमाडौं । बहुप्रतीक्षित सुरुङमार्ग नागढुंगा आयोजनाको भौतिक निर्माण कार्य सम्पन्न भएसँगै अब यसलाई सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ । आयोजना प्रमुख सौजन्य नेपालले सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि १० वटा कम्पनीहरूले बोलपत्र (टेन्डर) पेस गरेको जानकारी दिए।  सुरुङमार्ग सञ्चालनका लागि नेपाली र विदेशी गरी १० कम्पनीले निवेदन दिएका छन् । जसमा छनोटमा पर्ने एक विदेशी र एक स्वदेशी कम्पनी जोइन्ट भेन्चरको रूपमा मिलेर काम गर्ने आयोजनाले जनाएको छ ।  आयोजना प्रमुख नेपालले हाल ती बोलपत्रहरूको प्राविधिक मूल्यांकन भइरहेको बताए ।  आयोजना प्रमुख नेपालका अनुसार छनौट प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन दुई चरणको मूल्यांकन गरिँदैछ ।  ‘अहिले हामी प्राविधिक प्रस्तावको मूल्यांकन गर्दैछौं । त्यसमा दक्ष र योग्य कम्पनी छनौट हुनेछ । सफल हुने कम्पनीहरूको मात्र आर्थिक प्रस्ताव खोलिनेछ,’ उनले भने ।  सुरुङमार्गको मुख्य निर्माण कार्य ९९ प्रतिशत सकिएको आयोजना प्रमुख नेपालले जानकारी दिए । उनका अनुसार अब केही सहायक कामहरू मात्र बाँकी छन् । ‘सुरुङमार्गको मुख्य कामहरू सबै सकिएका छन् । अहिले पश्चिम पोर्टल (धादिङतर्फ) मा पहिरो रोकथामको काम र टोल प्लाजा (शुल्क संकलन केन्द्र) निर्माणको काम भइरहेको छ,’ उनले भने । सबैभन्दा उपयुक्त र प्रतिस्पर्धी कम्पनीलाई सडक विभागका महानिर्देशकमार्फत छनौट गरी सम्झौता गरिनेछ । सञ्चालनको जिम्मेवारी पाउने कम्पनीले सुरुङमार्ग भित्रको सुरक्षा, ट्राफिक व्यवस्थापन र प्राविधिक मर्मतसम्भारको काम हेर्नु पर्नेछ ।  कहिले खुल्छ सुरुङमार्ग ? सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही महिना लाग्ने देखिएको आयोजना प्रमुख नेपालले जानकारी दिए । बोलपत्रको मूल्यांकन, कम्पनीसँगको सम्झौता, नयाँ आउने कर्मचारीहरूको तालिम र ‘ट्रायल अपरेसन’ का लागि थप २ देखि ४ महिना लाग्ने आयोजनाको अनुमान छ । सम्झौता भएलगत्तै सेवा प्रदायकलाई तालिम दिइने र त्यसपछि मात्र सर्वसाधारणका लागि सुरुङमार्ग खुला गरिने तयारी छ । सुरुङमार्ग सञ्चालनका लागि सरकारले वार्षिक करिब ३० करोड रुपैयाँ खर्च बेहोर्ने अनुमान गरिएको छ । आयोजना प्रमुख नेपालका अनुसार सुरुङमार्ग सञ्चालनका लागि छनोट हुने सेवा प्रदायक कम्पनीलाई यो रकम सरकारले भुक्तानी गर्नेछ । सवारी साधनबाट संकलन हुने टोल सडक दस्तुर सेवा प्रदायकको हातमा नजाने आयोजना प्रमुख नेपालले बताए । उनले भने, ‘टोलबाट उठेको सम्पूर्ण रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुन्छ । सेवा प्रदायकले त्यो रकम चलाउन पाउँदैन । उनीहरूको वास्तविक लागतका आधारमा सरकारले मात्रै भुक्तानी गर्ने हो ।’ सुरुङमार्ग वर्षको ३ सय ६५ दिन र दिनको २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले करिब १५० जना जनशक्ति आवश्यक पर्ने आयोजनाले जनाएको छ । यसमा सुरुमार्ग सञ्चालनमा विशेष अनुभव भएका करिब ५ जना विदेशी विज्ञ रहनेछन् भने बाँकी सबै नेपाली कर्मचारी हुनेछन् । अयोजनाका अनुसार जनशक्तिमा १०/१२ जना इन्जिनियर, टोल कलेक्सन कर्मचारी, चालक, अग्नि नियन्त्रण (फायर फाइटिङ) टिम, रेस्क्यु टिम तथा अन्य प्राविधिक जनशक्ति समावेश हुनेछन् । सुरुङमार्ग सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भने ठेक्का सम्झौता अनुसार सेवा प्रदायक कम्पनीले नै गर्नेछ भने वार्षिक सञ्चालन खर्च सरकारले उपलब्ध गराउनेछ । २०७६ साल कात्तिकदेखि जापानको निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरिरहेको यो सुरुङमार्गको कुल लागत करिब २३ अर्ब रुपैयाँ पुगेको छ । सुरुमा यस परियोजनाका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बाट १७ अर्ब १५ करोड रुपैयाँ सहुलियत ऋण लिइएको थियो । तर निर्माण लागत र परामर्श खर्च बढेपछि दोस्रो चरणमा थप ५ अर्ब २७ करोड रुपैयाँ ऋण लिनुपरेको आयोजनाले जनाएको छ । यो सुरुङमार्ग २०८३ साल वैशाख १२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जाम हट्ने र यात्रा छिटो तथा सुरक्षित हुने विश्वास गरिएको छ ।  नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि १० विदेशी कम्पनी मैदानमा, मूल्यांकन प्रक्रिया सुरु  

४ करोड ६२ लाख रुपैयाँमा भोजपुरको कावा खोलामा पक्की पुल निर्माण

भोजपुर । कावा खोलामा चार करोड ६२ लाख ७४ हजार ९१० रुपैयाँको लागतमा पक्की पुल निर्माण भएको छ । निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ ।  स्टिल ट्रस ओपन फाउन्डेसन प्रविधिमा एक स्पानको उक्त पुल ४६ मिटर लामो र छ मिटर चौडा छ । पुलको दुवैतर्फ एक दशमलव २० मिटर चौडा पैदल मार्गसमेत निर्माण गरिएको छ ।  पुल सञ्चालनमा आएपछि आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाका सर्वसाधरण लाभान्वित भएका छन् । कावा खोलामा पुल नहुँदा सदरमुकामसम्मको यात्रा जोखिमपूर्ण थियो । यो पुलले हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङलाई जोडेको छ । रासस 

६७ लाखमा ७ हजार ‘क्याट्स आई’ राखिँदै, दुर्घटना कम गर्न सहयोग पुग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा ७ हजार ‘क्याट्स आई’ राख्ने तयारी गरेको छ । रातको समयमा सडकमा टल्किने उक्त क्याट्स आईले सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने जनाइएको छ । त्यसका लागि बोलपत्र आह्वान गरिसकेको र तत्कालै काम सुरु हुने कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । लैनचौर,  कालोपुल, बानेश्वर, टुँडीखेल वरपर, सिंहदरबार, खुसिबु, कुलेश्वर, थापागाउँ, नयाँबजार, छाउनेलगायत स्थानमा ६७ लाख रुपैयाँ बराबरको लागतमा क्याट्स आइ राख्न लागिएको सल्लाहकार श्रेष्ठले बताए । क्याट्स आई राखेपछि रातको समयमा सवारीसाधनलाई आफ्नो आवतजावत गर्ने एरिया स्पष्ट हुने र दुर्घटना कम गर्न सहयोग पुग्ने उनको भनाइ छ । यसैबीच, कामपाले सडक चिह्न राख्ने तयारी थालेको छ ।  धेरै स्थानमा सडक चिन्ह मेटिएका छन् । त्यस्ता चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समस्या भएकाले सडक विभागसँगको सहकार्यमा कामपाले राख्न लागेको हो ।  कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि जारी राखेको छ । कामपाका प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिएर क्लब गठन गरिँदै आइएको छ ।