निर्माण व्यवसायी महासंघको चुनाव चैत १७ गतेदेखि हुने, अध्यक्षमा लामा र पाण्डेबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको चुनाव आगामी चैतमा हुने भएको छ । महासंघकाका अनुसार चैतको १७ गतेदेखि १९ गते (३ दिन) सम्म काठमाडौंमा हुनेछ । यसअघि माघ १५ देखि १७ गतेसम्म हुने भनिएको थियो । तर फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कारण दुई महिना धकेलिएको महासंघका महासचिव रोशन दाहालले बताए ।  महासंघभित्र सुरुमा सहमतिको प्रयास खोजिएको तर अन्तिममा सहमतिको सम्भावना नभएपछि चुनावमा जान बाध्य भएको उनको भनाइ छ । महासंघको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा र सल्लाहकार तथा पूर्ववरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका उम्मेदवार लामा (एडी) ले आफ्नो प्यानलको प्रारम्भिक खाका यसअघि नै प्रस्तुत गरिसकेका छन् । अध्यक्षमा उनी स्वयं, वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी रहने जनाएको छ । प्रदेशबाट आउने उपाध्यक्षहरूको भने प्रदेशस्तरको चुनावपछि टुंगो लाग्ने बताइएको छ ।  लामाले सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनी विगत १५ वर्षदेखि महासंघमा सक्रिय छन् । केन्द्रीय सदस्य, महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै उनी अध्यक्षको दौडमा छन् ।  उनको कम्पनी पीएस कन्स्ट्रक्सन हो । उक्त कम्पनीले वार्षिक करिब १ अर्बको कारोबार गर्दै ६०० भन्दा बढीलाई रोजगारी दिएको छ ।  अर्का अध्यक्षका प्रत्यासी पूर्वसल्लाहकार तथा पूर्ववरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे हुन् । पाण्डेले आफ्नो प्यानलमा वरिष्ठ उपाध्यक्षमा हालका एसोसिएटतर्फका उपाध्यक्ष मुकेश पन्थ (रामजी), महासचिव मंगल शाहीलाई उठाउने तयारी छ । लामा कांग्रेस निकट व्यक्तिका रूपमा चिनिन्छन् भने पाण्डे आफूलाई कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको, लोकतान्त्रिक मूल्य-मान्यतामा विश्वास गर्ने स्वतन्त्र व्यक्तिका रूपमा प्रस्तुत गर्न रुचाउँछन् ।  रोशन दाहाल र बालाजु श्रेष्ठ एमाले पृष्ठभूमिका हुन् भने शिवहरि श्रेष्ठ कांग्रेसनिकट मानिन्छन् । त्यस्तै, मुकेश पन्थ कांग्रेससम्बद्ध रहँदा मंगल शाही भने नेपाली कम्युनिस्ट पार्टी निकट मानिन्छन् । अध्यक्ष बन्ने दौडमा रहेका पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक तथा एएसि ब्रिकी उत्पादक संघका अध्यक्ष हुन् । निर्माण व्यवसायीका साथै युवा उद्यमी पनि हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेका छोरासमेत हुन् । कालिका कन्सट्रक्सनले निर्माणको क्षेत्रमा थुप्रै ठुलाठुला परियोजना निर्माण गर्दै आइरहेको छ ।  जस्तै कोशी नदीमा २ सय ६२ मिटर लम्बाईको पुल निर्माण परियोजना, दरौंदी-ए हाइड्रो इलेक्ट्रिक ६ मेघावाट आयोजना, डाइमण्ड हाइड्रोपावर १० मेघावाट आयोजना, भुटान आयोजना, अरुण खोला पुल, भोटेकोसी-५, कोशी पुल, काठमाडौं खानेपानी आयोजनाको ट्रान्समिसन लाइन, सिक्टा सिँचाइ आयोजना लगायत विभिन्न सडक निर्माणका आयोजनाहरूमा कम्पनीको योगदान छ ।  महाधिवेशनमा कुल ३२ हजार हाराहारीमा रहेका निर्माण व्यवसायी सदस्यमध्येबाट ९७२ जना प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधि छनोटको प्रक्रिया जिल्ला संघहरूबाट हुने महासंघले जनाएको छ । 

स्नो रिभर्सले चैत ९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने, कसले कति कित्ता आवेदन दिन पाउँछन् ?

काठमाडौं । स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ३७ लाख ५० हजार रुपैयाँको ९ लाख ३७ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-८ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र सिरीजङ्गा गाउँपालिका-१ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिका-५ र ६, पाथिभरा याङवारक गाउँपालिका-५ र ६ र पाँचथरको हिलिहाङ गाउँपालिका-१ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर बिक्री गरिनेछ । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय याम्फुदिन, नेपाल बैंकको सिरीजङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन् ।  यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

याम्बालिङ्ग हाइड्रोले चैत ८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २८ लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड रुपैयाँको ७ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दालाई छुट्याएको छ । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा स्थानीयले ७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले २१ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ  साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय, सिन्धु विकास बैंकको जुगल गाउँपालिका र चौतारा शाखा र कुमारी बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।