२२.५ मेगावाटको अपर ठूलोखोलाको ​​​​​​​बिजुली केन्द्रीय लाइनमा, ३ बैंकको ७० प्रतिशत ऋण लगानी

काठमाडौं । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो ।  आयोजनाका प्रमुख शिवसागर यादवले गत फागुन २९ गते साँझ ६ बजेदेखि परीक्षणका लागि केन्द्रीय लाइनमा पठाउन थालिएको जानकारी दिए । ‘नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो । परीक्षण सफल भएपछि १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुन्छ,’ उनले भने ।  हालको सुक्खायाममा १३.८६ मेगावाट विद्युत् उत्पादन भएको आयोजना प्रमुख यादवले बताए । बाँध, विद्युतगृह, पाइप लाइन, प्रसारण लाइन र विद्युतगृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकेर परीक्षण उत्पादन थालिएको हो । वि.सं २०८० मा उक्त आयोजना निर्माण सुरु भएको थियो ।  आयोजना निर्माणस्थल भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), २ हजार ९०० मिटर मुख्य पाइप लाइन र ३०० मिटर सर्च साफ्ट पाइप लाइन जडान, फेदीमा विद्युत्गृह निर्माण भएको छ । दुईवटा युनिट (टर्वाइन) रहेको विद्युत्गृह परिसरमा स्वीचयार्ड निर्माण भएको इन्जिनियर सञ्जीव न्यौपानेले बताए ।  यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर छ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइएको छ । फेदीदेखि तिल्केनीचौरसम्म प्रसारण लाइनको दूरी २३.५ किलोमिटर छ । ५ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स, माछापुच्छ्रे र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ । बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक गत वैशाख-जेठमा स्तरोन्नतिका कारण र बर्खामा मलाङको पहिरोका कारण अवरुद्ध हुँदा विद्युतगृह, प्रसारण लाइन र स्वीचयार्डका उपकरण ढुवानीमा समस्या भएको थियो ।  राहुघाट र सहायक नदीहरूमा यसअघि तीनवटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवर्द्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला-राहुघाट-मङ्गले र त्यसको क्यासकेडका रूपमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् । राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

धुलिखेल-खावा सडकखण्ड दुई साता राति बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत पर्ने धुलिखेल-खावा सडकखण्डमा कालोपत्रे गर्ने कामका कारण दुई सातासम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै सडक सुधार तथा कालोपत्रे कार्यलाई तीव्र बनाउन चैत ७ गतेदेखि चैत २० गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमनमा प्रतिबन्ध लगाइने जनाएको हो। कार्यालयका अनुसार यो अवधिमा ठूला चारपाङ्ग्रे सवारीसाधन (बससमेत) लाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइनेछ। त्यस्तै, टिपर तथा ट्रकहरू (पास लिएका समेत) लाई भने २४ घण्टै सञ्चालन गर्न नदिइने सूचनामा उल्लेख गरिएको छ। सडक निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न र सवारी आवागमनका कारण हुने अवरोध कम गर्न यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ। सडक डिभिजन कार्यालयले यात्रु तथा सवारी चालकलाई यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि आवश्यक जानकारी लिन अनुरोध गरेको छ।

नेपालले एक वर्षका लागि बिहार, युपी र उत्तराखण्डबाट बिजुली ल्याउने, आयात दरमा १.५ प्रतिशतमात्र वृद्धि

काठमाडाैं । नेपालले भारतका विहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट विद्युत आयात गर्ने भएको छ ।नेपालले एक वर्षका लागि विद्युत आयात गर्ने भएको हो ।  शुक्रबार आज  नेपाल–भारत विद्युत आदान–प्रदान समितिको पोखरामा सम्पन्न १७औं बैठक यस्तो सहमति भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार बैठकले आगामी एक वर्षका लागि विद्युत खरिददरसमेत निर्धारण गरेको छ । दुवै पक्षबीच भएको विस्तृत छलफलपश्चात गत वर्ष कायम गरिएको दरमा १.५ प्रतिशतमात्र वृद्धि गर्ने सहमति भएको प्राधिकरणले जानकारी दिएको छ ।  उक्त सहमतिअनुसार चालु वर्षका लागि १३२ केभी प्रसारण लाइनमार्फत खरिद गरिने विद्युतको दर प्रति युनिट ८.२२, ३३ केभी स्तरमा प्रति युनिट ८.९१ तथा ११ केभी स्तरमा प्रति युनिट ९.५५ कायम गरिएको छ ।  साथै विद्युत खरिद दरको संरचनासम्बन्धी विषयमा आगामी वर्ष पुनः विस्तृत समीक्षा गरी छलफल गर्ने सहमति पनि भएको विद्युत प्राधिकरणले जनाएको छ । हाल विद्युत प्राधिकरणले दैनिक करिब १२ देखि १४ हजार मेगावाट घण्टा विद्युत आयात गरिरहेको छ । बैठकमा नेपालको नेतृत्व प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरेका थिए भने भारतको तर्फबाट केन्द्रीय विद्युत प्राधिकरणका बोर्ड सदस्य विजय कुमार सिंहले गरेका थिए । बैठकमा नेपाल र भारतबीच विद्युत आदान–प्रदानका लागि पीइसीमार्फत विद्युत खरिद गर्ने प्रक्रिया सन् १९९२ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्राधिकरणले जानकारी दिएको छ ।