चालु आर्थिक वर्षमा ८ सय मेगावाट विद्युत प्रणालीमा थपिँदै
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले चालु आर्थिक वर्ष २०७९/८० मा ८ सय मेगावाट विद्युत प्रणालीमा थपिने बताएको छ । निर्माणाधीन जलविद्युत आयोजनाको काम सम्पन्न हुने भएसँगै ८ सय मेगावाट विद्युत प्रणालीमा थपिने भएको हो। चालु आर्थिक वर्षमा ८ सय मेगावाट प्रणालीमा थपिएर लगभग ३ हजार मेगावाट पुग्ने पनि इप्पानले बताएको छ । नेपाल विद्युत प्राधिकरणले गत माघ २६ गते १५ सय मेगावाटसम्मको नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गरेकाे छ । सबै प्रक्रिया पुरा गरेर नेपाल विद्युत प्राधिकरणमा २ सय ४० वटा परियोजनाहरूले ११ हजार ७ सय १६ मेगावाट बराबरको पीपीएका लागि आवेदन गरेको पनि इप्पानले बताएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्ने तयारी
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ । पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ । सो चट्टान काट्न कठिन भएपछि विस्फोट गराएर छिटो काम सक्ने योजना रहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले बताए । ‘तुइन खोलाको देब्रेतर्फको डाँडो काट्ने काम अबको एक सातामा सक्ने गरी काम भइरहेको छ’, उनले भने । दायाँतर्फको भने ४० प्रतिशत मात्रै काम भएको छ । दायाँतर्फ ६० मिटर अग्लो चट्टानको थियो । काटेर २५ मिटर तल झारिएको छ । बाँकीलाई यसैगरी काट्दा लामो समय लिने भएकाले विस्फोट गराउन अनुमति मागेको आचार्यले बताए । आयोजनाका प्रमुख किरण कार्कीका अनुसार विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट गृह मन्त्रालयमा फाइल पुगेको छ । त्यहाँबाट स्वीकृत भएपछि विस्फोटक पदार्थ खरिदका लागि प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । रातको समयमा काम गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भइरहेको छ । जटिल ठाउँमा भएकाले घटना हुनसक्ने भन्दै रातको समयमा काम गर्ने आँट ठेकेदार कम्पनीले गरेको छैन । यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको देब्रेपट्टिको भित्तो काट्ने काम ८० प्रतिशत सकिएको छ । अबको १५ दिनमा काम सम्पन्न हुने अनुमान छ । दायाँपट्टिको भित्तो काट्ने काम सकिएको छ । पहिलो ३० दिनमा दिउँसो सवारी रोकेर काम नसकिएपछि पुनः माघ ६ गतेबाट ३० दिनको लागि दिउँसोमा सवारी रोकेर काम भइरहेको छ । दिउँसो १२ बजेबाट ४ बजेसम्म सवारी रोक्ने गरिएको छ । यही गतिमा काम भएमा थप दुई महिना सवारी रोक्नुपर्ने देखिएपछि विस्फोटको विकल्प खोजिएको हो । डाँडो तल झरेकाले विस्फोट गर्दा कम क्षति हुने जनाइएको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघिनै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँच वटा पुल निर्माणाधीन रहेका छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको हो । विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । एउटा पुलको काम सुरु भएको छैन । पुलको छेउमा सुकुम्बासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो । विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान रहेको छ । कार्कीका अनुसार क्षतिपूर्तिका लागि एक करोड रुपैयाँ हाराहारी खर्च हुन्छ । रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम सुरु गर्न नसकिएको हो । पुल निर्माण २०८० पुससम्म सम्पन्न गर्नुपर्ने छ । सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै समय एक वर्ष थप गरिएको छ । सो सडकका १५ पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ । पुल निर्माणका लागि लागत एक अर्ब २२ करोड रुपैयाँ हाराहारी छ । सो सडकमा यसअघिका पुल साँघुरा थिए । अहिले बनाइएका पुल ११ मिटर फराकिला छन् । सडक नौदेखि ११ मिटर फराकिलो रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्छन् । रासस
८० करोडमा दश मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण तीव्र
झापा । झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका–४ सालमारामा ८० करोड रुपैयाँको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो । एककाइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी विसं २०८० असार मसान्तमा निर्माण सम्पन्न गरिने गरी काम भइरहेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए । करिब ७५ प्रतिशत माछापुच्छ्रे बैंक र सिभिल बैंकको वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत साधारण शेयरबाट रकम जुटाइएको उनले जानकारी दिए । ‘आगामी असारभित्र पूरा गर्ने लक्ष्यसहित धमाधम निर्माणको कामलाई तीव्रता दिइरहेका छौँ’, उनले भने, ‘परियोजनालाई चाहिने आवश्यक सामग्री निर्माणाधीन स्थलमा आइरहेको छ ।’ परियोजनाको काम पूरा भएलगत्तै विद्युत् उत्पादन सुरु हुने उनले बताए । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले किन्ने सम्झौता भइसकेको उनको भनाइ छ । पूर्व पश्चिम राजमार्गको दूधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा परियोजनास्थल रहेको छ । त्यहाँबाट नेपाल विद्युत् प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटर नजिक छ । कम्पनीबाट उत्पादित सौर्य विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि इनर्जी आफैँले नौ सय ६० मिटर प्रसारण लाइन निर्माण गरिसकेको छ । भट्टराईले परियोजनामा उच्च प्रविधियक्त सोलार प्यानल तथा उपकरण जडान गरिने बताए । उनले नेपाल विद्युत् प्राधिकरण र झापा इनर्जीबीच २०७८ मङ्सिर १२ मा विद्युत् खरिद सम्झौता भइसकेको बताए । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली विद्युत् प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गर्नेछ । यसका आधारमा आयोजनाले वार्षिक १२ करोड ८५ लाख आम्दानी गर्ने प्रारम्भिक अनुमान गरिएको छ । झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा चार वर्षअघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास गत वर्ष संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए । नेपालमा हाल २९ मेगावाट सौर्य विद्युत् उत्पादन भइरहेको र सन् २०३० सम्ममा यसलाई बढाएर एक हजार मेगावाट पुर्याउने राष्ट्रिय लक्ष्य रहेको कम्पनीका अध्यक्ष साँवाले बताए । विदेशमा सौर्य ऊर्जाको ठूला परियोजना हेरेपछि आफ्नो मुलुकमा समेत यसको सम्भावना अध्ययन गरेर झापा इनर्जीको स्थापना गरिएको उनले बताए । उनले मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पुर्याउने बताए । रासस