नाग्म–गमगढी सडक कालोपत्र गरिने

मुगु । नेपालकै आकर्षक पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म–गमगढी सडक कालोपत्र गरिने भएको छ । चालु आर्थिक वर्षभित्रै साढे छ किलोमिटर लामो उक्त सडकखण्ड कालोपत्र गर्न लागिएको हो । त्रियान्नब्बे ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगढी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे छ किमी सडक कालोपत्र गर्न लागिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले बताए । हाँटसिंजा गुठिज्युलादेखि मालिकाबोतासम्म नाला निर्माण, कङ्क्रिट ढलान, पर्खाल निर्माणलगायत काम गर्न लागिएको छ । चौलागाईंले भने, ‘पहिलो चरणमा साढे छ किलोमिटर सडक कालोपत्र हुनेछ । बोलपत्र आह्वान भएर कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीलाई कार्यादेशसमेत भइसकेको छ । फागुन पहिलो हप्ताबाट कालोपत्रको काम सुरु हुनेछ ।’ थोदुङ वाचन जेभी कम्पन्नीले कालोपत्रको ठेक्का पाएको छ । निर्माण कम्पन्नीले असार मसान्तभित्र कालोपत्र सक्ने प्रतिबद्धता जनाएको सूचना अधिकारी चौलागाईंले जानकारी दिए । नाली निर्माण, पक्की पर्खाल निर्माण, कङ्क्रिट ढलानका साथै कालोपत्रको काम हुनेछ । नाग्म–गमगढी सडक कालोपत्र गर्न ४० करोड खर्च हुने भएको छ । कालोपत्रसँगै अन्य नाला निर्माण, कङ्क्रिट ढलान, पर्खाल निर्माणलगायतका काम हुनेछन् । समग्र ९३ किमी सडक नै कालोपत्रका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए । उनले भने, ‘नाग्म–गमगढी सडक ग्राभेल गरिएको छ । गुठिज्युला राराताल प्रवेशद्वार भएकाले पनि कालोपत्रपछि पर्यटकलाई राहत हुने अपेक्षा गरिएको छ ।’ सडककै कारण रारा आउने पर्यटकको सङ्ख्यामा गिरावट आएको छ । कर्णाली राजमार्ग स्तरवृद्धिसँगै नाग्म–गमगढी सडक कालोपत्रको खबरले रारा आउने पर्यटक उत्साहित भएको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले बताए । रासस

सर्लाहीको चुरे फेदमा फनपार्क निर्माण तीव्र

सर्लाही । सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका–१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ । पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ । हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीका अनुसार उद्यानमा ठूलो कदको बुद्घको मूर्ति स्थापना गर्ने तयारी छ । वनभोजस्थल, सेल्फीसेट, जङ्गल पुल तथा चमेनागृहसमेत निर्माण गरिँदै छ । चार करोड ९७ लाख रुपैयाँको लागतमा उद्यान निर्माण भइरहेको प्रमुख बुढाथोकीले जानकारी दिए । ‘पर्यटन मन्त्रालयले ६५ र हरिवनले ३५ प्रतिशत रकम बेहोर्नेछ’, उनले भने, ‘थप रकम नगरपालिकाले विनियोजन गर्नेछ ।’ उद्यान निर्माणको ठेक्का गोपिनीगङ्गा कन्स्ट्रक्सन, काठमाडौँले लिएको छ । हाल सो कार्यमा ३०  कामदार कार्यरत छन् । उद्यान दुई वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ । रासस

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

बागलुङ । बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै छ ।  विदेशमा रहेका काठेखोला गाउँपालिका–५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।  वैदेशीक रोजगारीमा रहेका उनीहरुले पदमार्गका साथै सामुदायिक भवन, विद्यालय तथा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचना निर्माण गर्न आर्थिक सहयोग गर्दै आएका छन् । अहिले उनीहरुकै सहयोगमा बागलुङको प्रसिद्ध धार्मिकस्थल त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पर्यटकीय पदमार्ग निर्माण भइरहेको छ । पदमार्ग निर्माणमा हालसम्म ६० लाख रुपैयाँ खर्च भएको छ । प्रवासीको सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष खगराज कँडेलले जानकारी दिए । ‘मन्दिरसम्म पुग्न सहज होस भनेर पदमार्ग निर्माण गरिएको हो’, उनले भने । काठेखोला–६ शान्तिचोकदेखि हटिया गाउँ हुँदै मन्दिरसम्म पदमार्ग निर्माण भइरहेको छ । निर्माणका लागि स्थानीयले  जनश्रमदान गर्दैछन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको उक्त मन्दिरमा आन्तरिक तथा भारतीय पर्यटकसमेत आउने गरेका छन् । पदमार्गबाट पर्यटकलाई मन्दिर पुग्न सहज हुने स्थानीय शिव कँडेलले बताए । पदमार्गमा स्थानीय स्लेट (ढुङ्गा) बिच्छाइएको छ । यहाँबाट धौलागिरि, माछापुछे, अन्नपूर्णलगायत हिमाल देख्न सकिन्छ । बागलुङ बजारदेखि करिब एक घण्टामा यहाँ पुग्न सकिन्छ । मन्दिर नजिकै गुुरुकुल सञ्चालनको योजना रहेको स्थानीय नरहरी सापकोटाले बताए । रासस