सन्दकपुरको पानी इलाम बजारमा

इलाम । इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’को काम सम्पन्न भएको छ । आयोजना सम्पन्न भएसँगै केही समयअघिदेखि परीक्षणका रूपमा इलाम बजारमा खानेपानी वितरण हुँदै आएको थियो । काम सम्पन्न भए पनि सन् २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मतसम्भारको काम गर्नुपर्ने जनाइएको छ । नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्षअघि काम सुरु भएको थियो । आयोजनाको काम रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो । जुन आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । पाँच प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहेको छ । सुरुमा स्थानीय उपभोक्ताले १५ हजार दुई सय रकम बुझाएका थिए । यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए। आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड करिब ४३ लिटर पानी आइरहेको छ । आयोजनाका लागि सदरमुकामबाट करिब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको हो । आयोजनाअन्तर्गत सुरुमा दुई हजार आठ सय ७७ घरमा पानी वितरण गर्ने लक्ष्य लिइएको थियो । पछि थप भएर तीन हजार तीन सय ४४ घरमा आयोजनामार्फत नै खानेपानी वितरण भएको छ । पुनः तीन सय बढी उपभोक्ताको सङ्ख्या बढेकाले सो काम हाल भइरहेको बताइएको छ । पछि रकम जम्मा गर्ने उपभोक्ताको घर–घरमा समेत धारा जोड्ने काम भइरहेको जनाइएको छ । हालसमेत दैनिक दुईपटक पानी वितरण गरिँदै आइएको निर्माण कम्पनीका इञ्जीनियर कपिलदेव यादवले बताए । हाल कतिपय स्थानमा पानी वितरणमा समस्या उत्पन्न भइरहेको भए पनि यसलाई आफूहरूले मर्मतको काम गरिरहेको उनको भनाइ छ । गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गरिँदै छ । उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिएको छ । निर्माण सम्पन्न भएपछि सो आयोजनाको शनिबार अनुगमनसमेत गरिएको छ । जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा उपभोक्ता समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । रासस

नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिए । ‘चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँ’, उनले भने, ‘पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पिपल र एक सय ४५ वटा बरका रुख काटिएका छन्, भत्किएका प्रतिक्षालयको तथ्याङ्क राखिएको छैन ।’ यस सडकखण्डमा हरेक चोक तथा चौराहामा वरपिपलका रुखमा चौतारा तथा प्रतिक्षालय निर्माण भएका थिए । यस सडक भएर यात्रा गर्ने यात्रुहरूले प्रतिक्षालय तथा चौतारीका कारण कुन ठाउँ पुग्यौँ भनेर सहजै थाहा पाउने गरेको भए पनि अहिले ठाउँ ठम्याउनै मुस्किल पर्ने गरेको कावासोती–१६ डण्डाका ७० वर्षीय सूर्यनाथ बरालले बताए । ‘हामी पहिले नाराणगढ–बुटवलको बाटो धेरै यात्रा गर्यौँ’, उनले भने, ‘सडक किनारमा रहेका वरपिपलका चौतारा तथा चोकमा निर्माण गरिएका प्रतिक्षालय देखेर कहाँ पुग्यौँ भनेर सहजै थाहा पाउँथ्यौँ ।’ सडक विस्तारका क्रममा वरपिपलका चौतारा मासिँदा यस सडक भएर यात्रा गरे पनि कुन ठाउँ पुगियो भनेर अलमलमा पर्ने गरेको बरालको भनाइ छ । ‘चोक तथा सडक किनारमा रहेका चौतारा र प्रतिक्षालयमा सवारीसाधन कुरेर बस्न पाइन्थ्यो’, उनले भने, ‘सडक विस्तारसँगै ती संरचना मासिएपछि अहिले चर्को घाममा बसेर सवारीसाधन कुर्नुपर्ने बाध्यता छ ।’ पहिले धार्मिक आस्थाका कारण सडक किनारमा रोपेर हुर्काइएका वरपिपलका चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको उनको भनाइ छ । ‘ती चौतारा गाउँ–समाजमा भएका विवाद, झै–झगडा तथा समस्या मिलाउन भेला हुने थलोका रूपमा प्रयोग हुन्थ्यो । तर अहिले बाटो विस्तारसँगै सबै मासिएर गए, यसको संरक्षणमा कसैको पनि ध्यान पुगेन’, उनले भने । सडक किनारमा रहेका वरपिपलका चौतारी तथा प्रतिक्षालय मासिँदा अबका पुस्ताले चौतारी नै देख्ने नपाउने हुन् कि भन्ने चिन्ता गैँडाकोट–८ का शालिकराम सापकोटालाई लागेको छ । सडक विस्तारका कारण चौतारी धमाधम मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायी सापकोटाले चौतारी तथा प्रतिक्षालयलाई पायक पर्ने स्थानमा पुनःनिर्माण गर्नुपर्ने बताए । विकासको नाममा हुने यस प्रकारको विनासको तत्काल विकल्प खोजिनुपर्ने र धार्मिक आस्थासँग जोडिएको वरपिपलको चौतारीलाई पुनः अन्य सार्वजनिक स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने सापकोटाको भनाइ छ । बढ्दो मानव बस्ती र फैलिँदो सडक सञ्जालको चेपुवामा पुराना चौतारा परेका सापकोटाको भनाइ छ । स्थानीय तहका प्राथमिकताका विषयमा ग्रामीण क्षेत्रको मौलिकता र पहिचान बचाउने काम समेटिनुपर्ने भए पनि उनीहरूको चासो कम देखिएको सापकोटाले बताए । धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्वपूर्ण मानिने वर–पिपलका रूख सडक विस्तारका क्रममा संरक्षण नहुँदा गाउँघरबाटै लोप हुने अवस्थामा पुगेका उनको भनाइ छ । अन्य ५० रुखबाट प्राप्त हुने अक्सिजनको मात्रा पिपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । रासस

सेलायो कास्की र बागलुङ सुरुङ मार्गको चर्चा, बजेट छुट्याएर पनि भएन काम

गण्डकी । कास्कीको हेम्जा–नयाँपुल र बागलुङको बिहुँ–नरेठाँटी सुरुङ मार्गको सम्भाव्यता अध्ययनमा ढिलाइ भएको छ । समयमै अध्ययन नहुँदा आयोजना निमार्ण धकेलिँदै गएको छ । वर्षौँअघि घोषणा भएका सुरुङ मार्ग गतिहीन बनेपछि अहिले चर्चासमेत हुन छाडेको छ । सडक विभागले हेम्जा–नयाँपुल सुरुङ मार्गको चार वर्ष पहिले नै प्रारम्भिक अध्ययन थालेको थियो । उक्त सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन हुनै बाँकी छ । पोखरा–बागलुङ राजमार्गमा पर्ने हेम्जा–नयाँपुल सुरुङ मार्ग बनेमा डेड घण्टाको सडकमार्ग १५ मिनेटमा छोटिनेछ । अहिले हेम्जा–नयाँपुलको दुरी ४० किमि छ । सुरुङ मार्गले त्यसलाई सातदेखि आठ किमिमा घटाउने अनुमान गरिएको छ । यसले प्रदेश राजधानी पोखरालाई पर्वतसहित धवलागिरिका चारै जिल्लालाई जोड्छ । पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले सरकार सुरुङ मार्ग अध्ययनकै प्रक्रियामा अलमलिएको बताए । ‘यो सुरुङ मार्ग बनाउनुपर्छ भन्ने हाम्रो पहिलेदेखिकै माग हो, अध्ययनका लागि बजेट पनि छुट्टिने गरेको छ, तर आयोजनामा खासै प्रगति भएको देखिन्नु,’ उनले भने, ‘गण्डकी प्रदेशकै पर्यटन र आर्थिक विकासमा यो सुरुङ मार्ग कोशेढुङ्गा बन्छ, यसलाई अगाडि बढाउनुपर्छ ।’ चीन जोड्ने कालीगण्डकी करिडोरसमेत यस क्षेत्रमा पर्ने हुँदा सुरुङ मार्गले अन्तरदेशीय पारवहन र पर्यटनमा उल्लेख्य टेवा पुग्ने अध्यक्ष अधिकारीले बताए । सुरुङ मार्गबाट नयाँपुलमा जोडिएपछि पर्वतको सदरमुकाम कुश्मा हुँदै जाने लोकमार्ग बागलुङ–पर्वतको सीमास्थल मालढुङ्गामा करिडोर काटेर पश्चिम लाग्छ । दक्षिणबाट गुल्मी हुँदै आएको कालीगण्डकी करिडोर बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै उत्तर कोरोला नाका जोडिन्छ । सडक विभागका सुरुङ मार्ग हेर्ने इञ्जिनियर सोनी श्रेष्ठले हेम्जा–नयाँपुल सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन छिट्टै सुरु हुने जानकारी दिए । ‘पूर्वसम्भाव्यता अध्ययनको रिपोर्ट आइसकेको छ, अब विस्तृत सम्भाव्यता अध्ययनको काम अगाडि बढ्छु,’ उनले भने, ‘अध्ययनमै समय लाग्छ, प्रतिवेदन आउनुप¥यो, सुरुङ मार्ग निर्माण कहिले र कसरी सुरु हुन्छ यसै भन्न सकिँदैन ।’ उक्त सुरुङ मार्ग अध्ययनका लागि सरकारले चालु आवमा एक करोड ५० लाख बजेट छुट्टाएको थियो । सुरुङ मार्ग अध्ययनका लागि परामर्शदाता कम्पनीसमेत छनोट गरिसकेको विभागले जनाएको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, पोखराका प्रमुख ललिजन खनालले सुरुङमार्गबारे आफूहरुलाई कुनै जानकारी नआएको बताए । सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमार्फत सुरुङमार्ग अध्ययनको काम हुँदै आएको छ । लोकमार्गअन्तर्गत बागलुङको बिहुँ–नरेठाँटी जोड्ने सुरुङ मार्गको त प्रारम्भिक अध्ययनसमेत हुन सकेको छैन । सरकारले गत वर्ष नै उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा उक्त सुरुङ मार्गका लागि रु ५० लाख बजेट छुट्टाएको थियो । बिहुँ–नरेठाँटी सुरुङ मार्ग आयोजनाबारे बेलाबेला चर्चा चल्ने गरे पनि पहिलोपटक बजेटमा समेटिएको थियो । तर आर्थिक वर्ष सकिनै लाग्दा पनि आयोजना अध्ययनको काम सुरु हुन सकेको छैन । बागलुङ–२ का सासंद देवेन्द्र पौडेलले बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बताए । ुरातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छु, उनले भने, ुयसमा हामीले पनि सुरुदेखि नै पहल गरिरहेका छौँ ।ु सांसद पौडेलले उक्त सुरुङ मार्ग निर्माण हुन सके मध्यपहाडी लोक मार्ग भएर यात्रा गर्ने कैयन जिल्लाका सर्वसाधारणदेखि पर्यटकसम्मलाई लाभ पुग्ने बताए । काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने उक्त सुरुङमार्गले लोकमार्गमा घण्टौँ लाग्ने यात्रालाई केही मिनेटमै सीमित गर्नेछ । गलकोट–२ का अध्यक्ष हेमन्त भण्डारीले बजेटमै पर्दा पनि सुरुङ मार्गको काम अघि नबढ्नु दुःखद् भएको उल्लेख गरे । उनका अनुसार केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरुङ मार्ग बन्ने ठाउँको स्थलगत अवलोकन भने गरेका थिए । ‘एकपटक ठाउँ हेर्ने काम भएको थियो, त्यतिबेला केही आशा पलाएको थियो, त्यसपछि फर्केर कोही आएका छैनन्,’ अध्यक्ष भण्डारीले भने, ‘अध्ययनसमेत हुन नपाइ आयोजना सुस्ताउने स्थिति देखिएको छ ।’ उक्त सुरुङ मार्गले यातायातसँगै त्यस क्षेत्रको आर्थिकरसामाजिक विकासमा टेवा पु¥याउने विश्वास लिइएको छ । सरकारले घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङ मार्ग निर्माणको नीति लिएको छ । चालु आवमा २४ सुरुङ मार्ग आयोजनाका लागि सरकारले एक अर्ब १९ करोड ६० लाख बजेट छुट्टाएको थियो । सडक विभागले ‘सुरुङ मार्ग विकास कार्यक्रम’ मार्फत सुरुङकमार्गको निर्माण र अध्ययनलाई अगाडि बढाएको छ । रासस