बेनी-दरवाङ-ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
म्याग्दी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दी-बागलुङ-पुर्वी रुकुम जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा म्याग्दीबाट निर्वाचित सांसद खमबहादुर गर्बुजाले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रक्रिया अघि बढेको जानकारी दिए । ‘बेनी–दरवाङ–ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘साथै म्याग्दीलगायत हिमाली जिल्लाले राज्यबाट विशेष सहुलियत पाउनुुपर्छ भन्नेमा सरकार सकारात्मक रहेको जानकारी गराउँदछु ।’ सांसद गर्बुजाले २०७६ सालमा म्याग्दीलाई नेपालको २१औं हिमाली जिल्लामा सूचीकृत गरे पनि स्थानीय तहले पाउने बजेट, यहाँका नागरिक र कर्मचारी, सेना, प्रहरीले सुविधा पाउन नसकेको, मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–ढोरपाटन सडक ओझेलमा परेको र सेवानिवृत्त ब्रिटिस गोर्खा सैनिकको समस्यामा विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । भौगोलिक रूपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रुपमा राष्ट्रिय महत्व राख्ने बेनी–दरवाङ–ढोरपाटन सडकको म्याग्दीतर्फ थप १९ किलोमिटर मार्ग खोल्न बाँकी छ । काठमाडौं र पोखरादेखि बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने यो छोटो दुरीको सडक भएको सांसद गर्बुजाले बताए । बेनीदेखि मुना हुँदै खोरीयासम्म ५० किलोमिटर सडकको मार्ग खुलिसकेको र ढोरपाटनदेखि जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । ‘बेनीदेखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्य पहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दुरी छोटिन्छ,’ उनले भने, ‘पूर्वी रुकुमको टकसेरादेखि ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।’ १९ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र संघीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । म्याग्दीका सरोकारवालाले खोरिया पुगेको सडकलाई ढोरपाटन हुँदै पूर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा यो सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पूर्वी रुकुमका जनप्रतिनिधिसँग छलफल र पहल थालेका छन् । गण्डकी प्रदेश सरकारले बेनी–दरबाङ–धारापानी–ताकम–मुनासम्मको सडक कालोपत्र गर्ने र मुनादेखि जलजला हुँदै ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिएर संघीय सरकारलाई सिफारिस गरेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए । सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उनको भनाइ छ । ‘म्याग्दी हुँदै ढोरपाटन पुगेर बुर्तिबाङ हुँदै लुम्बीनी र पोखरा पुग्ने पर्यटन मार्ग पनि बन्ने भएकाले यो सडकलाई प्रदेशको महत्वपूर्ण योजनामा समेटेका छौँ,’ उनले भने, ‘बेनीदेखि दरवाङ हुँदै धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडक कालोपत्र गर्ने योजना अघि बढेको छ । ढोरपाटनलाई सडकले जोड्ने योजनाका लागि संघीय सरकारलाई प्रस्ताव गरेका छौं ।’ प्रदेश सरकारमार्फत बेनीदेखि मङ्गला गाउँपालिका–२ सिमसम्म १२ किलोमिटर सडक कालोपत्र भइसकेको छ । सिमदेखि लाम्पाटा–४ किलोमिटर र लाम्पाटादेखि दरवाङको आठ किलोमिटर सडक कालोपत्र गर्न सञ्चालित योजना निर्माणले तीव्रता पाएको छ । दरवाङदेखि धारापानीसम्म सात किलोमिटर सडक ग्राभेल भएको छ । दरवाङ–मुना जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न रु एक अर्ब ६६ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको धवलागिरि गाउँपालिकाले जनाएको छ । विसं २०६४ मा मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक विसं २०७४ देखि स्तरोन्नतिको काम थालिएको थियो । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले चासोका साथ हेरिएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन तथा योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ । रासस
‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर-काफलचौर-सल्यान-भर्जुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताए । ‘चन्दा र तत्कालीन गाविस–जिविसको बजेट परिचालन गरेर मार्गमात्र खोलिएको सडक साँघुरो, ग्रेड र घुम्ती नमिलेका कारण दुर्घटनाको जोखिम थियो’, उनले भने, ‘सडक स्तरोन्नति भएपछि यात्रा अवधि छोटिने, सुरक्षित र सहजरूपमा आवतजावत गर्न सकिनुका साथै गाडी र ढुवानी भाडा घट्ने अपेक्षा गरेका छौँ ।’ सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा गण्डकी प्रदेश सरकारले रु ६० लाख र मङ्गला गाउँपालिकाले रु ४० लाख विनियोजन गरेका छन् । गत पुस ५ गते ७१ लाख ४० हजार पाँच सय ७६ रुपैयाँमा ठेक्का सम्झौता गरेको जयदुप्चे निर्माण सेवाले सडक निर्माणलाई तीव्रता दिएको मङ्गला गाउँपालिकाका सबइन्जिनियर तथा पूर्वाधार शाखा प्रमुख रुपेन्द्र अधिकारीले बताए । ‘काफलचौर-सल्यान खण्डको अप्ठ्यारो सडक विस्तार, ग्रेड र घुम्ती सुधार गरी नाली, पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘छ मिटर चौडाइका दरले दुई सय ५० मिटर लम्बाइमा सडक ढलान गर्ने तयारी भएको छ ।’ ढलानका लागि शुक्रबारदेखि सो सडकमा सवारीसाधन आवतजावत बन्द गरिएको छ । आगामी असार १० गतेसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा तीन महिना अगाडि नै फागुन महिनाभित्र सम्पन्न गर्ने तयारीसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको दुप्चेश्वर निर्माण सेवाका सुपरभाइजर श्यामहरि पण्डितले बताए । यस सडक काफलचौर, सल्यान, भरजुला, थाइवाङ, भाइवाङ र हिदीका करिब एक हजार घरधुरीले प्रयोग गर्छन् । सडकको प्रवेशविन्दुमा पर्ने काफलचौर क्षेत्रमा गत वर्ष ५० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत एक सय ७८ मिटर ढलान भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए । सडकको भरजुला-थाइवाङ खण्डमा गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत ३० लाख बजेटबाट ढलानसहितको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया अघि बढेको छ । गाउँपालिकाले ठेक्का लगाउँदा बचेको नौ लाख रुपैयाँ बजेट काफलचौर–सल्यान खण्डको स्तरोन्नतिका लागि विनियोजन गरेको छ । यो मङ्गला गाउँपालिकाको केन्द्रबाट बस्ती जोड्ने प्राथमिकताप्राप्त आयोजना भएको वडाध्यक्ष खाती क्षेत्रीले बताए । रासस
विकट गाउँमा सडक पुगेपछि स्थानीय हर्षित
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो । सरोकारवाला निकायको कम ध्यान जाँदा पुरानो गाउँमा ढिला सडक पुगेको हो । नगरपालिकाको १७ लाख रुपैयाँ लागतमा यस गाउँमा सडक पुगेको ढोरपाटन–६ का वडाध्यक्ष उमेश बुढा मगरले बताए । करिब एक घण्टाको दूरीमा रहेका गाडीखोला र मोराङ गाउँमा वर्षौंपहिले सडक पुगे पनि पुरानो गाउँमा लामो प्रयासपछि यही महिना सडक पुगेको उनको भनाइ छ । गाउँमा सडक पुग्नुभन्दा पहिले यहाँका हजारौँ नागरिकले बजारबाट सामान ढुवानी गर्दा साह्रै समस्या खेप्ने गरेको भन्दै गाउँमा कोही बिरामी पर्दा बोकेरै अस्पताल पुर्याउने स्थिति रहेको उनले बताए । मोटरबाटोले स्थानीयको वर्षौंदेखिको समस्या समाधान गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ । सडक गाउँसम्म पुर्याउनका लागि यस वर्ष नगरपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन भएको थियो । अघिल्लो वर्षसम्म ११ लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् । करिब २६ घरधुरी रहेको पुरानो गाउँका अधिकांश स्थानीय कृषि र पशुपालनमा आबद्ध रहेको हुँदा अब यहाँ उत्पादन भएका वस्तु बजारसम्म पुर्याउन र बजारबाट सामान ल्याउन सहज हुने बुढा मगरको भनाइ छ । ‘भौगोलिक विकटताका कारण अहिलेसम्म यो गाउँमा सडक पुग्न सकेको थिएन, बजेट पनि कम पर्ने गथ्र्यो, यस वर्ष मात्रै गाउँसम्म सडक ल्याउन सफल भयौँ, अब यहाँका नागरिकले बजार जान पैदल हिँड्नुपर्ने छैन, मोटरबाटो भेट्न एक घण्टा हिँडेर गाडीखोला र मोराङ पुग्नुपथ्र्यो, अब बस्तीमै बाटो आयो,’ अध्यक्ष बुढा मगरले भने, ‘सडक पुगे मात्रै अरू विकास गर्न सहज हुने हुँदा अहिलेसम्म पछाडि परेको यो ठाउँमा अब अन्य विकासका पूर्वाधार पनि बन्दै जानेछन् ।’ पुरानो गाउँमा मोटरबाटो पुगेपछि यस क्षेत्रका सबै बस्ती सडकले जोडिएको अध्यक्ष बुढा मगरको भनाइ छ । गत मङ्सिरमा भित्रीवन गाउँ सडकले जोडिएको उनले जानकारी दिए । झण्डै १६ घरधुरी रहेको भित्रीवनका स्थानीयले पनि घन्टौँ हिँडेर मात्रै गाडीको सुविधा लिने गरेका थिए । यहाँ सडक पुर्याउन नगरपालिकाले गत वर्ष ४ लाख र यस वर्ष २ लाख रुपैयाँ विनयोजन गरेको अध्यक्ष बुढा मगर बताउँछन् । सो गाउँ नजिक रहेको ढोरपाटन सडकको करिब ११ किलोमिटर सडक कालोपत्र हुने तयारीमा छ । ढोरपाटन जोड्न ६ किलोमिटर बाँकी रहेको उनको भनाइ छ । ढोरपाटनको छन्तेङ जोड्ने गरी निर्माण भएको सडक सिकार आरक्षले अवरोध पुर्याउँदा काम रोकिएको हो । नगर उपप्रमुख धनबहादुर कायतले भौगोलिक कठिनाइका कारण धेरै गाउँमा अहिलेसम्म मोटरबाटो पुग्न नसकेको भन्दै नगरपालिकाले प्राथमिकतामा राखेर ट्र्याक खोल्न थालेको बताए । जिल्लामा दुर्गम मानिने ठाउँमा केन्द्र र प्रदेश सरकारबाट कम बजेट पर्दा अहिलेसम्म सबै ठाउँमा सडक सञ्जाल पुर्याउन नसकेको उनको भनाइ छ । नगरपालिकाले सीमित स्रोत साधन पनि सडक निर्माणलाई तीव्रता दिएको कायतको भनाइ छ ।उपप्रमुख कायतले भने, ‘नगरपालिकाले सबै ठाउँमा एकै पटक विकास गर्नका लागि पर्याप्त बजेट हुँदैन, क्रमैसँग सबै ठाउँमा विस्तारै विकास गर्दै गएका छौँ, अझै पनि धेरै ठाउँमा सडक पुर्याउन लागि परि रहेका छौँ, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी अन्य विकास निर्माणको गतिलाई अगाडि बढाउँदै छौँ ।’