नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने, पहाड काट्ने काम सकियो

भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरु भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए । ‘अब पहाड काट्न एक/दुई मिटर जति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन,’ उनले भने । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरु गरिएको थियो । तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए । यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन् । ६ पुलमा गाडी गुड्ने चरणमा आइपुगेको उनले जानकारी दिए । कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उनले बताए । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत एक अर्ब २८ करोड रुपैयाँ छ । सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन् ।

भोजपुरका तीन स्थानमा कुलो निर्माण

टक्सार । साना सिँचाइ कार्यक्रमअन्तर्गत यहाँ एकैसाथ तीन कुलो निर्माण सुरु छ । भोजपुर नगरपालिका–८ एकैपटक तीन वटा पक्की कुलो बन थालेपछि किसान उत्साहित बनेका छन् । कुलो बनेसँगै सहजरुपमा हिउँदे तथा बर्खे खेती गर्न पाइने भएपछि कृषकमा उत्साह थपिएको हो । सिँचाइ अभावमा वर्षाको भरमा खेती गर्न बाध्य यहाँका किसान व्यवस्थित पक्की कुलो बनेपछि खेतीमा सहजता देखिएको स्यालेखण्ड सिँचाइ कुलो निर्माण समितिका अध्यक्ष भगिरथ कठेतले बताए । उनका अनुसार बन्दै गरेको कुलोले करिब तीन सय बढी रोपनी खेतीमा सहजता हुनेछ । केन्द्र, प्रदेश र नगरपालिकाको २० प्रतिशतका दरले र स्वीस सरकारको ३० प्रतिशत अनुदान र स्थानीय कृषकको १० प्रतिशत लगानीमा तीन वटा कुलो निर्माण भइरहेका छन् । वडाभित्र हाल साना सिँचाइ आयोजनामार्फत ढुङ्ग्रेबास, स्यालेखण्ड र भैसरा सिँचाइ कुलो निर्माणको चरणमा छन् । तीन वटै कुलोका काम अहिले तीव्ररुपमा अगाडि बढिरहेको वडाध्यक्ष नवीन प्रधानले बताए । उनका अनुसार निर्माणाधीन तीन वटै कुलो बनेपछि करिब एक हजार बढी रोपनी क्षेत्रफलमा सिँचाइको पहुँच पुग्नेछ । जनप्रतिनिधिसहित वडाका सरोकारवालाको सहभागितामा निर्माणको अनुगमन तथा निरीक्षण पनि निरन्तर भइरहेको छ । बनिरहेका कुलोमा उपभोक्ता आफैं खटेकाले गुणस्तरीय काम भइरहेको अनुगमन समितिका सदस्य लक्ष्मण भुजेलले बताए । कृषकका लागि आएको उक्त आयोजनामा उनीहरू आफैं उत्साह र मेहनतका साथ प्रत्यक्ष सहभागिता जनाउनु प्रशंसनीय काम भएको समितिका सदस्य कुमार खडकाले बताए । कुलो निर्माण भएपछि धान खेतीका साथै अन्य बाली लगाउन पनि कृषकलाई सहजता हुने स्थानीय खम्बबहादुर बानियाले बताए। दीर्घकालीनरूपमा कुलो प्रयोगमा आउने गरी निर्माणमा आफैं लागिपरेकाले निर्माण गुणस्तरीय बनाइने ढुङ्ग्रेबास सिँचाइ कुलोका अध्यक्ष शम्भु खडकाले बताए । उनले भने, ‘निर्माण गुणस्तरीय बनाउनका लागि आफैँ कृषक संलग्न भएर काम गरिरहेका छौँ । वर्षौँपछि कुलो बन्न लागेको छ यो हाम्रो लागि गौरवको विषय हो ।’

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् । धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज शिलान्यास गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उक्त सचिवालयका अनुसार १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण हुने पुलको लम्बाइ ६ सय मिटर लामो हुनेछ । ‘डबल लेन’को यो पुल निर्माणपछि दुवै जिल्लाका जनतालाई आवागमनका साथै यातायातका साधन सञ्चालन गर्न सहज हुनेछ ।