तनहुँ जलविद्युतमा १७ सय बढी स्थानीयलाई रोजगारी, भौतिक प्रगति ५१.४४ प्रतिशत

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामा तनहुँभित्रका एक हजार सात सयभन्दा बढीले रोजगारी पाएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको आयोजनाको विभिन्न प्याकेजमा तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका हुन् । प्रभावित स्थानीय तह र जिल्लाभित्रका बासिन्दालाई रोजगारी दिने उद्देश्यसहित प्याकेज एक, प्याकेज दुई र प्याकेज तीन मै स्थानीयलाई रोजगारीको व्यवस्था मिलाइएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, ‘तनहुँकै सबैभन्दा ठूलो आयोजनाको काममा स्थानीयलाई नै प्राथमिकता दिएका हौँ ।’ उनका अनुसार आयोजनाबाट प्रभावित घरधुरीमध्येबाट ३२, प्रभावित वडाबाट एक हजार पाँच सय ७७ र प्रभावित क्षेत्रबाट एक सय ६१ गरी तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका छन् । त्यसमध्ये प्याकेज १ मा एक सय ३०, प्याकेज २ मा एक सय ९७, प्याकेज ३ मा २० जनाले रोजगारी पाएका छन् । त्यस्तै तनहुँ हाइड्रोपावर लिमिटेडमा ४१, पिएससीतर्फ नौ र सिडिपीमा एक हजार तीन सय ६६ जनाले रोजगारी पाएका छन् । सबै प्याकेजमा तनहुँ बाहिरका एक हजार ४१ र विदेशी एक सय ४५ जनाले रोजगारी पाएको आयोजनाले जनाएको छ । सबैमा गरी कूल दुई हजार नौ सय ५६ जनाले रोजगारी पाएका छन् । त्यसमध्ये दुई हजार छ सय ६३ पुरुष छन् भने दुई सय ९३ महिला छन् । ५१ दशमलव ४४ भौतिक, ४६ दशमलव ३४ प्रतिशत आर्थिक प्रगति निर्माण सुरु भएको पाँच वर्षको अवधिमा आयोजनाले ५१ दशमलव ४४ प्रतिशत भौतिक प्रगति गरेको छ । यस्तै ४६ दशमलव ३४ प्रतिशत आर्थिक प्रगति हासिल भएको छ । आयोजनाले तीन प्याकेजमा ठेक्कामार्फत काम गरिरहेको छ । श्रेष्ठका अनुसार प्याकेज १ मा २७ दशमलव ७५ प्रतिशत भौतिक र २३ दशमलव ८८ प्रतिशत आर्थिक प्रगति भएको छ । प्याकेज २ मा ५१ दशमलव १४ प्रतिशत भौतिक र ४४ दशमलव शून्य नौ प्रतिशत आर्थिक प्रगति भएको छ भने प्याकेज ३ मा ७६ दशमलव पाँच प्रतिशत भौतिक र ७२ दशमलव छ प्रतिशत आर्थिक प्रगति हासिल भएको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘तीनवटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ, आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।’ आयोजनाको कामलाई निर्धारित मिति सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उनले बताए । आयोजनाको महत्वपूर्ण काम रहेको बाँध निर्माण केही महिना अघिदेखि जारी छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको हो । अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताए । आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ । भूमिगत विद्युत गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खन्ने काम भइरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमलव सात किमि प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७४ टावरहरुको जग हालिएको छ । सोह्र टावरको जग संरक्षण गर्ने कार्य सम्पन्न भएको छ भने तीन स्थानमा जारी छ । यस अवधिमा निर्माण व्यवसायीले टावरका विभिन्न उपकरण छिर्कनेमा रहेको स्टोरमा आपूर्ति गरेको जनाइएको छ । आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रुपमा विद्युत आपूर्तिका लागि घिरिङ–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुई सवस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पुर्‍याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरूमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

वसन्तपुर-ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ । तमोर नदी र त्यसका सहायक खोलानालाहरुमा निर्माण भएका-हुने जलविद्युत आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरिएको हो । समुद्र सतहबाट ३ हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुङ्गेसाँघु २२० प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर छ । प्रसारण लाइनका लागि १२७ वटा टावरहरु निर्माण गरिएका छन् । वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनअन्तर्गत नै वसन्तपुर सबस्टेसनमा ६ वटा बे विस्तार भइरहेको छ । त्यसमध्ये ३ वटा बेका उपकरणहरु जडान र परीक्षण कार्य भइरहेको छ । उक्त कार्य आगामी चैतको पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण सम्पन्न भएपछि मुख्य रुपमा सानिमा मिडिल तमोर हाइड्रोपावर लि.ले ताप्लेजुङमा निर्माण गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजनाको विद्युत् प्रवाहमा कुनै समस्या नरहेको बताए । ‘वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनमा केही हप्ताभित्रमा मध्य तमोरको विद्युत् जोडिने छ, आयोजनाको हाल अन्तिम चरणका परीक्षणका कार्यहरु भइरहेको जानकारी पाएका छौं, आयोजनाको विद्युत् जोड्न वसन्तपुर सबस्टेसनमा बे विस्तारका लागि उपकरण जडान र परीक्षणका कार्यहरु भइरहेका छन्, मध्य तमोरले विद्युत् उत्पादन सुरु गर्ने वेलासम्ममा वसन्तपुर सबस्टेसनमा बे विस्तार सम्पन्न भई विद्युत् प्रवाहका लागि तयार हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘प्रसारण लाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजनाहरु निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनु पर्ने अवस्था छ’ उनले भने ’ उनले भने ‘मध्य तमोरलगायतका जलविद्युत आयोजनाहरुको विद्युत् उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।’ कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–३अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइन र ढुङ्गेसाँघुमा १३२/३३ केभी सबस्टेसन निर्माणका लागि केइसी इन्तरनेशनल, भारतसँग २०७४ माघमा २ करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता २०७५ जेठबाट कार्यान्वयनमा आएको थियो । प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने ढुङ्गेसाँघु सबस्टेसन निर्माण अन्तिम चरणमा छ । सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण गरिएको हो । कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–४अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनको दोस्रो सर्किट निर्माण र वसन्तपुर सबस्टेसनमा बे विस्तार कार्य भइरहेको छ । कुल ३५ किलोमिटरमध्ये प्रसारण लाइनमध्ये हालसम्म १५ किलोमिटर तार तानिएको छ । बे विस्तार कार्य जारी छ । यस प्याकेजका काम गर्न नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लि.सँग २०७९ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भइरहेको यस प्याकेजका सम्पूर्ण काम आगामी डेढ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ । कोशी करिडोर प्रसारण लाइन प्याकेज–१ अन्तर्गत सङ्खुवासभाको तुम्लिङ्टारबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ । प्याकेज–२अन्तर्गत सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार, बानेश्वर तथा वसन्तपुरमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ । वसन्तपुरबाट २२० केभी प्रसारण लाइन हुँदै विद्युत् इनरुवा सबस्टेसनमा पुर्याएर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुने छ । सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । कोशी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ । कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।

पाथीभरा केबुलकार निर्माण तत्काल अघि बढाउन राजनैतिक दलको चासो

ताप्लेजुङ । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ) मा केबुलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरूले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुको बैठकले केबुलकार निर्माणसम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केबुलकार निर्माणको कामलाई सहजीकरण गर्दै अधि बढ्ने निर्णय गरेका हुन् । केबुलकार कम्पनीले निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय वैठकले यो निर्णय गरेको हो । उक्त बैठकमा उपस्थित राजनैतिक दलहरुले आ–आफ्नो आधिकारिक धारणामार्फत केबुलकार निर्माणमा सहजीकरण गर्ने सहमति गरेका हुन् । बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिले केबुलकार जिल्लाको सर्वांगिण विकास, रोजगारी र पहिचानसँग जोडिएकोले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने बताएका थिए । आइएमई समूहको अगुवाईमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केबुलकार निर्माण गर्ने योजना रहेको छ । ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो ।