कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल बनाउँदै महानगर
काठमाडौं । ललितपुर महानगरको वडा नं १३ कुसुन्तीको चक्रपथमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास भएको छ । एकान्तकुना यातायात कार्यालयबाट सातदोबाटोतर्फ करिब पाँच मिटरको दूरीमा बन्न लागेको यो आकाशे पुलमा सडकको दुवैतर्फ लिफ्ट हुनेछ । ललितपुर महानगरपालिकाको रु चार करोड ६८ लाख नौ हजार पाँच सय ६१ को लागतमा निर्माण सम्पन्न हुनेछ । एक वर्षभित्र निर्माण सम्पन्न हुने उक्त अपाङ्गमैत्री आकाशे पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले आज विशेष पूजासहित शिलान्यास गरेका हुन् । आकाशे पुल निर्माणका लागि निर्माण व्यवसायी लामा/प्रगति/मणि/बुद्ध जेभीले महानगरसँग फागुन २० गते सम्झौता गरी २१ गतेदेखि १२ महिनाभित्र काम सम्पन्न गर्नेगरी ठेक्कामा लिएको महानगरका वरिष्ठ डिभीजनल इञ्जिनीयर प्रदीप पौडेलले जानकारी दिए । यो आयोजनाको परामर्शदाता डिबी मल्टी इञ्जिनियरिङ प्राइभेट लिमिटेड रहेको छ । पुलको पाँच वर्षसम्मको मर्मतसम्भार निर्माण व्यवसायीले नै गर्नु पर्नेछ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गदै महानगर प्रमुख महर्जनले महानगरपालिकाले नयाँ नौलो काम गर्न रुचाउने बताउदै यो सम्भवतः नेपालमै पहिलो भएको बताए । ‘यो क्षेत्रमा दुर्घटना भएर १७ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । महानगरवासीलाई बचाउनका लागि यो काम गर्न धेरै मेहनत गर्नुपर्यो । अब पुल निर्माणका क्रममा कुनै पनि तहबाट बाधा व्यवधान हुँदैन भन्ने प्रतिबद्धता जनाउँछौँ । निर्माण व्यवसायी, परामर्शदाताबाट पनि यो काममा कुनै विलम्ब नहोस्’, प्रमुख महर्जनले भने । उनले कुनै पनि आयोजना समयमा सम्पन्न नहुने गरेका कारण नेपालमा ठेकेदारप्रति नकारात्मक धारणा रहेको भन्दै त्यस्तो यहाँ नहोस् भने । उनले आयोजना निर्माणमा सुरक्षा पहिलो प्राथमिकता भन्ने सिद्धान्तमा आधारित रहेर काम गर्न आग्रह गरे । प्रमुख महर्जनले आयोजना निर्माणका क्रममा गुणस्तरमा कुनै हालतमा पनि सम्झौता हुनुहुँदैन भन्दै यसका लागि निर्माण कम्पनी, परामर्शदाता र यसमा संलग्न इञ्जिनीयरले ध्यान दिने विश्वास व्यक्त गरे । उनले निर्माणका क्रममा आइपर्ने समस्या समाधान गर्न स्थानीयको सहयोग अपरिहार्य छ भन्दै निर्माणका क्रममा सहजीकरणका लागि आग्रह गरे । ललितपुर खण्डमा पर्ने चक्रपथको सात दशमलव नौ किमी सडकमा स्मार्ट स्याटेलाइट जडानका लागि ठेक्का आह्वान भई छनोटको चरणमा रहेको बताउँदै महानगर प्रमुख महर्जनले एक वर्षभित्र जडान सम्मान हुने बताए । वडा नं १३ का अध्यक्ष गणेश केसीले चार वर्षको प्रयासपछि यो पुल निर्माणका लागि सडक विभागबाट भदौ ११ गते स्वीकृत पाएको बताउदै यो क्षेत्रमा हुने सडक दुर्घटनाको जोखिम रोक्न लगातार काम गरेर समयअगावै सम्पन्न गर्न आग्रह गरे । परामर्शदाता डिबी मल्टी इञ्जिनियरिङ प्राइभेट लिमिटेडका प्रतिनिधि तथा आयोजनाका डिजाइनर विनोद न्यौपानेले सहरलाई सौन्दर्यीकरण हुनेगरी पुलको डिजाइन गरिएको बताए । निर्माण व्यवसायी लामा प्रगति–मणि बुद्ध जेभी सञ्चालक चन्द्रबहादुर लामाले निर्माण व्यवसायीले चाहेरभन्दा पनि स्थानीयको समन्वय र सहकार्यका कारण निर्माण सम्पन्न छिटो हुने बताए । उनले परामर्शदाताकोतर्फबाट कुनै परिवर्तन भएन र स्थानीयकोतर्फबाट कुनै बाधा अवरोध भएन भने समयभित्रै काम सम्पन्न हुन्छ भन्ने प्रतिबद्धता व्यक्त गरे । महानगरले बजेटको अभाव नहुने गरी सम्झौताअनुसारको रकम समयमा नै उपलब्ध गरायो भने गुणस्तरमा सम्झौता नगरी निर्माण सम्पन्न गरेर आयोजना हस्तान्तरण गर्ने उनले बताए । रासस
चैत १ गतेदेखि ४५ दिनसम्म कान्तिराजपथ बन्द गरिने
काठमाडौं । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । ‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो’, उनले भने । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो । बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ । २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईन्जिनियर महर्जनले बताए । सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ । रासस
तनहुँ जलविद्युतमा १७ सय बढी स्थानीयलाई रोजगारी, भौतिक प्रगति ५१.४४ प्रतिशत
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामा तनहुँभित्रका एक हजार सात सयभन्दा बढीले रोजगारी पाएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको आयोजनाको विभिन्न प्याकेजमा तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका हुन् । प्रभावित स्थानीय तह र जिल्लाभित्रका बासिन्दालाई रोजगारी दिने उद्देश्यसहित प्याकेज एक, प्याकेज दुई र प्याकेज तीन मै स्थानीयलाई रोजगारीको व्यवस्था मिलाइएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, ‘तनहुँकै सबैभन्दा ठूलो आयोजनाको काममा स्थानीयलाई नै प्राथमिकता दिएका हौँ ।’ उनका अनुसार आयोजनाबाट प्रभावित घरधुरीमध्येबाट ३२, प्रभावित वडाबाट एक हजार पाँच सय ७७ र प्रभावित क्षेत्रबाट एक सय ६१ गरी तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका छन् । त्यसमध्ये प्याकेज १ मा एक सय ३०, प्याकेज २ मा एक सय ९७, प्याकेज ३ मा २० जनाले रोजगारी पाएका छन् । त्यस्तै तनहुँ हाइड्रोपावर लिमिटेडमा ४१, पिएससीतर्फ नौ र सिडिपीमा एक हजार तीन सय ६६ जनाले रोजगारी पाएका छन् । सबै प्याकेजमा तनहुँ बाहिरका एक हजार ४१ र विदेशी एक सय ४५ जनाले रोजगारी पाएको आयोजनाले जनाएको छ । सबैमा गरी कूल दुई हजार नौ सय ५६ जनाले रोजगारी पाएका छन् । त्यसमध्ये दुई हजार छ सय ६३ पुरुष छन् भने दुई सय ९३ महिला छन् । ५१ दशमलव ४४ भौतिक, ४६ दशमलव ३४ प्रतिशत आर्थिक प्रगति निर्माण सुरु भएको पाँच वर्षको अवधिमा आयोजनाले ५१ दशमलव ४४ प्रतिशत भौतिक प्रगति गरेको छ । यस्तै ४६ दशमलव ३४ प्रतिशत आर्थिक प्रगति हासिल भएको छ । आयोजनाले तीन प्याकेजमा ठेक्कामार्फत काम गरिरहेको छ । श्रेष्ठका अनुसार प्याकेज १ मा २७ दशमलव ७५ प्रतिशत भौतिक र २३ दशमलव ८८ प्रतिशत आर्थिक प्रगति भएको छ । प्याकेज २ मा ५१ दशमलव १४ प्रतिशत भौतिक र ४४ दशमलव शून्य नौ प्रतिशत आर्थिक प्रगति भएको छ भने प्याकेज ३ मा ७६ दशमलव पाँच प्रतिशत भौतिक र ७२ दशमलव छ प्रतिशत आर्थिक प्रगति हासिल भएको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘तीनवटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ, आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।’ आयोजनाको कामलाई निर्धारित मिति सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उनले बताए । आयोजनाको महत्वपूर्ण काम रहेको बाँध निर्माण केही महिना अघिदेखि जारी छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको हो । अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताए । आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ । भूमिगत विद्युत गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खन्ने काम भइरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमलव सात किमि प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७४ टावरहरुको जग हालिएको छ । सोह्र टावरको जग संरक्षण गर्ने कार्य सम्पन्न भएको छ भने तीन स्थानमा जारी छ । यस अवधिमा निर्माण व्यवसायीले टावरका विभिन्न उपकरण छिर्कनेमा रहेको स्टोरमा आपूर्ति गरेको जनाइएको छ । आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रुपमा विद्युत आपूर्तिका लागि घिरिङ–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुई सवस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरूमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस