झापाका दुई खानेपानी आयोजनालाई ३२ करोड बजेट विनियोजन
झापा । सरकारले मेचीनगर नगरपालिकाको काँकडभिट्टा खानेपानी आयोजना र बुद्धशान्ति गाउँपालिकाको टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि ३१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । झापा क्षेत्र नं १ को सबैभन्दा बढी जनसङ्ख्या भएको दुई वटा वडा मेचीनगर(६ काँकडभिट्टा र बुद्धशान्ति–४ शान्तिनगरमा खानेपानी सुविधा बढाउन बहुवर्षीय ठेक्का प्रक्रियाबाट कार्य सम्पन्न गर्नेगरी अर्थमन्त्रालयबाट स्रोत सुनिश्चित गरिएको उक्त क्षेत्रका सङ्घीय सांसद विश्वप्रकाश शर्माले बताए । सांसद शर्माका अनुसार टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि १७ करोड ८९ लाख रुपैयाँ र काँकडभिट्टा खानेपानी आयोजनाका लागि १३ करोड ९७ लाख रुपैयाँ बजेट सुनिश्चित गरिएको हो । चालू आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्ममा ठेक्का प्रक्रिया सुरु भएर तीन वर्षभित्र योजना सम्पन्न हुने शर्माले जानकारी दिए । दुवै आयोजनाका लागि यही फागुन २१ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट ठेक्का प्रक्रियामा जाने र बहुवर्षीय स्रोत सुनिश्चित गर्ने सहमति भएको सांसद शर्माले बताए । जनघनत्व बढिरहेको दुवै क्षेत्रमा खानेपानी सुविधा विस्तारको खाँचो पूरा गर्न यी परियोजनाको निर्माण महत्वपूर्ण रहेको उनको भनाइ छ । झापा–१ को बाहुनडाँगी, ज्यामिरगढी, दुहागढी, धुलाबारी, चारआली र धाइजन क्षेत्रमा खानेपानी आयोजना सञ्चालन भइरहेका छन् । सांसद शर्माले धुलाबारी, बाहुनडाँगी, ज्यामिरगढी र चन्द्रगढीलगायत खानेपानी योजनामा बजेट उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए । रासस
बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै
ढोरपाटन । तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि उत्तर पश्चिममा रहेको तमानखोलाको केन्द्र बोङ्गादोभान बजारसम्मको सडक वर्षौं अगाडि ग्राभेलिङ गरे पनि अहिले हिलाम्मे र धुलाम्मे बनेको छ । विसं २०७० सालमा पहिलोपटक यस क्षेत्रमा सडक पुगेको थियो । बुर्तिबाङ बजारदेखि ११ किलोमिटर दूरीमा रहेको बोङ्गादोभान सिङ्गो तमानखोलाको प्रवेशद्वार नै हो । बुर्तिबाङ बजारदेखि तमानखोला–३ तमान गाउँ र वडा नम्बर ४ लाम्मेला ढोरपाटन नगरपालिकाको खुङ्गा हुँदै पुग्न सकिने भए पनि अन्य वडामा बोङ्गा दोभानबाटै पुग्नुपर्छ । दुर्गम पालिकालाई पक्की सडकले जोड्ने गरी गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २३ करोड २६ लाख २९ हजारको स्रोत सुनिश्चित गरेको छ । बहुवर्षे ठेक्का प्रक्रियामार्फत बुर्तिबाङ–बोङ्गादोभान सडक कालोपत्रे गरिने भएको छ । ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन् । भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा विस्तारै विकासले गति लिन थालेको छ । अग्ला–अग्ला पहाड र खोँच छिचोल्दै बस्ती पुगिने हुँदा सडक पनि साह्रै साँघुरा र अप्ठ्यारा छन् । साँघुरा सडकका कारण समय–समयमा दुर्घटना हुँदा नागरिकले अकालमा ज्यानसमेत गुमाउने गरेका छन् । बागलुङ क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले अब दुर्गमका नागरिकले पनि पक्की सडकमा यात्रा गर्न पाउने बताए । सडकसँगै अन्य विकासमा तमानखोला पछाडि परेको भन्दै अब भने यहाँका जनताले दुर्गममा भएको अनुभूति गर्न नपर्ने उनको भनाइ छ । प्रदेशसभा सदस्य कुँवरले लामो समयको प्रयासपछि यस वर्ष तमानखोलाको मुख्य सडक कालोपत्रेका लागि बजेट व्यवस्थापन गर्न सकेको बताए । पालिकाको बजेटले नभ्याउने, केन्द्र र प्रदेशबाट बजेट नपर्दा अहिलेसम्म विकासमा पछि परेको उनी बताउँछन् । प्रदेश सरकारमा आफूले ठूलो कसरत गरेपछि मात्रा बजेट व्यवस्थापन गर्न सफल भएको उनको भनाइ छ । तीन वर्षमा सक्ने गरी ठेक्का अगाडि बढ्ने भन्दै यस वर्ष पाँच करोडको काम हुने उनले बताए । उनले भने, ‘अहिलेसम्म तमानखोलामा कतै पनि कालोपत्रे सडक छैन, अब तमान खोलावासीले पनि कालोपत्रे सडक देख्न र यात्रा गर्न पाउने छन्, यो बहुवर्षे योजना हो, एकै वर्षमा सकिँदैन, तीन वर्षसम्म सक्नुपर्नेछ, यस वर्ष पाँच करोड विनियोजन भएको, बजेट पनि निरन्तर आउने आउने काम पनि हुँदै जानेछ, योसँगै बोङ्गा दोभान–खुङ्खानी नर्जाखानी, थास्पुरी तमान जोड्ने २२ किलोमिटर सहरी सडक पनि स्तरोन्नतिका लागि डिपिआर गरेका छौँ भने घट्टबोट र धोमइघाटमा मोटरेबल पुल निर्माणका लागि पनि डिपीआर भएको छ ।’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पालिकाको सीमित स्रोत साधनले सडक कालोपत्रे गर्न नसकिएको बताए । पुल निर्माण र सडक कालोपत्रेका लागि ठूलो बजेट चाहिने तर पालिकाको बजेटले नपुग्ने हुँदा वर्षौंदेखि यहाँका हजारौँ नागरिक कच्ची सडकमै यात्रा गर्न बाध्य भएको उनको भनाइ छ । बुर्तिबाङ बजारदेखि बोङ्गा दोभानसम्म जोड्ने सडकमा दुई वटा पुल बनेका छन् । ढोरपाटन –३ को हुँद्रा फेदी खोला र तमान खोलाको बालिबाङ खोलामा पुल नबन्दा बर्खामा यातायात ठप्प हुने स्थिति थियो । तीन वर्ष अगाडि हुँदा फेदी र दुई वर्ष अगाडि बालिबाङ खोलामा पक्की पुल बनेपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेको अध्यक्ष बुढा मगरले बताउनुभयो । अप्ठ्यारो सडकका कारण यात्रा गर्न र सामान ढुवानीमा समस्या हुने भन्दै छोटो दूरीमा पनि धेरै भाडा तिर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ । ‘सडक कालेपत्रे गर्न त हामीले चाहेर पनि सकिदो रहेनछ, एक किलोमिटर सडक कालोपत्रे गर्न लाखौँ रकम चाहिँदो रैछ, यति लामो सडक कालोपत्रे गर्न त पालिकाले एक आर्थिक वर्षको सबै बजेट यहीँ खन्याउँदै पनि पुग्दो रहेनछ’, उनले भने, ‘विगतमा माथिल्लो सरकारबाट निकै कम बजेट आयो, त्यसले कामनै गर्न सकिएन, यस वर्ष गण्डकी प्रदेश सरकारले स्रोत सुनिश्चित गरेर काम अगाडि बढाउन थालेको छ, यसले यहाँका नागरिकलाई सहज बनाउने छ ।’ सडक कालोपत्रेको काम पूर्वाधार विकास कार्यालयमार्फत हुनेछ । गण्डकी प्रदेश अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेपछि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर दिपेश रिगलले जानकारी दिए । अब तत्काल कार्यालयले सडकको काम अगाडि बढाउने भन्दै ठेक्का प्रक्रियामा गएर काम गर्ने उनको भनाइ छ । रासस
पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो । सडक र पैदलमार्ग निर्माण भएपछि स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ । गलेश्वर मन्दिरदेखि कालीगण्डकी नदी जाने बाटो निर्माण समितिका अध्यक्ष बमबहादुर पुनले पाँच मिटर चौडाइ भएको १२५ मिटर लामो सडक ढलान गरेको जानकारी दिए । “सडकको डिलतर्फ रेलिङ र स्लेट ढुङ्गा बिछ्याएर पैदलमार्ग बनाइएको छ”, उनले भने, “साँघुरो र उकालो ग्रेड नमिलेको सडकलाई भित्ता काट्ने, पर्खाल बनाएर फराकिलो र ग्रेड मिलाइएको छ ।” सडक बनेपछि गलेश्वरको खेलमैदान र सभाहलसम्म सवारी साधन लैजान सकिने भएको छ । गलेश्वर मन्दिरदेखि राममन्दिर जोड्ने झोलुङ्गे पुल नजिकै सडक पुगेको हो । झोलुङ्गे पुलदेखि कालीगण्डकी नदीको किनारसम्म पुग्ने करिब ७० मिटर ढलान गरेको पैदलमार्ग गलेश्वर ज्येष्ठ नागरिक आश्रममा बस्ने हिदीका बमबहादुर शेरपुञ्जाले व्यक्तिगत लगानीमा बनाएका हुन् । ४२ लाख ६७ हजार २३९ को लागतमा सडक र पदमार्ग निर्माण भएको उपभोक्ता समितिका समितिका सचिव रामबहादुर बानियाँले बताए । ‘सो योजनाका लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट ४० लाख बजेट विनियोजन भएको थियो,’ उनले भने, ‘उपभोक्ताको तर्फबाट चार लाख २७ हजार २३९ बराबरको लागत साझेदारी भएको छ ।’ विस २०८१ जेठ २५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत पुष २५ गते सम्झौता भएको थियो । उपभोक्ता समितिको सक्रीयताका कारण लक्ष्यभन्दा तीन महिनाअघिनै योजना निर्माण सकिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर मुक्तिनाथ प्रवेशद्वारको रुपमा परिचित छ । साउन महिनाको सोमबार, बालाचर्तुदर्शी र शिवरात्रि पर्वमा बिशेष मेला लाग्ने गलेश्वरमा दैनिक पूजा र दर्शन गर्न सकिन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।