मर्मतपछि रसुवागढी जलविद्युत् केन्द्रबाट ६८ मेगावाट राष्ट्रिय प्रसारणमा
रसुवा । गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ । एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवम् नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार मर्मत सुधारपश्चात् ३७ मेगावाट गत मङ्सिर महिनामा र ३१ मेगावाट हालै उत्पादन गरिएको हो । सफाइ एवम् मर्मत बाँकी नै रहेको र अर्कोतर्फ क्षमता अनुसार उत्पादन गर्न बाँकी ४३ मेगावाट आगामी जेठ–असारबाट उत्पादन हुने जनाइएको छ । पानीको प्रवाह घट्न गएका कारण सुक्खायाममा विद्युत् उत्पादन घट्ने जलविद्युत् केन्द्रले जनाएको छ । बाढीका कारण उपकरण तथा संरचनामा क्षति पुग्दा जलविद्युत् केन्द्रले तीन अर्ब ५१ करोड रुपैयाँ क्षति बेहोर्नुपरेको थियो ।
पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
कास्की । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड) को तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौंसम्म जोड्ने यस राजमार्ग एशियाली विकास बैङ्क(एडिबी)को ऋण सहयोगमा चार वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ । योजनाको यसअघि दुई पटक म्याद थप गर्दासमेत काम तोकिएको समयमा सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीको मागअनुसार सडक विभागले २०८३ असार १५ गतेसम्म समय थप गरिदिएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । उनले भने, ‘दोस्रो पटकसमेत तोकिएको समयमा काम नसकिएको र ७५ प्रतिशत मात्र भौतिक प्रगति भएपछि हालै पुनःनिर्माण अवधि बढाइएको छ । अब थपिएको समय चालू आर्थिक वर्षमा चार तथा छ लेन सम्पूर्ण सडक खण्ड निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’ योजनाका अनुसार पछिल्लो पटक थप गरिएको म्याद गत डिसेम्बर अन्त्यमा सकिएपछि ६ महिना बढाइएको हो । सडक मापदण्डभित्रको विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरण तथा रुख कटानमा ढिलाइलगायतका कारणले योजना सम्पन्न हुन ढिलाइ भएको बताइन्छ । यो योजनाको पश्चिम खण्ड अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती नदीपुलसम्मको ३८ दशमलव ८८ किमी पर्छ । योजना प्रमुख कुँबरले हालसम्म यस खण्डको तीन चौथाई काम सम्पन्न भएको जानकारी दिए । प्रथम तहको कालोपत्रे ३७ किमी सकिएको छ । त्यसैगरी दोस्रो तहको कालोपत्रे गर्ने काम करिव ३४ किमी पूरा भएको छ । एकतर्फी कालोपत्र गर्न अब एक किमी बाटो मात्र बाँकी रहेको कुँबरले जानकारी दिए । त्यसैगरी जामुनेबाट ‘सडक मार्किङ’, ‘थर्मोप्लास्टिक पेन्ट’ र ‘रोड सेफ्टी ब्यारिएर’ राख्ने लगातका काम समेत सुरु भएको छ । यस योजनाको चालू आवमा थप ११ किमी चार लेनमा प्रथम तहको र ३० किमी चार लेनमा दोस्रो तहको अस्फाल्ट कालोपत्रे गरिएको छ । यस खण्डमा एक वटा पुल र दुई वटा कल्र्भट निर्माणसमेत यसै अवधिमा सम्पन्न भएको छ । मुग्लिन–पोखरा पश्चिम खण्डको विसं २०७८ जेठ २ गते निर्माण सम्झौता भएर विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माण गर्न चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनसँग सात अर्ब ४० करोडमा ठेक्का सम्झौता गरिएको थियो । विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक १०१ दिनका लागि म्याद थप भएको थियो । यसपछि दोस्रोपटक विसं २०८१ पुसमा एक वर्ष म्याद बढाइएको थियो । रासस
धोवीखोला नदी करिडोर सडक मर्मत धमाधम
काठमाडौं । काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी विकास मन्त्रालय मातहतको काठमाडौं उपत्यकाका विकास प्राधिकरण र काठमाडौं महानगरपालिको समन्वयमा धोवीखोला करिडोरको बागमती दोभानदेखि चावहिलको बैजनी पुलसम्मको करिडोर सडकको दायाँ र बायाँ दुवै किनारको मर्मत धमाधम भइरहेको छ । धोवीखोला करिडोर प्राधिकरणको क्षेत्राधिकारमा पर्दछ । हाल करिडोरको दायाँ किनारको सडकको मर्मत सकिएको छ । बायाँ किनारतर्फको काम हुँदैछ । प्राधिकरणले धोवीखोला करिडोर तथा कपन-वूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना क्षेत्रको बाटोमा खाल्डाखुल्डी भएकाले व्यापक जनगुनासो रहेको र उक्त बाटो यथाशीघ्र गर्नुपर्ने भएकोमा आयोजनाको बजेट रोक्का र अपुग भएकाले मर्मतका लागि काठमाडौं महानगरपालिकाका अनुरोध गरेको थियो । प्राधिकरणको अनुरोधमा काठमाडौं महानगरपालिकाबाट सडक मर्मत भइरहेको छ ।