अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

वागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । ‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ’, उनले भने, ‘टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ ।’ पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिने छ । मोतिहारी-अमलेखगञ्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ । दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्याङ्क’, दुई सय ५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्याङ्क’, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरेको प्रमुख उपाध्यायले बताए । पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गर्ने सम्झौता भएको छ । एउटै पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्नेछ । रासस

२५ करोड लागतमा वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोड रुपैयाँ लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो । ‘सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गर्नुपर्ने हो,’ निर्माणमा संलग्न इन्जिनियर विकास श्रेष्ठले भने, ‘ठेक्काको समयावधि सकिन एक वर्ष बाँकी छ, एक वर्षभित्र जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ काम गरिरहेकाका छौँ ।’ पिलर ठड्याउन पाइलिङ भइरहेको तथा बर्खाअगावै पिलर खडा गरिसक्ने उनले बताए । स्थानीय दुग्ध व्यवसायी शिवचरण रानाले वर्षात्का बेला नदी तर्न नसकेर कलुवापुर हुँदै धनगढी जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै पुल निर्माणपछि छोटो बाटोबाट एक घण्टाआगावै धनगढी पुग्न सकिने बताए । वडाध्यक्ष नवलसिंह रानाले नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघिको बाढीमा क्षतिग्रस्त भएपछि तिलकी, दुवाहा र दमलपट्टिका बासिन्दालाई नदी तर्न निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको बताए । ‘नदीमा बनाइएको अस्थायी पुलमा शुल्क तिरेर स्थानीय आउजाउ गर्दै आएका थिए, बर्खामा जोखिम मोल्दै नदी तर्नुपर्ने बाध्यता थियो, पुल बनेपछि त्यो समाप्त हुनेछ ।’ पुल निर्माणका लागि लामो समयदेखि गरेको प्रयास सफल भएकामा खुसी व्यक्त गर्दै उनले भने ।

पाँचथर पावरले डाक्यो आठौं वार्षिक साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समिति बैठकले आगामी जेठ २७ गते साधारण सभा डाकेको हो । सभा काठमाडौं बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा कम्पनीको नियमावली नियम २७ (२) बमोजिम सञ्चालक समिति संख्या संशोधन गर्ने, एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चर प्रालिलाई प्राप्ति गर्ने/गाभ्ने र आयोजनामा पुनःनिर्माणका लागि कर्जा थप गर्ने लगायतका विशेष प्रस्ताव पारित हुनेछ । सभामा सञ्चालक समितिको अध्यक्षद्वारा प्रस्तुत गरिने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकले प्रस्तुत गरेकाे गत आर्थिक वर्षको लेखापरीक्षक प्रतिवेदन सहितको आय व्यय विवरण र वासलातमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुने कम्पनीले जनाएको छ । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।