३१ करोडमा सिम्जुङ-महाभिर-घ्याच्चोक सडक कालोपत्र गरिँदै

गोरखा । जिल्लाको अजिरकोट गाउँपालिकास्थित घ्याच्चोकगाउँ कालोपत्र सडकसँग जोडिने भएको छ । पूर्वाधार विकास कार्यालय गोरखामार्फत ३१ करोड ९८ लाख ९३ हजार रुपैयाँ लागतमा सिम्जुङबाट महभिर हुँदै घ्याच्चोकसम्मको सडक तीव्रगतिमा कालोपत्र भइरहेको छ । सडक कालोपत्रका लागि अहिलेसम्म सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, ग्याविन जाली भर्नेलगायत काम धमाधम भइरहेको छ । सिम्जुङ–महाभिर हुँदै घ्याच्चोकसम्मको आठ किलोमिटर बाटो कालोपत्र भएपछि घ्याच्चोकगाउँ पुग्न सहज हुनेछ । गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । तोकिएको समयमा काम भए घ्याच्चोक कालोपत्र सडकसँग जोडिने पहिलो पालिका हुने उनले बताए । बर्खा याममा सवारी आउजाउ पूर्ण रूपमा ठप्प हुने हुँदा त्यस क्षेत्रका बासिन्दालाई सदरमुकाम ओहोरदोहोर गर्न कठिन थियो ।

तीन अर्बमा बन्दै गरेको उदिपुर-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

लमजुङ । सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन दुई सय २० केभी उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइनको काम ठप्पप्रायः छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको तीन अर्ब लागतको परियोजनाको काम छ वर्षमा पनि पूरा भएको छैन । हालसम्म ७० प्रतिशतमात्र निर्माण सम्पन्न भएको परियोजनाको उदिपुर-भरतपुर डिभिजन प्रमुख नारायण रेग्मीले बताए । दुई सय २० केभी उदिपुर-मार्कीचोक-भरतपुर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सन् २०१८ जनवरी १७ देखि थालिएकामा कारोना महामारी र बन कटानीलगायत कारणले पूरा हुन नसकेको उनको तर्क छ । विसं २०८१ साउन १५ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीको म्याद थपिएको छ । आयोजनाकाअनुसार लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म ६७ किलोमिटर प्रसारण लाइन पुर्याउनका एक सय ९९ वटा टावर आवश्यक पर्नेछन् । हालसम्म एक सय २० टावरको फाउण्डेशन तयार भएको छ । गोरखा र तनहुँमा गरी १० हजार दुई सय २५ वटा रुख फडानीको तयारी भएको डिभिजन प्रमुख रेग्मीले बताए । लमजुङमा निर्माण हुने ४५ वटा टावरमध्ये ३२ सम्पन्न भइसकेका छन् । मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीच यार्डसम्म लाइन पुर्याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन प्रयोग भएको छ । उदिपुरबाट मध्यमस्र्याङ्दीसम्मको छ किलोमिटर खण्डमा १७ वटा टावर छन् । रासस

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । नाम्डोक खोलामा ५० मिटर लामो मोटरेबल पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते ६ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले हस्तान्तरणको चरणमा रहेको पुलमा सवारीसाधन सञ्चालन भएको बताए । दुई सय दुई किलोमिटर बेनी–जोमसोम कोरला सडकमा नाम्डोक खोलासहित थप ६ वटा स्थानमा पुल निर्माण भएको छन् । बेनी–जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । नाम्डोक, लोमान्थाङ, किम्लिङ र भर्मा खोलाको पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । २० मिटर लामो लोमान्थाङ खोलाको पुलको लागत ४ करोड ६८ लाख २ हजार ६ सय ३८ रुपैयाँ, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत ६ करोड ३० लाख र ८० मिटर लम्बाइको भर्माखोला पुलको लाग ६ करोड ८५ लाख रुपैयाँ हो । कालिका–गजुरमुखी जेभीले २०७६ साल चैतमा ७ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण पूरा भएको छ । सडक विभागले बिओकेआई÷हिमालयन जेभीसँग भ्याटसहित ८ करोड ३० लाख ६८ लाख ४ सय ७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको रघुगंगा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल पनि सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना मार्फत १३ वटा पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण भएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङखोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । विभागको पुल महाशाखाका अनुसार म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको छ । थासाङ गाउँपालिकाको सेतो खोलामा मोटरेबल पुल निर्माण थालिएको छ । सात ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । पर्वतको मालढुंगाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷७४ देखि सुरु भएको योजनाको हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए । ६ खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन खण्डमा विभक्त २२ किलोमिटरमा कालोपत्र भएको छ ।