सिक्टा सिँचाइमा मुआब्जाको सकस, लागत ५३ अर्ब पुग्यो
काठमाडाैं । बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । ‘चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख रूपैयाँ विनियोजन भएको थियो, जेठ मसान्तसम्म ७६ करोड ५२ लाख २७ हजार रूपैयाँ बजेट खर्च भइसकेको छ’, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने । चालु आवमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरको बाँकी कामको ठेक्का व्यवस्थापन, पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरवा तथा गोहा शाखा नहरको ठेक्का सम्झौता गरी निर्माण, गुरुवागाउँ शाखा नहर निर्माण, विभिन्न शाखा, प्रशाखा नहरका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नेलगायत काम भएको उनले बताए । सिक्टा सिँचाइ आयोजनालाई आगामी आव २०८१/८२ मा बजेट सिलिङ बढेको छ । आव २०८१/८२ को बजेटमा सिक्टा सिँचाइ आयोजनालाई एक अर्ब ६० करोड रूपैयाँ विनियोजन भएको छ । चालु आव २०८०/८१ मा सिक्टा सिँचाइलाई एक अर्ब ३५ करोड रूपैयाँ विनियोजन भएको थियो । ‘गत वर्षको भन्दा यो वर्ष केही बढाएर बजेट विनियोजन भएको छ’, इन्जिनियर पौडेलले भने, ‘अहिले हामी डुडुवा शाखा नहरको काम गरिरहेका छाैं, आगामी बजेट पनि त्यसैमा धेरै होला ।’ बाँकेको राप्ती सोनारी गाउँपालिका-२ अगैयास्थित राप्तीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो । आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजनाअनुसार आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत रु ५२ अर्ब ८९ करोड छ । सरकारले आयोजनालाई वार्षिक रूपमा कम बजेट विनियोजन गर्दै आएकाले मुआब्जा वितरणलगायत समस्या समाधानको चुनौती पनि छ ।
प्रधानमन्त्रीले हेटौंडा सबस्टेसन उद्घाटन गर्ने
बागमती । मुलुकको विद्युत प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सम्पन्न भएको छ । हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित हेटौंडा सबस्टेसनको आज यहाँ आयोजना हुने विशेष कार्यक्रममा उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिए ।
विश्व बैंकको सहयोगमा व्यास क्षेत्रको सडक स्तरोन्नति हुँदै
दमौली । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका-७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको छ । व्यास नगरपालिका-११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त कार्यको शुभारम्भ गरेका हुन् । बुल्दीखोला-बेलटारी-फराकचौर-अधेरीभञ्ज्याङ-कुमालगाउँ-समता स्कूल-कलेस्ती डक जोडिने उक्त खण्डमा १०.५५ किलोमिटर कालोपत्र हुनेछ । सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख ३५ हजार ९ सय २१ रुपैयाँमा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको हो । उक्त सडकले व्यास नगरपालिका-११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका-१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका-९ कुमालगाउँ, व्यास नगरपालिका-७ समता स्कूल, कलेस्तीलाई जोड्नेछ ।