म्याग्दीका ६०० घरमा विद्युत् सुविधा विस्तार, बिजुली बलेपछि स्थानीय भए खुसी
म्याग्दी । मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो । मालिका–२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका–४ ओखरबोटमा एक सय दुई घरमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिए । प्राधिकरणको विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका चारवटा वडामा बत्ती बलेको हो । म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि २२ करोड बजेट रुपैयाँको योजना सञ्चालन भएको छ । घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेका थिए् । वर्षौँको प्रयासपछि बिजुली बलेपछि स्थानीयमा खुसीयाली छाएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने पात्ले, लुप्सीपार, किटेनी, डाडागाउँ, औला, सेउलीबाङ, अदिभारा, इग्रे, खतेन बस्तीका तीन सय २५ घरमा विद्युतीकरण भएको उनले बताए । केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको मालिका–३ पात्लेकी बालकुमारी रोकाले बताए। विद्युत् सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य, एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न २०८० असोजमा रविन्द्र ढुंगाना जेभीसँग तीन करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सोही ठेक्कामार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका हुन् । आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ स्थानमा एक हजार चार सय ३८ उपभोक्ता थपिएका विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । गत वर्ष थपिएकासहित केन्द्रमा २३ हजार ग्राहक छन् । रासस
सञ्चालनमा आयो खिम्ती–लामोसाँघु प्रसारण लाइन, स्थायी टावर निर्माणका लागि प्रक्रिया सुरु
काठमाडौं । खिम्ती–लामोसाँघु प्रसारण लाइन सञ्चालनमा आएकाे छ । आपतकालीन पुन:स्थापना प्रणाली (ईआरएस) टावर प्रयाेग गरी सञ्चालनमा ल्याइएकाे हाे । गत असाेजकाे १२ र १३ गते परेकाे अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले १३२ केभी प्रसारण लाइनको टावरलाई क्षति पुर्याएकाे थियाे । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले शुक्रबार दिउँसो १.१५ बजे प्रसारण लाइनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको जानकारी दिए । तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४वटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको थियो । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्छ । खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनबाट आएको विद्युतलाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी नदी जनाधार क्षेत्रमा निर्माण भएको जलविद्युत आयोजनाहरूको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । लाइनमा क्षति पुगेपछि भारततर्फको विद्युत् निर्यातसमेत प्रभावित भइरहेको थियो । अहिले इआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माणका लागि प्रक्रिया सुरु भइसकेको बताइएको छ । प्राधिकरणले आफैसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन ल्याएको हो । इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए । स्थानीयसँग सहमति जुटाएर इआरएस टावर राखिएको हो ।
खाँदबारी-किमाथांका खण्ड निर्माणले तीव्रता पायो
सङ्खुवासभा । जिल्लाको उत्तरी क्षेत्रको जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको खाँदबारी–किमाथांका खण्डमा निर्माणले तीव्रता पाएको छ । भौगोलिक रुपमा विकट मानिएको खाँदबारी–किमाथांका सडकको आठ किलोमिटर ट्र्याक नेपाली सेनाले खोलिसकेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथांका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । उक्त खण्डको १० किमीमध्ये आठ किमी ट्र्याक खोल्ने काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । किमाथांका–जोगवनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रुपमा मानिन्छ । ट्र्याक खोल्न बाँकी दुई दशमलव शून्य एक किमी पनि यही वर्ष जोडिने तयारी भइरहेको आयोजना कार्यालयले जनाएको छ । यो ट्र्याक खुल्लेसँगै यो वर्ष जोगवनी–विराटनगर–किमाथांका जोडिने आयोजना प्रमुख शम्सेर सिंहले जानकारी दिए । उनका अनुसार भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको करिब १० दशमलव पाँच किमी खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भन्दै विसं २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो । हालसम्म नेपाली सेनाले आठ किमी सडकको ट्रयाक खोलिसकेको प्रमुख सिंहले बताउँदै छ दशमलव किमी खण्ड स्तरोन्नतिसमेत गरिसकेको जानकारी दिए । सडक निर्माणका लागि दैनिक एक सय ४० जनशक्ति परिचालन गरिएको छ । सो सडकबाट कोसी प्रदेशसहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । च्याम्ताङसम्म ट्र्याक खुले पनि खाँदबारीबाट वरुण दोभानसम्मको खण्डमा हिउँदको समयमा मात्रै गाडी सञ्चालन हुने गरेको छ । सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडकसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ । राष्ट्रिय गौरवको आयोजना खाँदबारी–किमाथांका सडक निर्माणमा हालसम्म ५३ करोड रुपैयाँ खर्च भइसकेको अयोजना कार्यालयले जनाएको छ । नेपाली सेनाले हेलिकप्टरमार्फत निर्माण साम्रगी ढुवानी गरेर ट्र्याक खोल्ने काम गरिरहेको हो ।