खिम्ती-लामोसाँघु प्रसारण लाइन सञ्चालनमा ल्याइँदै, इआरएस टावर जडान

काठमाडौं । गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुन:स्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि ४वटा टावरको तार (कन्डक्टर)मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको छ । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्छ । खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी नदी जनाधार क्षेत्रमा निर्माण भएको जलविद्युत आयोजनाहरुको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘खिम्ती–लामोसाँघु प्रसारण लाइन बन्द हुँदा विद्युत् प्रणालीको विश्वसनीयतामा असर परेको छ । भारततर्फको विद्युत् निर्यातसमेत प्रभावित भएको छ, त्यसैले इआरएस संरचनाको प्रयोग गरी लाइनलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन लागिएको हो ।’ उनले अहिले इआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण गरिने उल्लेख गरे । प्राधिकरणले आफैसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि इआरएस टावर जडान गरिसकिएको छ । इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, रामेछापका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा भएको छलफलमा स्थानीयसँग सहमति जुटेपछि २ कात्तिकबाट इआरएस टावर राख्न सुरु गरिएको थियो । टावर जडान सकेर तार तान्न सुरु गर्न लाग्दा फेरि दोलखाका स्थानीयले अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा उनीहरूसँग आइतबार सहमति जुटेको छ । अब तार तान्न सुरु गरिने छ । यसका लागि करिब ४ दिन लाग्ने प्राधिकरण खिम्ती ग्रिड शाखाका प्रमुख मनोज साहले जानकारी दिए ।

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

  दमौली । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छभने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ दशमलव पाँच प्रतिशत काम पूरा भएको छ । आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । प्याकेज–१ अन्तर्गत बाँध निर्माण जारी छभने सुरुङ, विद्युत्गृह निर्माणका साथै हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को काम पनि भइरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भारतको केइसी इन्टरनेशनलले गरिरहेको छ ।

क्षतिग्रस्त तामाकोसी जलविद्युत आयोजनाको मर्मत शीघ्र थालिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताएका छन् । जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहित आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि उनले आयोजनामा भएको क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेको बताउँदै यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत् उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता दोहोर्याएको उनको निजी सचिवालयले जनाएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत उत्पादन थाल्ने गरी काम भइरहेको बताए ।