निर्माण व्यवसायी महासंघले तत्काल आन्दोलन नगर्ने, मागलाई सम्बोधन गर्न कार्यदल गठन गरिने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबारदेखि सुरु गर्ने भनिएका आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको छ । महासंघ अहिले सरकारसँग आन्तरिक छलफलमा जुटिरहेको छ । महासंघका अध्यक्ष रवि सिंहले हाल सरकारसँग आन्तरिक छलफल भइरहेको जानकारी दिए । उनले सरकार यस विषयमा सकारात्मक देखिएको र तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको उनको भनाइ छ । महासंघले सरकारलाई माघ १५ सम्मको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटमको अवधि सकिएको छ । शुक्रबारदेखि आन्दोलन गर्ने भनेको थियो । तर गत मंगलबार प्रधानमन्त्री तथा मन्त्रिमण्डलसहित निर्माण व्यवसायीबीच छलफल भएको थियो । सो छलफलमा निर्माण व्यवसायीहरूका मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीले कार्यदल गठन बनाउन निर्देशन दिएको बताइएको छ । छलफलमा सरकार निर्माण व्यवसायीहरूबीच सकारात्मक रूपमा छलफल भएको जनाएको छ । अध्यक्ष सिंहले भने , ‘हाम्रा मागप्रति सरकार सकारात्मक देखिएको छ । यसका लागि प्रधानमन्त्रीजीले कार्यदल गठन हुन्छ भनेका छन् । आन्तरिक रूपमा छलफलमै छौं । भोलि सुरु गर्ने भनिएका आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थिगित गरेका छौं ।’ उनले कार्यदलले पनि आफूहरूका माग पुरा गरेन भने आन्दोलनका कार्यक्रम फेरि सुरु हुने बताए । निर्माण व्यवसायीहरूले माघ २ गते पत्रकार सम्मेलन गर्दै चरणबद्ध रूपमा आन्दोलनमा जाने घोषणा गरेका थिए । सोही अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने, १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम उनीहरूको थियो । यस्तै, माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व-पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम घोषणा पनि गरेका थिए ।

म्याग्दीको दुर्गम चेचुङ गाउँ सडक सञ्जालमा जोडियो

म्याग्दी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४ को चेचुङ गाउँ सडक सञ्जालमा जोडिएको छ । अपर म्याग्दी जलविद्युत आयोजनाले धवलागिरी गाउँपालिका र वडा कार्यालयको समन्वयमा नाउरादेखि चेचुङ जोड्ने सडक निर्माण गरेको हो । प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत स्थानीयको माग अनुसार करिब दुई महिना डोजर परिचालन गरेर नाउरा देखि चेचुङ जोड्ने पाँच किलोमिटर सडक निर्माण गरेको अपर म्याग्दी जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए ।  सडकबाट चेचुङका १९ घरपरिवार लाभान्वित भएका छन् । जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । स्थानीयबासी चक्रबहादुर घर्तीले सडक निर्माण भएपछि एक घण्टाको बाटो १५ मिनेटमा छोटिएको बताए । स्थानीयबासीलाई आवत जावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी, कृषि र पशुजन्य वस्तु बजार पठाउन सहज भएको घर्तीले बताए । सडक पुगेपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । मार्ग खुलेको सडकको स्तरोन्नति गरेर सहज र नियमित रुपमा यातायात सञ्चालनको ब्यवस्था मिलाउने धवलागिरी गाउँपालिकाका जनप्रतिनिधीले बताएका छन् । हाइड्रो इम्पायर प्रा।लि। प्रर्वद्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले चेचुङको फेदी नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलीब्रिज जडान गरेको छ । हाइड्रो भिलेज प्रर्वद्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनासँगको साझेदारीमा नाउरामा म्याग्दी नदीमाथी ३६ मिटर लामो बेलिब्रिज जडान गरेको अपर म्याग्दीको एकल लगानीमा नाउरा स्थित बाँध निर्माण स्थलमा अर्को बेलिब्रिज निर्माणको तयारी गरेको छ । यसअघि गत वर्ष म्याग्दी नदीमा निर्माणाधिन तीन वटा जलविद्युत आयोजनाहरुको लागत साझेदारीमा धवलागिरी गाउँपालिका–४ को लामोछहरा केङ्की देखि खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको थियो । म्याग्दी खोला जलविद्युत आयोजनाको पहुँचमार्गमा पर्ने बगर गाउँमा पनि यसैबर्षभित्र सडक पुग्दैछ । मालिका –७ बिमको भारबाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँच निर्माण गर्न सो क्षेत्रमा निर्माणका क्रममा रहेका अपर म्याग्दी, अपर म्याग्दी –१, म्याग्दीखोला जलविद्युत आयोजनाले साझेदारी गरेका छन् । पहुँचमार्ग, आवास र सैनिक क्याम्पको भवन, जेनेरेसनलाइन निर्माण सकिएको आयोजनाको सुरुङ, बाँध र विद्युतगृह निर्माणको तयारी गरेको आयोजना प्रमुख रमेश सुवेदीले बताए । अबको दुई वर्ष पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सिभिल ठेकेदार कम्पनी परिचालित भइसकेको छ । रासस

पोखरा-मुग्लिन आयोजना : पोखरा–जामुने खण्डमा २८ किमि कालोपत्र

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ । ‘तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ’, उनले भन्ने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।’ तनहुँमा २०.८ किमी र कास्कीमा १८.०८ किमी सडक कालोपत्र भइसकेको छ । चार लेन दुवैतर्फ  तनहुँमा १०.०८ र कास्कीमा ४.३९किमी  र तनहुँमा दुई लेन (एकतर्फी) ७.९८ किमी र कास्कीमा ६.०७किमी सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिनुभयो । तनहुँमा २.७४ किमी  र कास्कीमा ७.६२ किमी गरी कुल १०.३६ किमि सडक कालोपत्र हुन बाँकी रहेको उनले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो । ‘आयोजनाको पछिल्लो भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ, जनवरी महिनाको प्रगति भने थप हुन बाँकी छु, इन्जिनियर नेपालले भने, ‘पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिँहचोक, बुढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको छ, तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको छ ।’ कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि  निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको हो । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए । वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको उनको भनाइ छ । ‘सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गत गतिमा भइरहेको छु’, इन्जिनियर नेपालले भने, ‘निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।’ कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भएपनि पछिल्लो समय कामले गति लिएको उनको भनाइ छ । ३८.८८ किमी दुरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । ४१.४५ किमी को पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले रु. छ अर्ब २१ करोड ३१ लाखमा उक्त खण्डको ठेक्का लिएको थियो । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडकलाई चार लेनमा स्तरोन्नति गर्न लागिएकामा पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । रासस