पाथीभरा केबलकार विवादमा ६ बुँदे सहमति, अनिश्चितकालीन यातायात बन्द स्थगन
काठमाडौं । ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवाद सम्बन्धी सहमति भएको छ । मंगलबार राति अबेरसम्म नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएको हो । सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ । सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने तथा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ । यस्तै मुक्कुमलुङ संरक्षक पक्षधरबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजे वार्ता गर्ने सहमति भएको गृह मन्त्रालयले जानकारी दिएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई र आन्दोलनरतपक्षका तर्फबाट वार्ता सहजीकरण समितिकी सरस्वती सिंगक (सरु) ले हस्ताक्षर गरेका छन् ।
जोखिमयुक्त झोलुङ्गे पुलमा त्रासको यात्रा गर्दै तीर्थालु
डुम्रे । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा दर्शन गर्न जाने दर्शनार्थी त्रासमा यात्रा गर्न बाध्य बनेका छन् । देवघाटधाममा चलिरहेको एकमहिने धार्मिक महोत्सवमा आवतजावत गर्ने पुल नै जीर्ण बनेपछि त्रास बढेको उनीहरूको भनाइ छ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलबाट आवतजावतमा समस्या हुनाका साथै जोखिममा यात्रा गर्न भक्तजन बाध्य छन् । भीड धेरै हुँदा पुल चुँडिने जोखिम भएपछि आवतजावतका लागि सीमा तोकिएको छ । जोखिम न्यूनीकरणका लागि एक पटकमा १०० जना मात्र आवतजावत गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । भीड बढी हुँदा अनुमति कार्यान्वयनमा आउन मुस्किल भएको छ । जोखिमबाट बच्नका लागि पुलको दुवैतर्फ प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा त्रिशूली नदीमा रहेको ४४ वर्ष पुरानो उक्त झोलुङ्गे पुलमा तीर्थयात्रीको चाप बढ्दा जोखिम भएकाले सीमा निर्धारण गरिएको उल्लेख गरिएको छ । उक्त पुलमा वारपार गर्न नियन्त्रित रुपमा एक पटकमा १०० व्यक्तिमात्रै आवतजावत गर्ने र मोटरसाइकल पूर्ण रुपमा बन्द गर्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालयसहित सबै सरोकारवालालाई निर्देशन दिइएको छ । सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले सोमबार जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै उक्त पुल तथा सर्वसाधारण यात्रुको सुरक्षाका लागि पुलमा सावधानीका सबै उपाय अवलम्बन गर्न अनुरोध गरेको थियो । सो ठाउँमा मोटरेबल पुल नहुँदा भक्तजन अझै पनि झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भएका छन् । वर्षौंअघि देखि मोटर चल्ने पुलको माग राखे पनि सुनुवाइ नहुँदा भक्तजन बढ्दाको समयमा समस्या भएको तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । माघेसङ्क्रान्ति मेला लाग्ने बेलामा मात्रै समस्या आउने गरेको जीर्ण अवस्थामा पुगेको झोलुङ्गे पुलको यात्रामा अहिले अझ जोखिम बढेको उनले बताए । ‘देवघाटधाममा भक्तजनको हिन्दू धर्मावलम्बी आउने स्थान हो, सहज हुने गरी झोलुङ्गे पुल भएकै स्थानमा मोटरेबल पुलको आवश्यकता छ,’ उनी भन्छन्,‘अकल्पनीय घटना नघटोस् भनेर पटक पटक सम्बन्धित निकायसमक्ष यस स्थानमा मोटरबेल निर्माण गर्न माग गरिरहेका छौँ, तर हाम्रो मागको सुनुवाइ भने भएको छैन ।’ चितवनको दासढुङ्गा, ठिमुरा र नवलपुरतर्फमा मोटरवेल पुल छन् । तर आफ्ना सवारी साधन नभई दर्शनका लागि आउने भक्तजनलाई घुमाउरो पर्ने हुँदा पनि जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न भक्तजन बाध्य भएका हुन् । उक्त पुल विसं २०३७ मा निर्माण गरिएको हो । भक्तजनको आवतजावत बढ्ने समयमा मर्मत गर्दै सञ्चालनमा ल्याउने गरिएको छ ।
म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष दाहाल
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् । बेनी नगरपालिका-४ सिङ्गा र तातोपानीमा आयोजित कार्यक्रममा उनले भौतिक पूर्वाधार र पर्यटन विकासले म्याग्दीको उन्नति हुने छ भने । ‘छ वर्षअघि पनि म यहाँको तातोपानी कुण्डमा परिवारसहित आएको थिएँ’, उनले भने, ‘त्यसबेला यहाँहरूले उठाउनुभएको बेनी-दरवाङ–ढोरपाटन सडक, तातोपानी कुण्डको संरक्षण, प्रवर्द्धन र नदी नियन्त्रणसम्बन्धी केही योजनामा बजेट व्यवस्थापन गरेर थालेका कामलाई निरन्तरता दिएका छौँ ।’ पूर्वप्रधानमन्त्री दाहालले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी–दरवाङ, बेनी–जोमसोम–कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ती संरक्षणका लागि विनियोजन गरेको रु दुई करोड बजेटबाट रु १० करोडको बहुवर्षीय योजना कार्यान्वयन सुरु भएकामा खुसी व्यक्त गरे । उनले बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका-४ का वडाध्यक्ष अणबहादुर खड्का(भगवान), सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिङ्गा र तातोपानीको विकास निर्माणलगायत विषयमा जानकारी गराएका थिए । साथै अध्यक्ष दाहालले बेनी नगरपालिका-४ ठूलोखोला, सिङ्गा, बेनीमा सहिद परिवारसँग भेटघाट र साक्षात्कार गरेका छन्। सो क्रममा अध्यक्ष दाहालले सहिद परिवारको अवस्थाका बारेमा जानकारी लिनुका साथै सहिदहरूको योगदानको सधैँ उच्च मूल्याङ्कन हुने बताए । सिङ्गामा स्थानीय किसानको गुनासो सुनेका थिए। किसानले कृषिलाई प्रविधियुक्त, बजारमा सहज पहुँच र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाउन माग गरेका थिए । सो क्रममा अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा कृषि अनुदानका लागि रु सात अर्ब बजेट विनियोजन गरेको जनाउर्दै त्यसको कार्यान्वयनका अवस्थाबारेमा सरकारको ध्यानाकर्षण गराउने बताए ।