
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबारदेखि सुरु गर्ने भनिएका आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको छ । महासंघ अहिले सरकारसँग आन्तरिक छलफलमा जुटिरहेको छ ।
महासंघका अध्यक्ष रवि सिंहले हाल सरकारसँग आन्तरिक छलफल भइरहेको जानकारी दिए ।
उनले सरकार यस विषयमा सकारात्मक देखिएको र तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको उनको भनाइ छ ।
महासंघले सरकारलाई माघ १५ सम्मको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटमको अवधि सकिएको छ । शुक्रबारदेखि आन्दोलन गर्ने भनेको थियो । तर गत मंगलबार प्रधानमन्त्री तथा मन्त्रिमण्डलसहित निर्माण व्यवसायीबीच छलफल भएको थियो ।
सो छलफलमा निर्माण व्यवसायीहरूका मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीले कार्यदल गठन बनाउन निर्देशन दिएको बताइएको छ । छलफलमा सरकार निर्माण व्यवसायीहरूबीच सकारात्मक रूपमा छलफल भएको जनाएको छ ।
अध्यक्ष सिंहले भने , ‘हाम्रा मागप्रति सरकार सकारात्मक देखिएको छ । यसका लागि प्रधानमन्त्रीजीले कार्यदल गठन हुन्छ भनेका छन् । आन्तरिक रूपमा छलफलमै छौं । भोलि सुरु गर्ने भनिएका आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थिगित गरेका छौं ।’
उनले कार्यदलले पनि आफूहरूका माग पुरा गरेन भने आन्दोलनका कार्यक्रम फेरि सुरु हुने बताए ।
निर्माण व्यवसायीहरूले माघ २ गते पत्रकार सम्मेलन गर्दै चरणबद्ध रूपमा आन्दोलनमा जाने घोषणा गरेका थिए ।
सोही अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने, १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम उनीहरूको थियो ।
यस्तै, माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व-पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम घोषणा पनि गरेका थिए ।