एसियाली राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा
काठमाडौं । एसियाली राजमार्गअन्तर्गत झापाको काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डमा सडकलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ । काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई सुनिलबाबु पन्तले हालसम्ममा सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको बताए । उनका अनुसार निर्माण अवधिका आधारमा हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा धेरै प्रगति भइसक्नुपर्ने थियो । एभ्रास्कन कालिका जेभीले उक्त सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो भने २०८३ माघ १९ गतेसम्ममा निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ । आयोजना प्रमुख पन्तले ठेक्का लिएको कम्पनीलाई निर्माण कार्यमा गति बढाउन र लक्ष्य भेटाउन निर्देशन दिइएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ जेठ ९ गते कमल गाउँपालिकाको पाडाजुँगीमा उक्त सडकको विधिवत् शिलान्यास गरेका थिए । सडक निर्माण सम्झौताको पहिलो वर्षमा १२ प्रतिशतमात्र प्रगति भएको र यस वर्ष पनि उल्लेखनीय प्रगति हुन नसकेमा आउँदो एक वर्ष १० महिनाभित्रमा आयोजना सम्पन्न गर्न कठिन हुनेछ । ‘अहिले काम गर्न मौसम अनुकूल पनि छ,’ एभ्रास्कन कालिका जेभीलाई कामको गति बढाउन दबाब दिँदै पन्तले भने, ‘निर्माण कम्पनीले जुन रफ्तारमा काम गर्नुपर्ने हो, गरेको छैन । हामीले दबाब दिइरहेका छौँ ।’ हाल कल्भर्ट, पुल र माटो भर्ने काम भइरहेको छ । हालसम्म १४३ वटा कल्भर्टमध्ये ९३ वटाको काम भएको छ । साना पुल १८ मध्ये १७ वटाको निर्माण भइरहेको छ । निर्माणकार्यमा कम्पनीले अत्याधुनिक उपकरणसमेत प्रयोग गरिरहेको छ । हालसम्ममा पुलको निर्माण प्रगति १३ प्रतिशतमात्र छ । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा ३४ अर्ब ९० करोड रुपैयाँमा सडकसहित कल्भर्ट र साना पुलको ठेक्का लगाइएको हो । कनकाई, बिरिङ र निन्दाखोलाका पुलको ठेक्का अर्कै कम्पनीले पाएको छ । बर्खा लागेपछि काम गर्न कठिन हुने भएकाले त्यसअघि कामको गति बढाउन निर्देशन दिइएको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका प्रमुख पन्त बताउँछन् । चालू आर्थिक वर्षमै कम्तीमा १० किलोमिटर राजमार्ग कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ । सो सडक खण्डको चारआली जङ्गलमा ‘इलिफेन्ट अन्डर पास’को निर्माण कार्यसमेत धमाधम भइरहेको आयोजनाले जनाएको छ । सरकारको वन्यजन्तुमैत्री पूर्वाधार भौतिक संरचना निर्माण मापदण्डअनुसार ‘इलिफेन्ट अन्डर पास’ निर्माण भइरहेको आयोजना प्रमुख पन्तले जानकारी दिए । उनका अनुसार ‘इलिफेन्ट अन्डर पास’ साढे ६ मिटर उचाइ र १५ मिटर लम्बाइको बनिरहेको छ । जुन निर्माणाधीन सडकभन्दा डेढ मिटर अग्लो हुने छ ।
१६ करोडमा सञ्चालनमा आयो रातोढुङ्गा सबस्टेशन
काठमाडौं । म्याग्दी जिल्लाका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका-६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको सबस्टेशन सञ्चालनमा आएको हो । विसं २०८० माघमा गरिएको परीक्षण सफल भएको उक्त सबस्टेशनबाट आजदेखि नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले विद्युत् आपूर्ति गर्न थालेको हो । केन्द्रका प्रमुख सत्यनारायण गामीले परीक्षणका लागि सबस्टेशनबाट विद्युत् आपूर्ति गराउन थालिएको बताए । ‘मिलनचोक सबस्टेशन नजिकै एउटा पोल गाड्न, तार तान्न र संरचना बनाउन बाँकी भएकाले अस्थायी रूपमा बेनीबाट ट्यापिङ गरेर रातोढुङ्गा सबस्टेशनमा लाइन जोडेर हाम्रो निगरानीमा परीक्षणका लागि विद्युत् आपूर्ति गरिएको छ,’ उनले भने, ‘अबको एक महिनाभित्र १५ दिनमा ठेकेदारले सबै संरचना बनाएर हस्तान्तरण गर्ने लिखित प्रतिबद्धता जनाएको छ ।’ नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा १६ करोड रुपैयाँमा ठेक्का लिएको सबस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । ठेकेदार कम्पनीका प्रतिनिधि पद्मसागर लुइँटेलले परीक्षण अवधिपछि प्राधिकरणलाई औपचारिक रूपमा सबस्टेशन हस्तान्तरण गरिने केन्द्रका प्रमुख गामीले बताए । सबस्टेशन सञ्चालनपछि म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।
समयमा निर्माण सम्पन्न नभएपछि ठेक्का रद्द, निर्माण व्यवसायी अदालतमा
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अन्योलमा परेको छ । ४ किलोमिटर सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै सडक डिभिजन कार्यालय भक्तपुरले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा अदालतमा मुद्दा हालेका थिए । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिउको गौरी-पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो । उक्त सडकखण्डको ठेक्का रद्द गरेपछि अदालत गएका व्यवसायीको मुद्दामा केही दिनअघि अदालतले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी रकम जफतलगायत ‘कारबाही नगर्न तथा हालको जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश दिएपछि खण्डखण्डको काममा अन्योलता छाएको हो । जिल्ला सदरमुकाम धुलिखेलदेखि-खावासम्मको सडक विस्तारको काम उक्त कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्प प्रायः नै थियो । कार्यालयका प्रमुख डिजिनल सिनियर इञ्जिनियर सुमन योगेशले अदालतबाट अन्तरिम आदेश आए पनि पुनःठेक्का प्रक्रियाको काम अघि बढिरहेको बताए । ‘कानुनतः पुनः ठेक्का खोल्ने प्रक्रियामा अघि बढ्न मिल्छ, यसका लागि मन्त्रालयस्तरमा निर्णयको प्रक्रिया अघि बढिरहेको छ,’ उनले भने । उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिने तयारीमा छ भने यसपछि अर्थ मन्त्रालयले बजेट विनियोजन गर्नेछ । यसैबीच ठेक्का रद्द गरिएको तथा अदालतले हाललाई कुनै पनि काम अघि नबढाउने अन्तरिम आदेश दिएपछि स्थानीयले धुलोका कारण जनजीवन प्रभावित भएको जनाउँदै बिहीबार तीन घण्टा सडक अवरूद्ध गरेका थिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सडक डिभिजन कार्यालय भक्तपुरबीच पुनःसडक निर्माणको काम सुरू नभएसम्मका लागि दैनिक दुई ट्याङ्कर पानी हाल्ने सहमतिपश्चात् सडक अवरूद्ध गर्न बसेका स्थानीय पछि हटेका थिए । कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो । हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन-वाल लगाउने काम गरिएको छ । जिपलाइन स्थानदेखि तल खावासम्मको करिब सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । गत जेठमा धुलिखेलतर्फबाट बेश, सब-बेश हाल्ने काम सुरू गरिए पनि वर्षामा सबै बगाएर खण्डहर झैँ बनाएको थियो । समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनः निर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल-खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो ।