लगानी विस्तारमा आक्रामक बन्दै भाटभटेनी, रोडशोको सहकार्यमा ‘अपार्टमेन्ट’ निर्माण गर्दै

काठमाडौं । आर्थिक मन्दीका कारण चल्तीकै सपिङ सेन्टरहरू सुनसान भइरहेका बेलामा भाटभटेनी समूह भने देशैभर सञ्जाल विस्तारमा सक्रिय बनेको छ ।  पछिल्लो समय देशकै सबैभन्दा ठूलो सुपरमार्केट स्टोर भाटभटेनीले होटल, हस्पिटल तथा कोल्डस्टोर लगायतमा धमाधम लगानी गरिरहेको छ । यहीं दौरानमा भाटभटेनी समूह र रोडशो रियल स्टेटले काठमाडौंको चुच्चेपाटीमा 'बौद्ध लक्जरी अपार्टमेन्ट' बनाउने भएका छन् ।  दुवै समूहको संयुक्त लगानीमा बन्ने उक्त लक्जरी अपार्टमेन्टको निर्माणको कार्य यही जेठ महिनादेखि सुरु गरिने रोडशो रियल स्टेटका सञ्चालक सागर गुरुङले विकासन्युजलाई जानकारी दिए ।  सञ्चालक गुरुङले भने, 'हाल पौने ४ रोपनी जग्गाको नक्सा पासको काम अन्तिम चरणमा पुगेको छ । नक्सा पासको काम सकिएपछि यही जेठ महिनादेखि निर्माण कार्य थालिने छ । अपार्टमेन्ट एक-डेढ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिएका छौं ।' अपार्टमेन्टमा रोडशो र भाटभटेनीको ५०/५० प्रतिशत लगानी रहेको उनले जानकारी दिए । उनका अनुसार तारागाउँमा बन्ने उक्त अपार्टमेन्ट पौने ४ रोपनी जग्गामा फैलिनेछ । अपार्टमेन्टमा सिंगल बेसमेन्ट हुनेछ भने ९ तला रहनेछन् । प्रत्येक तलाको साइज एक हजार स्क्वार फिट हुनेछ । एक, दुई र तीन बेडरुमका युनिट हुने सञ्चालक गुरुङले जानकारी दिए । प्रत्येक तलामा ९ वटा युनिट बन्नेछन् । अपार्टमेन्टमा ६४ युनिट रहनेछन् । अपार्टमेन्टको बेसमेन्ट पार्किङको सुविधा हुनेछ ।  अपार्टमेन्टमा विभिन्न सुविधासहित सरकारले तोकेको मापदण्डमा बन्ने रोडशोले जनाएको छ । भाटभटेनी र रोडशोले बनाउन लागेको यो अपार्टमेन्टलाई प्रिमियम परियोजनाका रूपमा हेरिएको छ भने वान बीएचके अपार्टमेन्ट १ करोड ९५ लाखमा किन्न सकिनेछ।  रोडशोले विशेष गरी उपत्यका र पोखरामा अपार्टमेन्ट, हाउजिङ तथा ल्याण्ड पुलिङ बनाउँदै आइरहेको छ । हाल पोखरामा दुई अपार्टमेन्ट ४० युनिटको अन्नपूर्ण अपार्टमेन्ट मासबार तथा ६० युनिटको अन्नपूर्ण लेकसाइड परियोजना निर्माण गरिरहेको छ । जसमा १ अर्ब ५० करोडको लगानी छ भने करिब २ अर्ब लगानीमा काठमाडौंको बूढानीलकण्ठमा पनि आवासीय अपार्टमेन्ट निर्माण गरिरहेको छ ।    यसैगरी, हाल कास्कीमा रुचि ल्याण्ड प्लटिङ,  पुल्चोकमा हाइट अपार्टमेन्ट, दुवाकोट ल्याण्ड पुलिङ, ६ वटा आरएसएच हाउजिङ समेत निर्माण गरिरहेको छ । रोडसोले पोखरामा अन्नपूर्ण केबलकार सञ्चालन गरिरहेको छ।  यस्तै, उपत्यकाको बूढानीलकण्ठ, भाटभटेनी, मीनभवन, धुम्बाराही, चण्डोल, पुलचोकमा हाउजिङ बनाइसकेको छ भने कालिमाटी ट्रेड सेन्टर, रञ्जना ट्रेड सेन्टरलगायत व्यापारिक कम्पलेक्स समेत रोडसोले बनाइसकेको छ ।  यता भाटभटेनीले पनि पछिल्लो समय होटल, कोल्डस्टोर, हस्पिटलहरूमा लगानी गरिरहेको छ । जसमा चितवनको टाँडीमा ७२ हजार स्क्वायरफिट क्षेत्रफलमा कोल्डस्टोरको निर्माण भइरहेको छ ।  कोल्डस्टोर १० हजार म्याट्रिक टन क्षमताको हुने जनाइएको छ भने कोल्डस्टोर निर्माण गर्न अनुमानित २ अर्ब रुपैयाँ लगानी लाग्ने भाटभटेनीले जनाएको छ । यसैगरी, ४ वर्षदेखि तीनकुनेमा निर्माणाधीन रहेको काठमाडौं इन्टरनेशनल अस्पतालका संस्थापकले निर्माण गर्न नसकेपछि भाटभटेनीले करिब ४६ प्रतिशत सेयर किनेको छ ।  चितवन मेडिकल कलेजका संस्थापक तथा सञ्चालक प्राडा हरिचन्द्र न्यौपाने र उनको परिवारको नाममा बहुमत सेयर रहेको अस्पताल २०२४ भित्र निर्माण सकेर सञ्चालनमा ल्याउने लक्ष्य थियो ।  हेलिप्याडसहित सुपर स्पेसियालिटी बनाउने उद्धेश्यले २०७८ असारमा निर्माण सुरु गरेको थियो । तर हालसम्म निर्माण कार्य सम्पन्न नहुँदा भाटभटेनीले उक्त अस्पतालमा लगानी गरेको हो । अस्पतालाई अबको एक वर्षभित्र सञ्चालनमा ल्याइने भाटभटेनीले जनाएको छ । यसैगरी, ललितपुरको पुलचोक निदान अस्पतालमा पनि लगानी गरेको छ भने दरबारमार्गमा ४२ रोपनी क्षेत्रफलमा अन्नपूर्ण स्क्वायर होटेल बनाइरहेको छ । जसमा भाटभटेनीले २ अर्ब ७० करोडको लगानी गरेको छ । यस्तै, पूर्वराज्यमन्त्री मोतीलाल दुगडले १० वर्षदेखि बनाइरहेको विराटनगरको होटेल सेन्चुरी भाटभाटेनीले १५५ करोडमा किनेको छ भने यसलाई २ वर्षभित्र सञ्चालनमा ल्याएर पाँचतारे होटेलको सेवासुविधा दिने योजनाका साथ काम गरिरहेको छ ।  बर्दघाटमा रहेको भाटभटेनीको काठमाडौं स्टील नामको उद्योगमा १५० करोड लगानी गरेर असोजसम्ममा सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।   देशभर हाल भाटभटेनीका दुईदर्जनभन्दा बढी शाखा सञ्चालनमा छन् भने तीमध्ये काठमाडौं उपत्यकामा १३ तथा बाँकी विभिन्न प्रमुख सहरमा छन् ।

१६ अर्बको योजना : नारायणगढ–बुटवल सडकमा म्याद थपिए पनि काम अगाडि बढ्दै

त्रिवेणी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ । समग्रमा कुल भौतिक प्रगति ६६ दशमलब ५० प्रतिशत पुगेको छ । पुलहरूले ओगटेको क्षेत्रबाहेक एक सय १० दशमलव ४६ किमी कालोपत्र गर्नुपर्ने छ । पुलले तीन दशमलव ०७ किमी क्षेत्र ओगटेको सूचना अधिकारी खनालले बताए । हाल यस खण्डमा यात्रा गर्ने सवारीले ९३ दशमलव ९४ किमी कालोपत्र सडकमा यात्रा गर्न सक्ने उनले बताए । यो भनेको कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने भएको सूचना अधिकारी खनालले बताए । उनका अनुसार यस खण्डमा काम गर्नुपर्ने बाँकी क्षेत्र अधिकांश दाउन्ने खण्डमा रहेको छ । सोहीअनुसार दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ । दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ । दाउन्ने खण्डको यात्रालाई जतिसक्दो छिटो सहज बनाउने योजनाअनुसारको काम जारी छ । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल एक सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुने छ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुने छ । राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रीले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदा पनि बाटो चिप्लो भएर घण्टौँ जाममा पर्नुपर्ने बाध्यता छ । रासस

मध्यपहाडी लोकमार्ग : हरिचोक-याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

कास्की । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ । हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी कालोपत्र सकिएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले झण्डै डेढ किमी सडक एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । उनले भने, 'हरिचोक–याम्दी खण्डमा अहिले एकतर्फी कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रमा दुवै खण्डमा काम सम्पन्न गर्ने योजनामा छौँ ।' हरिचोक–याम्दी सडक १८ मिटर फराकिलो हुने छ । त्यसैगरी नालासहित २१ मिटर रहेको आयोजनाले जनाएको छ । यस खण्डमा अस्फाल्ट कालोपत्र १५ सेमी बाक्लो हुने छ । लामो समयसम्म यस सडकको काम सुस्त हुँदा राजमार्गमा यात्रा गर्ने यात्रीले सास्ती पाएका थिए । दुई किमी २०० मिटर लामो सडक निर्माणमा ढिलाइ हुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रा कष्टकर हुने गरेको थियो । सडक निर्माण सुस्त भएपछि स्थानीयले सडकमै उत्रिएर काम छिटो गर्न दबाब दिएका थिए । पोखरा हरिचोकका भानुभक्त अधिकारीले ढिलै भए पनि कालोपत्रको काम सुरु भएकामा खुसी व्यक्त गरे । लामो समयसम्म सडक नबन्दा आफूहरूले धेरै सास्ती पाएकामा अब सजिलो हुने उनको विश्वास छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई वर्षमा सक्नेगरी २०७९ साल साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिसँग मूल्यअभिवृद्धि करसहित रु ४८ करोड लागतमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो । साविकको पोखरा–बाग्लुङ राजमार्गमा पर्ने यस सडक हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायत जिल्लाबाट दैनिक सयौँ सार्वजनिक तथा निजी सवारीका साधन पोखरा आवतजावत गर्ने गर्छन् ।