फोक्सिङटार-धाप्लाङघाट सडक निर्माण सुरु, पूर्वी तराई जोड्ने छोटो मार्ग बन्ने
खोटाङ । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’ निर्माणको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले बगाएपछि विकल्पका रूपमा प्रयोग गर्नका लागि उक्त सडक निर्माणको काम सुरु गरिएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड २० लाख रुपैयाँमा पूरा हुने उक्त सडकको पहिलो चरणमा ४५ लाख रुपैयाँबाट निर्माण सुरु गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरको लामाचउरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले वैकल्पिक सडकको शिलान्यास गरेका छन् । गत असोज १२ गते आएको भीषण बाढीले बगाएको फोक्सिङटारको पुल पुनर्निर्माण गर्न समय लाग्ने र धाप्लाङघाटको पुल चाँडै बन्ने भएकाले वैकल्पिक सडकका रूपमा फोक्सिङटार–धाप्लाङघाट सडकको ट्रयाक खोल्न सुरु गरिएको मन्त्री राईले बताए । उपभोक्ता समितिबाट काम गर्नेगरी उक्त सडकको औपचारिक रूपमा शिलान्यास गरेर निर्माणको काम सुरु गरिएको छ । सडक निर्माणका लागि पहिलोपटक विनियोजन गरिएको बजेट मन्त्रालयले बराहपोखरी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको जनाइएको छ । बाँकी बजेटको काम भने, मन्त्रालयबाट ठेक्का आह्वान गरेर ठेकेदारमार्फत गर्नेगरी प्रक्रिया अगाडि बढाइएको मन्त्री राईको सचिवालयले जानकारी दिएको छ । वैकल्पिक सडक निर्माणको काम सम्पन्न भएपछि खोटाङका नागरिकले सुनकोशी नदीको किनारैकिनार फोक्सिङटारबाट साउनेचउर, बङदुवा, आसाबाला, अजिङगरे, भोर्मा हुँदै धाप्लाङघाटसम्म यात्रा गर्न पाउनेछन् । धाप्लाङघाटबाट उदयपुरको साउने हुँदै तराई झर्नका लागि सबैभन्दा छोटो मार्ग हुने जनाइएको छ । फोक्सिङटारबाट नयाँ सडक जोड्न लागिएको धाप्लाङघाटस्थित सुनकोशी नदीमा समेत मोटरेबल पक्की पुल निर्माणको काम भइरहेको छ । फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि भौतिक पूर्वाधार विकासमन्त्री राईले गत माघ १२ गते वैकल्पिक मार्ग खोल्नका लागि सम्भाव्यता अध्ययन पैदलयात्रा गरेका थिए । निर्माण सम्पन्न भएको वर्ष दिन नबित्दै बाढीले बगाएको फोक्सिङटार पुलको विकल्पमा अहिले अस्थायी बेलिब्रिज सञ्चालन गरिएको छ । सुनकोशीमा बाढी आउन थालेकाले यही जेठ ५ गतेदेखि उक्त बेलिब्रिज झिक्ने योजना बनाइएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इञ्जिनियर पशुपति ज्ञवालीले बताए । खोटाङवासीले भने, जेठ १५ गतेसम्म बेलिब्रिज नहटाउन सडक विभागसँग आग्रह गरेका छन् । असोजदेखि कष्टकर जीवन बिताएका खोटाङवासीलाई सुविधा दिने उद्देश्यले सरकारले गत पुस २७ गतेदेखि फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो । फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि सुनकोशीमा एक करोड दुई लाख ९४ हजार ६७७ रुपैयाँको लागतमा बेलिब्रिज जडानको काम सम्पन्न गरिएको थियो । करिब छ महिनाअघि जडान गरिएको ५० मिटर लम्बाइ र साढे छ मिटर चौडाइ रहेको बेलिब्रिजबाट एकतर्फी यातायातका साधन सञ्चालन हुँदै आएका छन् । फोक्सिङटारमा बेलिब्रिज जडान गरिएपछि खोटाङको दिक्तेल बजारबाट गाईघाट, बेलटार, धरान, इटहरी, विराटनगर, दमक र बिर्तामोडसम्म यातायातका साधन सञ्चालनमा आएका थिए । बेलिब्रिज झिकेपछि खोटाङ–उदयपुर सिधा सम्पर्क टुट्ने र जिल्लावासीलाई तराईका जिल्ला झर्न ठूलो समस्या हुने निश्चित छ । अस्थायी बेलिब्रिज हटाएपछि सगरमाथा लोकमार्गको दिक्तेल–गाईघाट सडकमा यातायातका साधन पूर्ण रूपमा सञ्चालन बन्द हुने भएका छन् । जसका कारण जिल्लावासीलाई दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री खरिद र उपचारका लागि धरान, विराटनगरलगायत अस्पतालसम्म जान समस्या हुने भएको छ । निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको फोक्सिङटारको मोटरेबल पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । हस्तान्तरण नहुँदै बाढीले बगाएका कारण सम्बन्धित निर्माण कम्पनीले नै उक्त फोक्सिङटारको मोटरेबल पक्की पुल पुनर्निर्माण गर्नुपर्ने जिल्लामा हुने हरेक कार्यक्रममा बहस चल्ने गरेको छ । दिक्तेल–गाईघाट १०१ किलोमिटर लामो सडकखण्डको फोक्सिङटारमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको जनाइएको छ । फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालयले ३५ करोड रुपैयाँको बजेट सुनिश्चित गरेको संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराईले जानकारी दिए । रासस
बुल्दीखोलामा ६ करोडमा समयअघि नै पक्की पुल निर्माण सम्पन्न, अब आवागमन सहज
दमौली । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामा ६ करोड रुपैयाँ भन्दा बढी लागतमा पक्की पुल निर्माण गरिएको छ । सम्झौताभन्दा चार महिनाअगावै यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । ६ करोड ५६ लाख ४३ हजार २७२ रुपैयाँ लागत अनुमान गरिएको पुलको ठेक्का ६ करोड एक लाख १७ हजार ३२४ रुपैयाँमा लागेको थियो । पुल निर्माणका लागि सङ्घ सरकारबाट एक करोड ३५ लाख रुपैयाँ सहयोग भएको थियो भने बाँकी रकम नगरपालिकाको स्रोत रहेको नगरपालिकाका सहायक प्रशासकीय अधिकृत भेषराज तिवारीले जानकारी दिए । विसं २०८० फागुन २३ गते सम्झौता पुलको काम वैशाख २२ गते सम्पन्न भएको थियो । विसं २०८२ भदौ ३० गतेसम्म पुल सम्पन्न गर्ने म्याद रहेको छ । पच्चीस मिटर लामो पुल सिङ्गल स्पान प्रविधिको हो । ज्वालामुखी कन्स्ट्रक्सन प्रालिले पुल निर्माण गरेको हो । पुल निर्माणपश्चात् दुई वडाका सर्वसाधारण लाभान्वित हुनेछन् । पक्की पुल निर्माण भएको स्थानमा यसअघि ह्युमपाइप कल्र्भट राखेर यातायात सञ्चालन भइरहेको थियो । बर्सातको समयमा बुल्दीखोलामा बाढी आउँदा उक्त कल्भर्टले पानीको बहावलाई रोक्दा वरपरको स्थानमा डुबान हुने गरेको थियो । जसका कारण आसपासका घर जोखिममा परेको र बसपार्क जान समेत समस्या हुँदै आएकामा अब भने सहज हुने भएको छ । यसैबीच निर्माण सम्पन्न भएको पुलको शुक्रबार सार्वजनिक परीक्षण गरिएको छ । व्यास नगरपालिकाको आयोजनामा तेस्रो पक्ष मूल्याङ्कन, स्थलगत अनुगमन तथा सार्वजनिक परीक्षण गरिएको हो । उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, विभिन्न वडाका अध्यक्ष, टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा नगरपालिका अनुगमन तथा मूल्याङ्कन समितिबाट पुलको अनुगमन हुनुका साथै पूर्वाधार विकास कार्यालय तनहुँका इञ्जिनियर विजय थापाको पुलको पुनः मूल्याङ्कन गर्ने काम गरिएको छ । रासस
हितेन्द्रदेव शाक्य भन्छन्: अब लोडसेडिङ हुदैँन, इन्भर्टर र मैनबत्ती प्रयोग नगर्नु
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङ नहुने बताएका छन् । हिजो (बिहीबार) बेलुका बिजुली झ्याप्प-झ्याप्प गएको विषयमा प्रष्टीकरण दिँदै शाक्यले यस्तो बताएका हुन् । अब लोडसेडिङ नहुने बताउँदै उनले इन्भर्टर र मैनबत्ती प्रयोग गर्न बाध्य नबनाइने बताए । उनले भने, ‘ लोडसेडिङ सुरू भयो भनेर सामाजिक सञ्जालमा गरिएको प्रचार गलत हो । हिजो ढल्केबर मुजफरपुर क्षेत्रमा ठूलो रुखको हाँगाले विद्युत् आपूर्तिमा समस्या ल्याएको रहेछ । करिब २ घण्टापछि त्यो समस्या समाधान भयो । त्यसपछि बिजुली आएको हो । अब लोडसेडिङ हुँदैन । इन्भर्टर र मैनबत्ती प्रयोग नगर्दा हुन्छ । ’ विद्युत आपूर्ति बन्द हुनासाथ आफैं विद्युत् प्रणाली सञ्चालन विभाग स्यूचाटार पुगेको र भारबारे जानकारी लिएको उनको भनाइ छ । आगामी दिनमा यस्ता समस्या नदोहोरिन र दीर्घकालीन योजना बनाइने समेत उनले बताए ।