बत्ती नजाँदै गयो भनेर आतंक फैल्याउनेको नम्बर नोट गरेर प्रहरीलाई दिनुस्, दण्डित गरिन्छ : ऊर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले आवश्यकताअनुसारको विद्युत आपूर्ति गरिरहेको बताएका छन् । आइतवार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री खड्काले विद्युत जानु नेपालमा विद्युत कम भएर नभइ विपद्जन्य घटनाले पारेको अवरोध रहेको बताए । उनले सरकार उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत पाओस् भन्ने चाहनाअनुसार काम गरिरहेको बताए। उनले कृत्रिम कुराहरू प्रचारप्रसार गरेर बत्ती छैन भन्ने भ्रम फैल्याइएको बताए । मन्त्री खड्काले नेपालले अहिले विद्युत आयात गर्न नपरेको भन्दै नेपालकै विद्युत बढी भइरहेको बताए । उनले विगतको भन्दा राम्रोसँग विद्युत आपूर्ति भइरहेको दाबी गर्दै हल्लाको पछि नलाग्न आग्रह गरे । मन्त्री खड्काले भने, ‘बत्ती गइरहेको कुरा हामीसँग विद्युत कम भएर होइन । हामी के चाहन्छौँ भने सुरक्षित र भरपर्दो विद्युत उपभोक्ताले प्राप्त गर्न सकुन् भन्ने चाहन्छौँ । बाहिर बजारमा हल्ला गरिएको जस्तो विषय होइन । हावाहुरी, चट्याङका कारण कतै अवरुद्ध हुन पुग्ने र त्यसका कारण बत्ती रोकिने विषय हो । त्यसो भएको कारणले यो गत वर्ष पनि थियो, अघिल्लो वर्ष पनि थियो । भोलि पनि हवाहुरी आएको बेलामा जुन मान्छेको काबु बाहिर हुँदा यस्ता घटना हुने गर्दछन् । त्यसलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउने प्रयत्न गरिरहनुभएको छ । कृत्रिम कुराहरु प्रचार प्रसार गरिएको पाइन्छ । त्यस्तो अवस्था होइन । हामीले अहिले आयात गरेका छैनौँ । हाम्रो विद्युत बढी भइरहेको छ । आवश्यकताअनुसारको विद्युत सप्लाइ गर्न सकिरहेका छौँ । उपभोक्ता, देशवासीलाई आग्रह गर्दछु हिजो भन्दा आज राम्रोसँग विद्युत सप्लाई भइरहेको छ । हल्लाका पछि नलाग्नु होला ।’ मन्त्री खड्काले विद्युत नगएको समयमा पनि बत्ती गयो भनेर आतंक फैल्याउनेहरूलाई कानूनी दायरामा ल्याउने चेतावनी दिए । नो लाइट शाखामा विद्युत आपूर्ति भइरहेको भए पनि नभएको भन्दै फोन आउने गरेको र क्रस चेक गर्दा बत्ती रहेको पाइएको बताए। आतंक फैल्याउने र दुःख दिने हिसावले टेलिफोन गर्नेहरूको नम्बर नोट गरेर प्रहरीलाई दिन आग्रह गरे। मन्त्री खड्काले आवश्यकताका आधारमा बजारको मूल्य निर्धारित हुने जानकारी दिए ।
ग्वार्को फ्लाइओरभरको निर्माण कार्य चाँडै सकिँदै, शनिबारदेखि कालोपत्रे थालियो
काठमाडौं । राजधानीको रिङरोडमै निर्माणाधीन रहेको ग्वार्कोमा फ्लाईओभरको काम अन्तिम चरणमा पुगेको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको र शनिबारदेखि कालोपत्रेको काम भइरहेको छ । फ्लाईओभरमा अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको उनले बताए । प्रमुख बराहीले भने, ‘फ्लाईओभरमा कालोपत्रेको काम शनिबारदेखि सुरु गरेका छौं । हाल कोटेश्वरतर्फ कालोपत्रे भइरहेको छ । यही जेठ मसान्तसम्मा काम सकिनेछ । कालोपत्रेदेखि फ्लाईओभरमा ट्राफिक लाईट जडान, पेन्टिङ, रङरोगनलगायतको काम जारी छ । यो काम सकिएलगत्तै गाडी गुड्छ ।’ मौसमले साथ दियो भने काम चाँडै सकिने र गाडी गुड्ने उनको भनाइ छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आइतबार फ्लाईओभर निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै निर्माणका बाँकी कामहरु चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उनले भने, ‘अब काममा ढिलाई गरिनु हुँदैन । हामीले जतिसक्दो छिटो गाडी गुडाउनुपर्छ । मौसमले साथ दिए जेठभित्रमा गाडी चलाउनुपर्छ ।’ रिङरोडमा गुड्ने सवारी साधनहरू ट्राफिक जाममा रोकिनु नपर्ने गरी सरकारले ईपीसी मोडलमा २०७८ साल फागुन १२ गते निर्माण कम्पनी आशिष समानान्तर जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० फागुन ११ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, विभिन्न कारणले पटक–पटक म्याद थप हुँदै आएको छ । निर्माण कम्पनी जेभीले तोकिएको समयमा काम सम्पन्न नगरेपछि सरकारले २०८१ पुस ८ गतेसम्म म्याद थप गरेको थियो । निर्माण कार्य अन्तिम चरणमा पुगेकै बेला कंक्रिटको एउटा प्यानलको ज्वाइन्ट ग्याप बढेको देखिएपछि बनिसकेको पर्खाल भत्काउनुपरेको थियो । त्यसपछि पुनः म्याद थप गरी वैशाखसम्म पुर्याइएको थियो । सम्झौताअनुसार तोकिएको समयमा निर्माण सम्पन्न नगरेपछि कम्पनीलाई थप भार थपिँदै गएको छ । केन्द्रका अनुसार म्याद सकिएको पुस ८ गतेदेखि नै निर्माण कम्पनीले कुल बजेटको ०.०५ प्रतिशत हर्जाना तिर्दै काम गर्दै आएको छ । ‘फ्लाईओभर’ निर्माणको को कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ छ ।
ग्वार्को फ्लाइओभर निर्माण अन्तिम चरणमा, जेठ मसान्तभित्र सञ्चालनमा आउने (तस्बिरहरू)
काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले जेठ १५ भित्रै काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । आयोजनाले फ्लाइओभर जेठ मसान्तभित्र सवारीसाधन चलाउन मिल्ने गरी काम भइरहेको जानकारी दिएको छ । यसै क्रममा आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले फ्लाइओभरको स्थलगत निरीक्षण गरेका छन् । उनले कामको प्रगति र गुणस्तरबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ । फ्लाइओभर सञ्चालनमा आएपछि ललितपुरको ग्वार्को क्षेत्रमा देखिएको ट्राफिक जाम न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।