‘टेक एण्ड पे’ काे प्रावधान नहटाए ६६ अर्ब लगानी डुब्ने चिन्ता, १७ हजार मेगावाट क्षमताका आयोजना संकटमा पर्ने विश्लेषण
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले बजेटमा आएको जलविद्युत आयोजनाको ‘टेक एण्ड पे’ पीपीए गर्ने प्रावधान हटाउन सरकारसँग आग्रह गरेको छ । बिहीबार इप्पानले आयोजना गरेको बजेटमा सार्वजनिक टेक एन्ड पे पीपीएको प्रावधानविरुद्ध ऊर्जा उत्पादकहरुको भेला कार्यक्रममा टेक एण्ड पे पीपीएको प्रावधानले यो क्षेत्र समाप्त हुने भन्दै संशोधनका लागि सरकारसँग इप्पानका अध्यक्ष गणेश कार्कीले आग्रह गरेका हुन् । उनले २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको मार्गचित्र बनाएर हिँडिसकेपछि विद्युत खरिद सम्झौतामा टेक एण्ड पे ल्याउनु दु:खको कुरा भएको भन्दै गम्भीर आपत्ति जनाए । उनले जेठ १५ मा सार्वजनिक गरिएको बजेटमा टेक एण्ड पे पीपीए प्रावधान बनाउनु राष्ट्र निर्माण गर्ने सरकारको उद्देश्य विपरीतको कार्य भएको बताए । अध्यक्ष कार्कीले भारत र बंगलादेशमा निर्यात हिसाबले २८ हजार ५०० मेगावाटसम्म टेक एण्ड पे पीपीए गर्नुपर्ने र खपतका हिसाबले पनि २०३५ सम्म १३ हजार ५०० मेगावाट आन्तरिक रूपमै खपत हुने प्रक्षेपण रहेकाले अहिले टेक एण्ड पेमा जानुपर्ने कुनै बाध्यता सरकारलाई नरहेको स्पष्ट पारे । प्राधिकरणले सक्दैन भने विद्युत व्यापारका लागि अर्को कम्पनी बनाउनुपर्ने तर यो विषय जसरी पनि सच्याउनुपर्नेमा उनको जोड छ । कार्कीले भारतमा बिजुली निर्यात दिनानुदिन बढिरहेको, बंगलादेशमा पनि वर्षायामकै लागि निर्यात सुरु भएको र आन्तरिक माग पनि हरेक वर्ष बढिरहेको सन्दर्भमा सरकारले बढीभन्दा बढी विद्युत उत्पादन गर्ने गरी निजी क्षेत्रलाई आकर्षित गर्नुपर्नेमा टेक एण्ड पे प्रावधान ल्याएर यस क्षेत्रका उद्योगी व्यवसायीलाई पलायन गराउने बाटो रोजेको चिन्ता व्यक्त गरे । उनले यो व्यवस्था नसच्चाए निजी क्षेत्रसँग रहेका १७ हजार मेगावाट क्षमताका आयोजनाहरू संकटमा पर्ने र त्यसमा अहिलेसम्म भइसकेको ६६ अर्ब रुपैयाँभन्दा बढी लगानी पनि डुब्ने चेतावनी दिए । उनका अनुसार सरकारले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित भएर ‘टेक एन्ड पे’ विधिमार्फत विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर पार्नेछ।
एनआईआईएफले ५३.५ मेगावाटको अपर म्याग्दी- १ जलविद्युत् आयोजनामा लगानी गर्ने
काठमाडौं । नेपाल पूर्वाधार लगानी कोष (एनआईआईएफ)को व्यवस्थापक ग्लोबल इक्विटी फण्ड लिमिटेडले ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी- १ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । अपर म्याग्दी- १ जलविद्युत् आयोजना एक रन-अफ-रिभर (आरओआर) प्रकृतिको आयोजना हो, जसले राष्ट्रिय प्रसारण प्रणालीमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा जलविद्युत् उत्पादनको सैद्धान्तिक सम्भावना अत्यन्त ठूलो भए तापनि अझै पनि यसको ठूलो हिस्सा उपयोग हुन बाँकी छ । अपर म्याग्दी-१ जस्ता ठूला आयोजना विकास गर्नु अत्यन्त आवश्यक रहेको एनआईआईएफले जनाएको छ । ऊर्जा डेभलपर्स अपर म्याग्दी- १ आयोजना प्रवर्द्धक कम्पनी हो । जसले सन् २०३० सम्म १ गिगावाट कार्बन-न्यूट्रल ऊर्जा उत्पादन गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । एनआईआईएफको यो लगानी जुन ग्लोबल इक्विटी फण्ड लिमिटेडद्वारा व्यवस्थापन गरिन्छ, नेपालको जलविद्युत् क्षेत्रमा भएको विश्वासको संकेत हो । ग्लोबल इक्विटी फण्ड लिमिटेड नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमोदित पहिलो प्राइभेट इक्विटीरभेञ्चर क्यापिटल फण्ड म्यानेजर हो, जसले विभिन्न आकार र उद्देश्यका कोषहरू सञ्चालन गर्दै पूर्वाधार विकासमा आवश्यक पूँजी प्रवाह गरिरहेको छ । ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले एनआईआईएफसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । यसैगरी एनआईआईएफका अध्यक्ष डा। मनीष थापाले आयोजनामा लगानी कोषको उद्देश्य मेल खान गएको बताए । ऊर्जा डेभलपर्ससँग स्पष्ट दृष्टिकोण रहेको र यो प्रयासलाई समर्थन गर्न पाउँदा खुसी व्यक्त गरे ।
२८.३ मेगावाटको मध्य चमेलियामा नेपाल बैंक र नबिल बैंकले ७५ प्रतिशत लगानी गर्ने
काठमाडौं । दार्चुला पावर लिमिटेडले २८.३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनामा बनाउने भएको छ । आयोजनामा नेपाल बैंक र नबिल बैंकले लगानी गर्ने भएका छन् । बुधबार सम्पन्न वित्तीय व्यवस्थापन सम्झौतामा दार्चुला पावरका सञ्चालक समितिका अध्यक्ष सञ्जीव न्यौपाने, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तीलकराज पाण्डेय र नबिल बैंकका सीईओ मनोज ज्ञवालीले हस्ताक्षर गरे । सहमतिअनुसार अब आयोजनामा नेपाल बैंक र नबिल बैंकले कुल लागत पाँच अर्ब ६६ करोडको ७५ प्रतिशत ऋण लगानी गर्नेछन् । दार्चुला पावरमा स्वपुँजीको २५ प्रतिशतमा ५१ प्रतिशत अपि पावर कम्पनीको लगानी हुनेछ भने १९ प्रतिशत अन्य जलविद्युत प्रवद्र्धक र बाँकी सर्वसाधारण एवं स्थानीयको लगानी हुनेछ । यो आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न हुने जनाइएको छ । आयोजनाबाट वार्षिक १८५ गिगावाट विद्युत उत्पादन हुने र नौ वर्षमा १३३ करोड आम्दानी हुने अनुमान छ । यस जलविद्युत् आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने छ । आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिने जनाइएको छ । दार्चुला पावर लिमिटेड अपि पावर लिमिटेडको सहायक कम्पनी हो ।