साम्पाङका विद्युत् सेवा विस्तार, टुकीको साहारामा रात कटाउनुपर्ने बाध्यताको अन्त्य

भोजपुर । भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउदै आएका यहाँका ८५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो ।  केन्द्रीय विद्युत् विस्तार भएपछि यहाँका नागरिकको वषौँदेखीको टुकीको साहारामा रात कटाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । वषौँबाट टुकी तथा सोलारको उज्यालोमा जीवन गुजरा गरिरहेको अवस्थामा विद्युत्को केन्द्रीय लाईन विस्तार भएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी सिंहबहादुर तामाङले बताए ।   विद्युत् विस्तारले उज्यालोसँगै कुटानी,पिसानी तथा दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ । अँध्यारोमा रात काट्नुपर्ने अवस्थामा अहिले विद्युतीय उपकरण जडान गरेर काम गर्नसक्ने वातावरण निर्माण भएको उनको भनाइ छ ।  'अँध्यारोमा रात कटाइरहेको अवस्थामा केन्द्रीय विद्युत् लाइन जडान भएको छ' उनले भने,'हाम्रो क्षेत्र भौगोलिक रुपमा निकै विकट भए पनि वडाले खेलेको भूमिकाका कारण बत्ती बल्यो । विद्युत्ले दैनिक जीवनयापनमा सहजता छ । ढिलै भए पनि विद्युत् उपभोग गर्न पाउँदा खुसी लागेको छ ।' दुर्गम क्षेत्र भए पनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयवासी निर्मा शेर्पाले बताए । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा  बसेर देश विदेशको जानकारी लिनसक्ने अवस्था बनेको उनको भनाइ छ ।   'विद्युत्ले हाम्रो दैनिकी फेरिदियो' उनले भने,  'विद्युत् नहुँदा दैनिकी निकै कष्टकर थियो । विद्युत्ले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । राज्य तहबाट भएको यो काम प्रशंसायोग्य छ । वडाको सक्रियतामा भएको विद्युत् विस्तारको काम उदाहरणीय छ ।' भौगोलिक रुपमा विकट रहेकाले धेरै प्रयासपछि यहाँका ८५ प्रतिशत नागरिकमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष पेमदोर्चीे शेपाले बताए । निर्वाचनमा स्थानीयलाई विद्युत्को उज्यालोमा राख्छु भनेर गरेको प्रतिबद्धता पूरा हुने चरण पुगेको उनको भनाइ छ । आफू वडाको जिम्मेवारीमा आउँदा केही स्थानमा मात्र विद्युत् पुगेको अवस्थामा अहिले अधिकांश गाउँमा विद्युत् विस्तार गर्न सफल भएको उनको भनाइ छ ।  'म वडाको जिम्मेवारी आउँदा यहाँको केही स्थानमा मात्र विद्युत् पुगेको अवस्था थियो' वडाध्यक्ष शेर्पाले भने,'अहिले ८५ प्रतिशत क्षेत्रमा विद्युत् विस्तार गर्न सफल भएका छौँ । बाँकी ठाउँमा पनि धमाधम विस्तारको काम गरिरहेका छौँ । अव चाँडै नै उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।' सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै विद्युत् विस्तारमा प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष शेर्पाको भनाइ छ । नौ सय ४१ घरपरिवार रहेको यो वडाको कूल जनसङ्ख्या तीन हजार दुई सय ८३ रहेको छ । रासस

ढोरपाटन सडक सञ्जालमा जोडियो, पर्यटक र स्थानीयवासीलाई सहज

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी-दरवाङ-मुना-जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने छोटो दुरीको सडक पनि हो । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरि –२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्याक निर्माण भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । 'मरेनीमाथिको जङ्गलदेखि जलजलातर्फ करिब नौ किलोमिटर सडकको ट्याक निर्माण भएको छ । ढोरपाटनबाट जलजलासम्म पनि १० किमी कच्ची सडक यसअघिनै जोडिएको थियो,' उनले भने, 'डोजर जलजला पुगेपनि स्तरोन्नतिको काम सकिएपछि मात्र यातायातका साधन सञ्चालन गर्न सकिन्छ ।' बेनीदेखि विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनीदेखि मुना-खोरिया-मरेनी हुँदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग खुलेको हो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बेनीबाट दरवाङ-मुना-जलजला-ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने बताए। उनका अनुसार पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयवासीलाई यो सडक छोटो पर्छ । धवलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले तीन वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो । बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

दरमखोला हाईड्रोले असार ९ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । दरमखोला हाईड्रोपावर इनर्जीले असार ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३९ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात १० लाख ३० हजार ५ सय कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिकाका स्थायी बसोवासले आवेदन दिन सक्नेछन् ।  साथै, सर्वसाधारणलाई छुट्याइएको २८.३३ प्रतिशत अर्थात् २९ लाख १९ हजार ५ सय कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार ९५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपाली, २ प्रतिशत अर्थात् ५८ हजार ३९० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोष र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा असार २३ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन ६ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले दरमखोला पावरहाउस मानेबापाटा, ग्लोबल आइएमई बैंकको वामी, लक्ष्मी सनराइज बैंक, प्रभु बैंकको गल्कोट शाखाबाट आवेदन दिन सक्नेछन् ।  साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।