साढे ५४ करोडमा एकैपटक ६२ ठाउँमा वासस्थान निर्माण गर्दै नेपाली सेना
काठमाडौं । नेपाली सेनाले एकैपटक देशभर ६२ ठाउँमा ब्यारेक, गणहरूमा भवन, वासस्थान लगायत निर्माण कार्य गर्ने भएको छ । काठमाडौंसहित देशभर रहेका विभिन्न ब्यारेक, गण, वाहिनी अड्डा शिक्षालय, निवेश, तालिम केन्द्र, हेड क्वार्टरमा भवन, सैनिक वासस्थान, शौचालय लगायत निर्माण गर्ने भएको हो । स्थपित निर्देशनालय जंगी अड्डाका अनुसार देशभर ६२ ठाउँमा भवन, सैनिक वासस्थान, शौचालय लगायत निर्माण गर्न ५४ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको ठेक्का आह्वान गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा देशभरका विभिन्न ठाउँमा तोकिएको निर्माण कार्य गर्न बोलपत्र आह्वान गरेको छ । निर्माण कार्यको गर्न इच्छुकले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । विगत दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा नेपाली सेना अन्तर्गतका निकायहरूमा निर्माण कार्य गरेर सन्तोषजनक कार्यसम्पादन गरेको हुनुपर्नेछ । बोलपत्र दाताले आफ्नै खर्चमा साइट भिजिट गर्नुपर्नेछ । निर्माण व्यवसायीले सम्झौता बमोजिमको काम शुरु नगरेमा, काम शुरु गरी बीचैमा छोडेमा वा सम्झौता बमोजिम कामको प्रगति नगरेमा त्यस्तो सम्झौता जुनसुकै बखत अन्त्य गरी जमानत जफत गरिने सेनाको कार्यालयले जनाएको छ । सैनिक गट्ठाघर व्यारेक, भक्तपुरका लागि थ्रीएक्स ग्रुप घर, उपत्यका पृतना तालिम शिक्षालय थानकोट ब्यारेकका लागि अधिकृत वासस्थान, ईन्द्रध्वज गण लक्ष्मणडाँडा सिन्धुपाल्चोक, युद्धकवच गण सितापाइला, केन्द्रीय एम.ई.एस.त्रिपुरेश्वरका लागि पदिक वासस्थान, नं. १ वाहिनी अड्डा बालाजुका लागि कार्यालय भवन, स्वयम्भु बारुदखानाका लागि जवान वासस्थान निर्माण गर्ने नेपाली सेनाले जनाएको छ । विद्युत तथा यान्त्रिक सेवा निर्देशनालय तोपखाना ब्यारेकका लागि महिला सैनिक वासस्थान, भैरवनाथ गण लक्ष्मी निवास महाराजगंजका लागि मुख्य प्रवेशदवार (बुर्जा), नं १ सैन्य तालिम केन्द्र मैथली क्याम्प त्रिशुलीका लागि महिला सैनिक बेड, उत्तर पश्चिम पृतना तालिम शिक्षालय लेखफर्सा ब्यारेक सुर्खेतका लागि अधिकृत वासस्थान, कालीशक्ति गण (ई) मोरङ्गका लागि पदिक वासस्थान, भिमदल गण धनकुटाका लागि पदिक वासस्थान, सुदुरपश्चिम पृतना तालिम शिक्षालय कैलालाीका लागि अधिकृत वासस्थान र देविदल गण मालाखेतीका लागि महिला सैनिक बेड निर्माण गर्नुपर्नेछ । यी स्थानमा निर्माणका लागि न्यूनतम ठेक्का रकम भने खुलाइएको छैन ।
माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्ने भएकाे हाे । कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ३ करोड ८५ लाख ८२ हजार रुपैयाँको ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभाको मादी नगरपालिका वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिका वडा नम्बर २, ३, ७, ८, ९ का स्थानीय बासिन्दालाई छुट्याएको छ । साथै, सर्वसाधारणलाई छुट्याइएको १५ करोड ४ लाख ७० हजार रुपैयाँको १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन ४ गते गतेसम्म आवेदन दिनुपर्नेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन १९ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसँगै माबिलुङ्ग इनर्जीको वेवसाइट, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंकको मादि नगरपालिका शाखा, लक्ष्मी सनराइज बैंकको खाँदबारी शाखा र आयोजनाको पावरहाउस रहेको संखुवासभाको मादि नगरपालिका-७ बाट समेत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
५२ करोडमा दरवाङ–मुना सडक कालोपत्र हुँदै, म्याग्दीको सबैभन्दा ठुलो आयोजना कार्यान्वयनमा
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक स्तरान्नतिसम्बन्धी आयोजना कार्यान्वयनमा आएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक ५२ करोड बढीको लागतमा कालोपत्र गर्न लागिएको हो । गण्डकी प्रदेशसभाका सांसद रेशमबहादुर जुग्जालीले पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनी छनोट गरी ठेक्का सम्झौता गरेपछि सडक स्तरान्नतिसम्बन्धी आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिए । 'मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि ९२ करोड ९२ लाखको स्रोत सुनिश्चितता भएको थियो', उनले भने, 'आयोजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र झिनडाडा–मुना (चार किलोमिटर) अस्फाल्ट प्रविधिको कालोपत्रसहित ढलान हुुनेछ ।' गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका आयोजनामध्ये यो सबैभन्दा ठूलो र बढी बजेटको रहेको जुग्जालीले जानकारी दिए । जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले प्रशासनिक खर्चबाहेक रु ६७ करोड लागत अनुमान गरिएको आयोजना कार्यान्वयनका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा सिम्रन/सक्षम जेभीले सबैभन्दा कम ५२ करोड ८० लाख ५३ हजार बोलकबोल गरेपछि यही असार ११ गते ठेक्का सम्झौता भएको जानकारी दिए । 'सङ्घीय र प्रदेश सरकारको (समपूरक) ५०/५० प्रतिशत लागत साझेदारी रहने यस आयोजनाको ठेक्का अवधि २७ महिनाको छ', उनले भने, 'सङ्घीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २४ बजेट विनियोजन गरेको यस आयोजनाका लागि आगामी आवका लागि रु २३ करोड २२ लाख विनियोजन भएको छ ।' केहीदिनमा कार्यक्षेत्रमा परिचालित भएर सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थाल्ने ठेकेदार कम्पनीका प्रतिनिधिले बताएका छन् । उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किमी दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि गत वर्ष रु १४ करोड ६१ लख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । उक्त आयोजनाको निर्माण कम्पनी रामसागर/बिएस धवलागिरि जेभीले करिब ५५ प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले जुग्जालीले प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेका बेला विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक आयोजनामा समावेश गराउने निर्णय गराएका थिए । 'बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किमी सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ', जुग्जालीले भने, 'अबको तीन वर्षभित्र दरवाङबाट मुनासम्मको सडक पक्की बनाउने छौँ ।' मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको केही दिनअघि मार्ग खुलेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । सङ्घीय सरकारले मरेनीबाट जलजला ढोरपाटन जोड्ने सडकका लागि चालु आवमा विनियोजन गरेको ६ करोड ५० लाख बजेटले आयोजनामार्फत सडकको मार्ग खोल्न ठेक्का लगाइएको थियो । रासस