मुनाल सहकारी र पोखरा हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

काठमाडौं । पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर बिच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा सहकारीको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाई र पोखरा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक बासुदेव कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि सहकारीका कर्मचारीले पोखरा अस्पतालबाट प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा न्यूनतम १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन । यस अस्पतालले २४ घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा, आधुनिक ल्याव, डिजिटल एक्स्रे, आधुनिक शल्यक्रीया कक्ष, फार्मेसी मार्फत सेवा प्रदान गरिरहेको छ । यो विशेष छुट सुविधाबाट सहकारीका सेयर सदस्य, कर्मचारी र परिवार लाभान्वित हुने मुनाल सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताएका छन् ।

वीपी स्वास्थ्य प्रतिष्ठानले १०० श्ययाको सेवा विस्तार गर्ने

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठान प्रशासनले सरोकारवालासँंग आवश्यक समन्वय गरी अस्पताल सेवा विस्तारका लागि अनुकूल वातावरण बनाउन प्रतिष्ठानका उपकुलपति प्रा.डा राजकुमार रौनियारले प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई जिम्मेवारी दिएपछि औपचारिकरुपले अस्पताल सेवा विस्तारको तयारी शुरु भएको हो । पुरानो अस्पताल भवनसमेत रहेको उक्त स्थानको भौतिक पूर्वाधारको उपयोगसहित अस्पताल सञ्चालनको जिम्मेवारी विगतमा जिल्ला जनस्वस्थ्य मातहतमा रहेको स्थानीय तहमा समायोजन भएको स्वास्थ्य चौकी र यसअन्तर्गत सञ्चालित पाँच श्ययाको बर्थिङ सेन्टर, पुनःस्थापना गृहको व्यवस्थापनका विषयमा छलफल अघि बढाएको हो । उक्त स्थानमा बसोबास रहेको पाँच सुकुम्वासी परिवार, सवारी पार्किङ, प्रतिष्ठानकै चिकित्सकबाट सञ्चालित मिर्गौला रोगसम्बन्धी केएचडिसी कार्यक्रम, नगरस्तरीय वातावरण समन्वय समिति, प्रतिष्ठानको आवास, अन्य जीर्ण भवनलगायतको अवस्थाका विषयमा समेत यथार्थ जानकारी दिने कार्य भएको छ । तामाङले उक्त स्थानको व्यवस्थापनका विषयमा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे र वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडासँंग पनि अस्पताल सञ्चालनका सम्बन्धमा छलफल गरिसकेको बताए । रासस

अस्पतालमा औषधिको अभाव, डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले किन्नुपर्ने

धादिङ । जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था आएको बताए। बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरले आफैँले उपचार सामग्री र औषधि खरिद गर्नुपर्ने बताउने गरेको राजन श्रेष्ठको भनाइ छ । सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि अत्यावश्यक औषधिसमेत सकिएपछि अन्यौलमा परेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए । नेपाल सरकारले निःशुल्क औषधि खरिद गर्नका लागि दिँदै आएको रु आठदेखि १० लाख रकम नपुग हुँदा निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन । जिल्ला अस्पतालमा दैनिक आउने करीब २०० बिरामीको परीक्षण गर्दा चिकित्सकले प्रयोग गर्ने सामग्री र र निःशुल्क औषधिका लागि करिब ७० लाख रुपैयाँ आवश्यक पर्ने भए पनि सरकारले उपलब्ध नगराउँदा निःशुल्क स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो । रासस