विश्वमा ४५ करोड मधुमेहका बिरामी, विलासी जीवन राेगकाे मुख्य कारण
डा भोजराज अधिकारी चितवन । असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएका छन् । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय डा भोजराज अधिकारीका अनुसार मधुमेह बिरामी बर्षेनी थपिँदै गएका छन् । उनका अनुसार हाल विश्वमा ४५ करोड मधुमेहका बिरामी रहेको तथ्याङ्क छ । तीमध्ये सात १० प्रतिशत उच्च जोखिमका छन् । सबैभन्दा बढी भारत र चीनमा मधुमेहका रोगी छन् । डा. अधिकारी भन्छन्, “विश्वका मधुमेह रोगीमध्ये २० प्रतिशत भारत र चीनमा छन् ।” यी दुई देशको बीचमा नेपाल छ । एउटै रहनसहन र खानपानका कारण नेपाल पनि मधुमेहको उच्च जोखिममा रहेको उनकाे भनार्इ छ । विकासोन्मुख देशहरुका जनता गरीबबाट धनी हुँदै जाँदा हुने विलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगीहरु ह्वात्तै बढ्ने गरेका छन् । विसं २०६७ मा सात जना मधुमेहका बिरामीबाट उपचार शुरु गरेको बताउने डा अधिकारी अहिले सात हजार हाराहारी आफ्नो निगरानीमा रहेको बताउछन् । उनी जस्ता अरू धेरै चिकित्सकले नेपालमा मधुमेहका बिरामी हेर्दै आएका छन् । नेपालमा १० दशमलव ५ प्रतिशत पुरुष र सात दशमलव ९ प्रतिशत महिलामा मधुमेह रहेको तथ्याङ्क छ । चितवनमा यो १० देखि १२ प्रतिशत रहेको डा. अधिकारीको भनाइ छ । जिल्लाको सौराहामा गरिएको एक सर्वेक्षणमा २४४ परिवारमध्ये ५० परिवारमा मधुमेह भेटिएको थियो । मधुमेह समाज चितवनका सचिव केशव देवकोटा अनियन्त्रित आहारविहार, असन्तुलित खानपान र विलासी जीवनका कारण मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको बताउँछन् । मधुमेह रोगीलाई चिनी र चिल्लो बोसोयुक्त प्रशोधित खानेकुरा, चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यू, नौनी, बोसो, तारेको वा भुटेको खाना नखान उनको सुझाव छ । यस्तै चुरोट, बिँडी सुर्ती, तमाखु, खैनी, जर्दा आदि सुर्तीजन्य पदार्थ तथा बियर, रक्सीजस्ता मदिराजन्य पदार्थ सेवन नगर्ने, लामो समयसम्म भोकै नबस्ने जस्ता क्रियाकलाप गर्न सके मधुमेहबाट बच्न सकिने सचिव देवकोटाले बताए । डा अधिकारीका अनुसार ३० वर्ष मुनिकालाई पहिलो तह र ३० वर्षभन्दा माथिकालाई दोस्रो तहको मधुमेह हुन्छ । पहिलो तह पारिवारिक र वंशाणुगत कारणले हुन्छ भने दोस्रो तह खानपान र जीवनशैलीका कारण हुने गर्दछ । मधुमेहले तत्काल हृदयाघात, मस्तिष्काघात, मिर्गौला खराब, दृष्टि गुम्ने जस्ता समस्या ल्याउन सक्छ । दीर्घकालीन रुपमा पनि यसले बिस्तारै मिर्गौला खराब गर्ने, दृष्टि समस्या बढ्दै जाने, घाउ निको नहुने, मस्तिष्काघातसम्म पु¥याउने खतरा रहने उहाँले बताए । मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने चिकित्सक बताउँछन् । शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुँदा वा उत्पादित इन्सुलिन प्रभावकारी नहुँदा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकतानुसार खाने औषधि र कहिलेकाहीँ इन्सुलिनको पनि आवश्यकता पर्ने उनी बताउँछन् । मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु, पटक पटक पिसाब हुनु, पिसाबको मात्रा धेरै हुनु, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, रुचि बढ्नु वा भोक धेरै लाग्नु, बराबर घाउ खटिरा आउनु तर निको हुन समय लाग्नु, शरीर खासगरी गुप्ताङ्क चिलाउनु, दृष्टि धमिलो हुनु, हातगोडा झम्झमाउनु मधुमेहको मुख्य लक्षण रहेको डा अधिकारीले बताए । बेलैमा नियन्त्रणमा राख्न सकेमा मधुमेहले शरीरका अति महत्वपूर्ण अङ्ग आँखा, मुटु, मिर्गाैला, दिमाग र रगत तथा स्नायुका नसामा असर पु¥याउन नसक्ने चिकित्सकको भनाइ छ । बीस वर्षदेखि मधुमेहका बिरामी उपचार गर्दै आउनुभएका वरिष्ठ फिजिसियन प्रा डा विजय पौडेल शारीरिक रुपमा सक्रिय रहन, नियमित व्यायाम गर्न, स्वास्थ्यवद्र्धक ग्लुकोज, चिनी नभएका खाना खान, दैनिक ६ पटक थोरै थोरै खाना खान, साँझ ७ बजेपछि खाना नखान सुझाव दिए । उचाइअनुसार तौल कायम राख्न, प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खान, चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्न उनकाे सल्लाह छ । संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकताअनुसारको औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिने पनि उनकाे भनार्इ छ । सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउँदै आएको छ । यस। वर्षको नारा ‘परिवार र मधुमेह’ रहेको छ । रासस
सास गन्हाएर हैरान हुनुहुन्छ ? छुटकारा पाउन बेकिङ सोडा यसरी प्रयोग गर्नुस्
काठमाडौं। धेरै मानिसहरुको सास गन्हाउने समस्या हुन्छ। दाँतलाई दिनको दुई पटक वा सो भन्दा बढी माझ्ने, माउथ वाश प्रयोग गर्ने वा मुख सफा राख्ने जस्ता कार्य गरे पनि सास गन्हाउने समस्याले हैरान नै बनाउँछन्। यसले गर्दा अरुको अगाडी गएर निस्फिक्री कुरा गर्न नसकिने वा अरुले पनि तपाईंलाई त्यति धेरै मन नपराउने जस्ता समस्याहरु झेल्नुपर्ने हुन्छ। यदि सहनै नसक्ने गरि सास गनाउँछ भने डाक्टरसंग सल्लाह लिएर उपचार गराउनु बेस हुन्छ। तर कतिपय अवस्थामा आफ्नै लापरबाह वा मुखको राम्रो सफा नगर्नाले यस्तो समस्या आउँछन्। सास गनाउने समस्या रोक्न यस्ता घरेलु चिजहरु छन् जुन प्रभावकारी र अचुक औषधी सावित भइसकेको छ। यस समस्या बाट छुटकारा पाउन बेकिंग सोडा एक अचुक औषधी हो जसले सास गन्हाउने समस्यालाई पूर्ण रुपमा हटाउँछ। तल दिएका विधी अप्नाई सास गनाउने समस्याबाट बच्नुहोस् १. बेकीङ सोडाले मुख पखाल्ने: आधा कप पानीमा सानो चम्चा को आधा बेकीङ सोडा राख्ने। बेकीङ सोडालाई पानीमा घोलिसकेपछी मुखमा राखेर भित्र वरिपरी पुर्याउने। त्यसपछि पानीलाई फाल्ने र मुख राम्ररी पखाल्ने। २. बेकीङ सोडाले ब्रस गर्ने: थोरै बेकीङ सोडाको पाउडरलाई कचौरामा राख्नुहोस्। अब थोरै मात्रा ब्रसमा लिएर दैनिक ब्रस गरे जसरी नै दाँतलाई माझ्नु होस्। यसरी ब्रस गरिसकेपछि मुखलाई राम्ररी पखाल्नुहोस्। ३. बेकीङ सोडा र कागतीको रस: सानो एक चम्चा बेकीङ सोडा र कागतीको रस लिने। आधा कप जति पानीमा बेकीङ सोडा र कागतीको रस मिसाउने। यी तीनओटै चिज मिक्स गरेपछि यस पानीलाई मुखमा राखेर १ वा २ मिनेटको लागि गर्गल गर्ने। यस विधिलाई बिहान, दिउसो र राती गरि तीन पटक सम्म प्रयोग गर्न सक्नुहुनेछ। यसो गर्नाले तपाईंको सास गन्हाउने समस्या १ देखि २ हप्ता भित्र देखि नै कम हुँदै जान्छ र निरन्तर यस विधिलाई अपनाउनु भयो भने पूर्ण रुपमा छुटकारा पाउनु हुनेछ।
दाजले महामारी रुप लिँदै, सस्तो मल्हमको प्रयोगले थप समस्या
काठमाडौं। छालासम्बन्धी रोग दाज (छालामा रातो देखिने) ले महामारीको रुप लिन थालेको छ । रुपन्देहीको विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिकांशलाई छालामा कनाउने र कनाएपछि आनन्द मिल्ने विशेषता रहेको दाज महामारीको रुपमा फैलिएको हो । छाला, यौन तथा कुष्ट रोग विशेषज्ञ डा योगेश पौड्यालले दाजको ‘स्टेर वाइड’ औषधिका कारण यसले महामारीको रुप लिन थालेको जानकारी दिए। उनले रोगबाट पीडितलाई यस्तो प्रकारको औषधि प्रयोग नगर्न सुझाव दिए। “मैले जाँच गरेका छालाका बिरामीमध्ये ७० प्रतिशतमा दाजको समस्या देखिएको छ”, डा पौड्यालले भने। उनले यस्ता सस्तो प्रकारको मल्हमले दाजको दाग हटाए पनि पूर्णरुपमा निको नहुने जानकारी दिँदै नङमा हुने सङ्क्रमणले पनि दाज फैलाउनमा सहयोग गरेको बताए। दाज, काछ, स्तनमुनि, काखी, नङलगायतका शरीरका विभिन्न स्थानमा आउने सरुवा रोग हो । डा पौड्यालले सो रोग लाग्न नदिन विशेष गरेर सरसफाइमा ध्यान दिन आग्रह गर्दै यो रोग छालामा लाग्ने ढुसीका कारण हुन्छ भने। उनले सोनाडर्म, क्वाडीडर्म, रिङगार्डलगायतका औषधिले दाजको रातोपना घटाउने काम मात्रै गरेको जानकारी दिँदै यस्तो खालको औषधिले शरीरको ढुसीसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर बनाउने तर्क गरे। डा पौड्याल भन्छन्, “यसले बिरामीलाई निको भयो भन्ने भान हुन्छ र पूर्णरुपमा निको नभएकाले पुनःछाला चिलाउन शुरु हुन्छ तर पुनःराम्रो औषधिले पनि काम नगर्न सक्छ ।” ‘स्टेर वाइड’ औषधि प्रयोगमा नल्याउन दाजका बिरामीलाई आग्रह गर्दै उनले यसको उपचार महङ्गो भएकालेसमेत महामारीको रुप लिएको बताए। दाज छालाको माथिल्लो तहमा च्याउ जस्तै भएर बसेको एक प्रकारको जीवाणु हो । यो तलसम्म जाँदैन माथिमाथि बसेको हुन्छ । छालामा एक प्रकारको प्रोटिन हुन्छ त्यो खाएर बसेको हुन्छ । छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा पौड्यालले सरसफाइको चेतना र ‘स्टेर वाइड’ औषधिको प्रयोग नगरेर दाज पूर्णरुपमा निको हुने उल्लेख गर्दै ‘स्टेर वाइड’ औषधि नभएको भए महामारीको रुप आउँदैनथ्यो भन्छन्। तापक्रम बढी भएको ठाउँमा ढुसी लाग्ने र त्यसबाट दाजले आफ्नो आकार लिने र गर्मी महीनामा पसिना आउने कारणले पनि फोहर भएर दाज आएको बताइएको छ । दाजका लागि माछा वा मासु खान कुनै समस्या रहने छैन । डा पौड्यालले दाजको विरामीलाई ‘एन्टिफङ्गल’ औषधि कम्तीमा १५ दिनदेखि तीन महीनासम्म खान वा लगाउन आवश्यक हुने बताए। रासस