गलकोटमा रक्तसञ्चार सेवा सुरु, अब पोखरा–काठमाडौं पठाउनुपर्ने बाध्यता हट्ने
बागलुङ । बागलुङको गलकोट अस्पतालमा ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा) सञ्चालनमा आएको छ । दाताले लाखौँ रुपैयाँको उपकरण सहयोग गरेपछि नगर अस्पतालमा रक्तसञ्चार सेवा सञ्चालन भएको हो । १४ लाख रुपैयाँको लागतमा दाताले यहाँ उपकरण तथा अन्य आवश्यक सामग्री सहयोग गरेपछि नगरपालिकाले १५ लाख रुपैयाँमा पूर्वाधार निर्माण गरी सेवा सुरु गरेको हो । पश्चिम बागलुङमा अहिलेसम्म रक्तसञ्चार सेवा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको हुँदा दातासँग सहकार्य गरेर सेवा सुरु गरेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । श्रीपाली बस्नेत समाज, रेडक्रस सोसाइटी जिल्ला शाखाले रक्तसञ्चार सेवाका लागि मेसिनलगायत अत्यावश्यक उपकरण दिएको उनको भनाइ छ । ‘नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ, दूरदराजका नागरिक सामान्य उपचारका लागि पहिले पोखरा, काठमाडौं जानुपर्ने बाध्यता थियो, अहिले नगर अस्पताल सञ्चालन गरेर विशेषज्ञ सेवा दिन थालेका छौँ’, नगरप्रमुख गैरेले भने, ‘अहिले नगर अस्पतालको सेवा प्रभावकारी बन्दै गएको छ, यहाँ रक्तसञ्चार सेवाको निकै खाँचो थियो, यसपालि विभिन्न दातासँग सहकार्य गरेर त्यसको पनि व्यवस्थापन गरेका छौँ ।’ गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले अस्पतालमा प्रसूति, शल्यक्रिया र गम्भीर दुर्घटनाका बिरामी आउने तर रक्तसञ्चार सेवा नहुँदा पोखरा, काठमाडौं रिफर गर्नुपरेको भन्दै अब त्यो समस्याको समाधान भएको बताए । पछिल्लो समय रक्तसञ्चार सेवा लिने बिरामीसमेत बढेको उनको भनाइ छ । शल्यक्रियामार्फत प्रसूति गराउने महिलालाई रक्तसञ्चार सेवाले महत्त्वपूर्ण सघाउ पुर्याउने डा. पौडेलले बताए । उनले भने, ‘गलकोट क्षेत्रमा एउटा ‘ब्लड बैंक’को अतिआवश्यक थियो, पहिले यो सेवा नहुँदा यहाँबाट महिनामा करिब १२–१५ जना बिरामीलाई टाढा पठाउन बाध्य थियौँ, अब चाहिँ यहीबाट सेवा दिनसक्ने भएका छौँ, यो सेवाले पश्चिम बागलुङका ६ वटा पालिकाका हजारौँ नागरिक लाभान्वित हुने छन् ।’ २०७९ सालदेखि सुरु भएको नगर अस्पतालमा हाल १५ शय्याको सेवा सुरु भएको छ । अस्पतालबाट अहिले भिडियो एक्सरे, अल्ट्रासाउन्ड, ल्याब, फिजियोथेरापी, आँखा उपचार केन्द्र, ओपिडी, सुत्केरी सेवासहित शव परीक्षण सेवा सञ्चालन भइरहेको डा. पौडेलले बताए । रासस
जटिल रोगीको स्याहारका लागि सरकारले ल्यायो १० वर्षे रणनीति
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जीवन सीमित भएका जटिल बिरामीको स्याहार तथा उपचार लक्षित गरी नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति २०२५-२०३५ स्वीकृत गरेका छन् । क्यान्सर, हृदय रोग, फोक्सो रोगी, अल्जाइमर्स, पार्किन्सन्स, मृगौलासम्बन्धी रोगजस्ता दीर्घकालीन जीवनलाई चुनौती दिने अवस्थामा प्रदान गरिने प्रशामक सेवाका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई तयार पार्ने उद्देश्य रणनीतिले बोकेको छ । नेपालमा क्यान्सर रोगीहरुका लागि यस्तो सेवा भए पनि जीवन सीमित भएका अन्य बिरामी तथा परिवारका लागि स्वास्थ्य समस्या र त्यससँग जुध्न सक्ने गरी प्रशामक सेवा उपलब्ध छैन । मन्त्री पौडेलले स्वीकृत गरेको रणनीतिले स्वास्थ्य संस्थाहरुले त्यस्ता जटिल र उपचार सम्भव नदेखिएका बिरामीहरुको स्याहार, हेरचाह तथा परिवारलाई समस्यासँग जुध्न सहायता गर्ने अवस्थामा जोड दिएको छ । रणनीतिले यसका लागि हरेक तहका स्वास्थ्य संस्थालाई जनशत्तिः निर्माण तथा सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । यसैगरी, हरेक स्वास्थ्य संस्थाबाट आवश्यक औषधी तथा स्तरीय सेवा दिने उद्देश्य पनि रणनीतिले बोकेको छ । रणनीति स्वीकृत भएसँगै अब धेरै नागरिकले भोग्दै आइरहेका जटिल प्रकृतिका समस्याको सामना गर्न परिवार, समाज तथा राज्यलाई प्रेरणा र सहायताका लागि सहज हुने अपेक्षा गरिएको छ । मन्त्रालयले रणनीतिलाई प्रभावकारी रुपमा अघि बढाउने प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।
धुलिखेल अस्पतालका लागि जापानले ५७ करोड ३० लाख येन अनुदान दिने
काठमाडौं । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो । यस अघि सन् २०२३ अक्टोबरमा जापान सरकारसँग यो परियोजनाको कार्यान्वयनका लागि ३ अर्ब २९ करोड ६० लाख येन अनुदान दिने सम्झौता भएको थियो । सहमति पत्रमा हस्ताक्षर लगत्तै अर्थमन्त्री पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री अकिकोबीच छुट्टै भेटवार्ता भएको थियो ।