नारायणीमा हाजिरै नभएकी डा. मिश्रलाई वीरमा सरुवा

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११औं तहकी विशेषज्ञ जनरल सर्जन डा. उदिता मिश्रलाई दरबन्दी भएको अस्पतालमा हाजिर नै नगरी वीर अस्पतालमा सरुवा गरेपछि उक्त निर्णयको कानुनी वैधतामाथि प्रश्न उठेको छ । 

११औं तहमा बढुवा भएपछि डा. मिश्रको दरबन्दी नारायणी अस्पताल, वीरगञ्जमा कायम गरिएको थियो । तर, उनी त्यहाँ हाजिर हुन नगई स्वास्थ्य तथा स्वच्छता मन्त्रालयमै काजमा कार्यरत थिइन् । मन्त्रालयले साउन ६ गतेको निर्णयबाट काजकै अवस्थामा उनको वीर अस्पतालमा सरुवा गरेको छ । 

‘डा. मिश्रलाई खटिएकै संस्थाबाट तलबभत्ता लिनेगरी वीर अस्पताल चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान न्याम्समा सरुवा गरिएको छ,’ पत्रमा लेखिएको छ ।

सरकारी सेवामा सरुवा आदेश कार्यान्वयन नगरी तथा सरुवा भएको कार्यालयमा हाजिर नभई काजमा रहेको कार्यालयबाटै पुनः अर्को स्थानमा सरुवा गर्ने अभ्यास प्रचलित कानुनी व्यवस्था र प्रशासनिक प्रक्रियासँग मेल नखाने प्रशासनिक कानुनका जानकारहरू बताउँछन् ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार काज अस्थायी प्रकृतिको जिम्मेवारी हो । काजमा रहे पनि कर्मचारीको दरबन्दी र पदाधिकार भने मूल कार्यालयमै कायम रहने व्यवस्था छ ।

null

null

त्यसैले सरुवा आदेश कार्यान्वयन नगरी काजबाटै अर्को कार्यालयमा सरुवा गर्नु कानुनी रूपमा प्रश्नको विषय भएको उनीहरूको भनाइ छ ।

यस्तै, निजामती सेवा नियमावली, २०५० को नियम ३९ ले सरुवा भएका कर्मचारीले रमानापत्रमा तोकिएको अवधिभित्र सम्बन्धित कार्यालयमा अनिवार्य रूपमा हाजिर हुनुपर्ने व्यवस्था गरेको छ । 

null

उक्त नियमअनुसार सरुवा भएको कार्यालयमा हाजिर नभई अर्को पद वा कार्यालयमा सरुवा गर्न नमिल्ने स्पष्ट उल्लेख छ । निर्धारित अवधिभित्र हाजिर नभए सम्बन्धित कर्मचारी विभागीय कारबाहीको भागीदारसमेत बन्न सक्ने व्यवस्था नियमावलीमा रहेको छ ।

नियमावलीको नियम ४० मा सरुवा भएका कर्मचारीलाई बरबुझारथ तथा तयारीका लागि निश्चित समय दिइने व्यवस्था भए पनि त्यसपछि सम्बन्धित कार्यालयमा अनिवार्य रूपमा हाजिर हुनुपर्ने प्रावधान छ ।

नारायणी अस्पतालका सूचना अधिकारी सुशील यादवले डा. मिश्रको सरुवासम्बन्धी पत्र अस्पतालमा प्राप्त भएको पुष्टि गरे । 

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले पनि उनको वीर अस्पतालमा सरुवा भएको जानकारी दिए । तर मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

डा. मिश्रले पनि आफू वीर अस्पतालमा कार्यरत रहेको स्वीकार गरिन् । विकासन्यूजसँग कुरा गर्दै उनले वीर अस्पतालमा ट्रान्सप्लान्टका डाक्टरहरू नभएकाले आफूलाई सरकारले यहाँ खटाएको बताइन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले काजमा रहेका चिकित्सकहरू मूल दरबन्दीमा नफर्किँदा अस्पतालको सेवा सञ्चालन प्रभावित भइरहेको बताए । 

उनका अनुसार हालसम्म काजमा रहेका चिकित्सकमध्ये पाँच जना मात्रै अस्पतालमा फर्किएका छन् । उक्त अस्पतालका २२ चिकित्सकसहित ४५ जना कर्मचारी हाल काजमा रहेका छन् ।

डा. साहले केही दिनभित्र काठमाडौं आएर दरबन्दी भएर पनि अन्यत्र कार्यरत चिकित्सकहरूको विषयमा मन्त्रालयसँग छलफल गर्ने र हालै अस्पतालमा भएको आक्रमणबारे पनि मन्त्रालयलाई जानकारी गराउने तयारी रहेको बताए ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो समय काजमा रहेका चिकित्सकलाई दरबन्दी भएका अस्पतालमै फर्काउने नीति कार्यान्वयन गरिरहेको दाबी गरिरहेको छ । 

तर, यही समयमै दरबन्दी भएको अस्पतालमा हाजिर नै नगरेकी चिकित्सकलाई काजकै अवस्थाबाट अर्को अस्पतालमा सरुवा गरिएको घटनाले मन्त्रालयको सरुवा प्रणालीमा दोहोरो मापदण्ड अपनाइएको हो कि भन्ने प्रश्न समेत उठाएको छ ।

Share News