भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमुना बनाउँदै विदेश उपचार गर्न जानेको सङ्ख्या घटाउने लक्ष्यसहित बालचिकित्सा सघन एकाइ सुरुआत गरिएको बताएका छन् । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरपीडित बालबालिकाको विशेष उपचारका लागि बालचिकित्सा सघन एकाइको आज उद्घाटन गर्दै उनले भारतलगायत विदेशमा उपचारका लागि जानेको सङ्ख्या घटाउन अस्पतालका सुविधा विस्तार गर्दै लगिएको बताए । उनले स्वदेशमा सहज सेवा पाउने वातावरण तयार गरिने प्रतिबद्धता जनाए । मन्त्री पौडेलले यसअघि बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेपछि वैशाखभरि सघन एकाइ सञ्चालनको तयारी गरिएको थियो । सोही निर्णय कार्यान्वयन गर्दै बालबालिकाको उपचारका लागि बालचिकित्सा सघन एकाइको सुरुआत गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री पौडेलले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको जनाउँदै सकेसम्म थप दायित्व नपर्ने गरी विभिन्न किसिमका उपचार सेवा सुधार र विस्तार गर्दै जाने उल्लेख गरे । 'हामीसँग आर्थिक अभाव छ, यसलाई मध्यनजर गर्दै अधिकतम स्रोतको उपयोग गरेर नागरिकलाई सहज र सर्वसुलभ सेवा प्रदान गरिरहेका छौँ', उनले भने । आफूले गरेको पहिलो निर्णय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत रहेको जनाउँदै स्वास्थ्यमन्त्रीले क्यान्सर उपचारलाई सहज, पहुँचयोग्य र सुलभ बनाउन यथासम्भव काम गरिने बताए । आगामी आर्थिक वर्षमा क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने उनले जानकारी दिए । एकाइमा बालबालिकाका लागि आइसीयुका चार, दिवा हेरचाह चार र साधारण शय्या सात रहेका अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले जानकारी दिए । अस्पतालमा सेवा विस्तार तथा स्तरोन्नतिका लागि मन्त्री पौडेलले प्राथमिकता दिएर योजना अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

स्वास्थ्यमा प्रशासन होइन, उपचारमा जनशक्ति चाहिन्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा प्रशासनिक जनशक्ति विस्तार होइन, उपचार सेवामा जनशक्ति बढाउनु पर्ने स्पष्ट पारेका छन् । आइतबार भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर (पेडियाट्रिक अन्कोलोजी) वार्ड र पिआइसियु कक्षको उद्घाटन गर्दै उनले प्रशासनलाई साँघुरो बनाउँदै उपचार केन्द्रित पूर्वाधार र सेवामा प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने, 'डाक्टर चाहिएको बेला प्रशासक ल्याएर त हुँदैन, अस्पतालका कोठाहरू उपचारका लागि प्रयोग गर्नुपर्छ ।' मन्त्री पौडेलले अस्पतालको सेवा विस्तारका लागि आवश्यक जग्गा अभाव भएको उल्लेख गर्दै स्थानीय तह र सम्बन्धित निकायले शीघ्र सहकार्य गर्नुपर्ने बताए । 'भूमिसुधार कार्यालयबाट ढिलो भएकोले पूर्वाधार निर्माणको काम अगाडि बढ्न सकेको छैन,' उनले भने । मन्त्री पौडेलका अनुसार सरकारले १४ वर्ष मुनिका क्यान्सरपीडित बालबालिकाको उपचार पूर्णरूपमा निःशुल्क गरिरहेको छ भने करिब ८० प्रतिशत औषधि पनि अस्पतालमा निःशुल्क उपलब्ध छ । त्यस्तै, स्टोक र हेमोफेलियाजस्ता जटिल रोगका औषधिहरू पनि तीनवटा अस्पतालमा निःशुल्क वितरण भइरहेको जानकारी दिए । 'श्रोत छैन भनेर बसिरहने बेला होइन,' मन्त्री पौडेलले भने, 'हामी आन्तरिक स्रोत र साधनको अधिकतम उपयोग गर्दै स्थायी र गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध छौँ ।' उनले प्रशासनलाई खुम्च्याएर उपचार सेवामा बढी लगानी गर्नुपर्ने बताए । मन्त्री पौडेलले स्वास्थ्यसेवा विस्तारका लागि घोषणा मात्र होइन, कार्यान्वयनमै ध्यान केन्द्रित गर्दै अस्पतालको पूर्वाधार, सेवा र पहुँच विस्तारमा सरकार दृढ रहेको सन्देश दिएका छन् ।

५० वर्ष पुरानो भवनको सट्टामा सुविधा सम्पन्न चौकी, गलकोटमा स्वास्थ्य सेवा बलियो

ढोरपाटन । गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ । दुईवटै स्वास्थ्य चौकी निर्माण अघिल्लो वर्ष सुरु गरिएको थियो । दुदिलाभाटी स्वास्थ्य चौकी २०८० मङ्सिरमा सम्झौता गरी काम सुरु भएको थियो । विष्णु निर्माण सेवाले रु एक करोड ८१ लाख ५८ हजार ६८० लागतमा निर्माणको जिम्मा पाएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । उक्त भवन गत माघमा सम्पन्न भएको थियो । मल्म स्वास्थ्य चौकी २०८० असारमा सम्झौता भई काम सुरु भएको थियो । जयकालिका भगवत/केसी निर्माण सेवा जेभीले रु दुई करोड ३१ लाख ३६ हजारको लागतमा निर्माण गर्नेगरी जिम्मा पाएको उक्त भवन गत वर्ष पुसमा सम्पन्न भएको थियो । प्रवक्ता भण्डारीका अनुसार, गलकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ । पालिकाका सबै स्वास्थ्य चौकीको सुविधायुक्त भवन बने, यहाँबाट दिइने सेवालाई पनि गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ । आम नागरिकले विश्वास गर्नेगरी स्वास्थ्य संस्थाबाट सेवा दिने प्रयास भइरहेको छ । कोही बिरामी भए गाउँमै उपचार पाउने भएका छन् । दुदिलाभाटी स्वास्थ्य चौकी प्रमुख याममाया रानाले ५० वर्ष अगाडि बनेको साँघुरो कच्ची भवनबाट सेवा प्रभावकारी हुन नसकेको बताए । एउटै कोठाबाट धेरै सेवा दिँदा बिरामीलाई लाइनमा बसाल्नुपर्ने समस्या भएको भन्दै अब उक्त समस्या समाधान हुने उनको भनाइ छ । पालिकाको ११ वटै वडामा नगरपालिकाले स्वास्थ्य सेवा पुर्याएको छ । गलकोटमा एउटा नगर अस्पतालसहित १४  स्वास्थ्य संस्था रहेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए । उनका अनुसार नगरपालिकामा सात स्वास्थ्य चौकी, तीन सहरी स्वास्थ्य केन्द्र र तीन आधारभूत स्वास्थ्य सेवा केन्द्र छन् । नगरपालिकाले नौ स्थानमा बर्थिक सेन्टर र पाँच स्वास्थ्य संस्थामा ल्याब सेवा दिँदै आएको छ । गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गरी बर्थिङ सेन्टर सञ्चालन गरेपछि दूरदराजका नागरिकले सहज रूपमा सेवा पाउनुका साथै घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको प्रमुख पौडेलले जानकारी दिए । रासस