थप २ सय १ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितकाे संख्या २३ सय नाघ्याे
काठमाडौं । बुधबार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २ सय १ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् । देवकोटाले बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा काेराेना थपिएकाे जानकारी दिए। याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ सय पुगेकाे छ जसमा २ सय ७८ जना निकाे भएका छन् र ९ जनाकाे मृत्यु भईसकेकाे छ ।
अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने- स्वास्थ्यमन्त्री
काठमाडाैं । स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशन (हेकाफ ३६०) ले बुधबार उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्यावस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसनकक्ष स्थापना गरी त्यहाँ राखिने बताएका हुन् । उनले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा सङ्क्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्यावस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नाका लागि अब नयाँ नीतिमा जाने स्पष्ट गरे । उनले मुलुकमा १५ हजारसम्म सङ्क्रमित हुन सक्ने आकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको जानकारी दिँदै स्वास्थ्य सामग्रीको अभाव भएका बेला प्राप्त सहयोगलाई अतिआवश्यक ठाउँ हेरेर पारदर्शीरूपमा वितरण गरिने बताए । फाउण्डेशनका अध्यक्ष महेश नकर्मीले ३० थान भेन्टिलेटरसहित एक करोड ७० लाख रुपैयाँ मूल्य बराबरको सामान उपब्ध गराइएको जानकारी दिँदै कोरोना उपचार र रोकथामका क्रममा सरकारसँग मिलेर आगामी दिनमा पनि निरन्तर सहयोग गरिने विश्वास दिलाए । सन् १९६६ मा बौद्ध गुरुमा चेङ येनको सक्रियतामा स्थापित फाउण्डेशनको संयुक्त राज्य अमेरिका, चीन, क्यानडासहित ६३ मुलुकमा शाखा स्थापित छन् । रासस
बुटवल कोरोना अस्पतालबाट चार जना घर फर्किए, प्रदेशमा ७९ जना निको भए
काठमाडाैं । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट बुधबार एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना सङ्क्रमण निको भएको छ । कपिलवस्तुका तीन र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी निको भएर घर फर्किएको अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले जानकारी दिए । निको हुनेमा अर्घाखाँची तथा कपिलवस्तुका मायादेवी, बुद्धभूमि र यशोधरा गाउँपालिकाका छन् । उनीहरू सबै गत वैशाख २९ गते अस्पतालमा भर्ना भएको डा. थापाले बताए । यससँगै धागो कारखानाको अस्पतालबाट निको भएर घर फर्किनेको संख्या १९ पुगेको छ । रासस