प्रदेश २ का ५ जना मर्यादापालकलाई काेराेना पुष्टि, बैठक अनिश्चितका लागि स्थगित
काठमाडाैं । प्रदेश नम्बर २ को प्रदेश सभामा कार्यरत ५ जना मर्यादापालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएपछि प्रदेश सभा बैठक स्थगित गरिएकाे छ। पाँच जना मर्यादापालकमा कोरोना पुष्टि भएपछि पूर्वनिर्धारित प्रदेश सभाको चौँथो अधिवेशनको दोस्रो बैठक अनिश्चितका समयका लागि स्थगित भएकाे हाे । दोस्रो बैठक कार्यसूची अनुसार बिहीवार ३ बजे आह्वान गरिएको थियो। तर, मर्यादापालकको रिपोर्ट पोजेटिभ आएपछि बैठक अनिश्चित समयसम्मको लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
नेपाल छिरेको भाइरस कडा छैन- डा. वासुदेव पाण्डे
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको पाइएको र्छैन । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले यहाँ देखिएका ९५ प्रतिशत सङ्क्रमितमा कोभिड-१९ को लक्षण नदेखिएको बताए । संसारमा भने ८० प्रतिशत सङ्क्रमितमा पनि लक्षण देखिएको छैन । उनले कोभिड-१९ परीक्षणका क्रममा ती बिरामीमा सङ्क्रमण देखिए पनि सङ्क्रमतिको अवस्था भने सामान्य मानिस सरहको छ । लक्षण नदेखिनुमा परीक्षण ढिलो, नेपालमा प्रवेश गरेको भाइरस कडा खालको नहुने र नेपालीमा प्रतिरोधात्मक क्षमता बढीजस्ता कारणले लक्षण नदेखिएर सङ्क्रमण हुनसक्ने बताए । ‘कोरोना भाइरस मानिसमा १४ दिनसम्म देखापर्ने गर्दछ, तर हामीले परीक्षण १४ दिनपछि पनि गरेका छौँ’, उनले भने- ‘भाइरस मानिसमा सरेको १४ दिनपछि परीक्षण गराउँदा लक्षण नदेखिन सक्छ ।’ सङ्क्रमितमध्ये पाँच प्रतिशत बिरामी भने सङ्क्रमणको लक्षणसहित मुटुरोग, उच्चरक्तचाप, दमलगायतका बिरामी छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले पनि शुरु-शुरुमा बाहिरबाट आउने बिरामीमा भाइरसको लक्षण भए पनि पछिल्लोपटक आउने बिरामीमा नभएको बताए । उनले कतिपय बिरामीलाई उच्च ज्वरो, स्वास फेर्न गाह्रो, थकाइ लाग्नेजस्ता लक्षण भने देखिएको बताए । ‘शुरु-शुरु बाहिर मुलुकबाट लक्षण लिएर आएका सङ्क्रमितमा लक्षण देखिएको थियो’, अस्पतालका निर्देशक डा राजभण्डारीले भने, ‘तर पछि भारतबाट आएका सङ्क्रमितमा भने त्यस्तो लक्षण देखिएको छैन ।’ उनले लक्षण नदेखिएपछि दीर्घरोगी सङ्क्रमितलाई बढी पावरको औषधि प्रयोग गर्नुपरेको बताए । सङ्क्रमण भएका व्यक्तिमा १४ दिनपछि पिसीआर परीक्षण गर्दा भाइरस निकै कम सक्रिय रहेको हुन्छ । त्यतिबेला परीक्षण गराएका व्यक्तिमा सङ्क्रमण देखिन पनि सक्छ, नदेखिन सक्छ । भाइरस पाँचदेखि १० दिनमा एकदमै सक्रिय हुनाले त्यतिबेला पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । इपिडीमियोलोजी महाशाखाका निर्देशक डा पाण्डेले बाहिरबाट आएकालाई राम्रो क्यारेन्टिनमा राख्न, सके डेङ्गु मलेरियाजस्ता रोगबाट बचाउन सकिने बताए । उनले अहिले स्थानीय तहले बनाएका क्यारेन्टिनमा त्यति राम्रो व्यवस्थापन नभएकाले डेङ्गु, मलेरियाजस्ता रोग फैलने डर रहेको बताए । नेपालमा अहिलेसम्म दुई हजार छ सय ३४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दश जनाको मृत्यु भएको छ भने २७८ उपचारपछि घर फर्किसकेका छन् । यस्तै अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म ६५ जिल्लामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण युवा अवस्थाका व्यक्तिमा सबैभन्दा बढी देखिएको छ । १५ वर्षदेखि २४ वर्ष उमेरका ७१३, २५ वर्षदेखि ३४ वर्ष उमेर समूहका ५६२, ३४ वर्षदेखि ४५ वर्ष उमेर समूहका ३४४, ४६ वर्षदेखि ५४ वर्ष उमेर समूहका १२६ जनामा रहेका छन् । वृद्धा र केटाकेटीमा कम छ । अहिलेसम्म पिसीआर ८० हजार २६७ र आरडिटी एक लाख २० हजार २७९ जनामा परीक्षण गरिएको छ । यस्तै, एक लाख ५५ हजार ८६८ क्वारेन्टिनमा र दुई हजार १३ जना आइसोलेसनमा रहेका छन् । रासस
पाल्पामा एकजनाकाे काेराेनाबाट मृत्यु
काठमाडौं । काेराेनाबाट नेपालमा थप एकजनाकाे मृत्यु भएकाे छ । पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषकाे मृत्युपछि स्वाब परीक्षण गर्दा काेराेना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । याेसँगै नेपालका काेराेनाकाे कारण १० जनाकाे मृत्यु भएकाे छ । नेपालमा बिहिबार साँझसम्म काेराेना संक्रमितकाे संख्या २६ सय ३४ पुगेकाे छ भने दुई सय निकाे भएर घर फर्किएका छन् ।