पाँचथरका सबै सङ्क्रमित निको भएर घर फर्किए , क्वारेन्टिन पनि खाली
पाँचथर । यहाँका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए । चारै जनालाई विभिन्न खाडी राष्ट्रबाट उद्धार गरिएको थियो । पछिल्लो पटक सङ्क्रमित देखिएका तीन जना पुरुष कोरोना सङ्क्रमण मुक्त भई अस्पतालबाट फर्केका छन् । यस्तै शुक्रबार यहाँका क्वारेन्टिनमा बस्नेको सङ्ख्यासमेत शून्यमा झरेको छ । पाँचथरमा पहिलो पटक गत जेठ ३ गते कोरोना भाइरसको पहिलो सङ्क्रमित भेटिएका थिए । जिल्लाको याङवरक गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीया युवतीमा सङ्क्रमण देखिएको थियो । उनी सरकारी उद्धारबाट वैशाख ३० गते नेपाल आएकी थिइन् । सङ्क्रमण देखिएपछि उपचारार्थ कोशी अस्पताल पठाइएकी ती युवती दुई साताअघि निको भई घर फर्किसकेकी छन् । यस्तै साउदी अरेबियाबाट उद्धार गरिएका जिल्लाको हिलिहाङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा गत असार २१ गते तथा संयुक्त अरब इमिरेट्स (युएई)बाट उद्धार गरिएका याङवरक गाउँपालिकाका २३ वर्षीय पुरुष र कतारबाट उद्धार गरिएका तुम्बेवाका ३२ वर्षीय पुरुषमा असार २६ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये दोस्रो सङ्क्रमितलाई कोशी अस्पताल विराटनगर तथा बाँकी दुई जनालाई कोभिड–१९ विशेष अस्पताल गोठगाउँ, मोरङ पठाइएको थियो । पछिल्लो पटक गरिएको परीक्षणमा तीनै जनामा कोभिड–१९ नेगेटिभ देखिएपछि घर फर्कंदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले सबै सङ्क्रमित निको भएको तथा क्वारेन्टिनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार शुक्रबार जिल्लाका ४२ वटा क्वारेन्टिन पूर्णरुपमा खाली भएका छन् । क्वारेन्टिनमा बसेका तथा अन्य गरी जिल्लामा ७७९ जनाको स्वाब परीक्षण गरिएको छ भने २ हजार २०३ को आरडिटी गरिएको छ । यहाँका ७२२ बेडको क्वारेन्टिन तथा ३६ बेडको आइसोलेन कक्ष पहिलोपटक पूर्णरुपमा खाली भएका छन् ।
१०१ जनामा कोरोना संक्रमण पुष्टि, २८५ जना डिस्चार्ज
काठमाडौं । शुक्रबार नेपालमा १०१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । शुक्रबार ४ हजार ६८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
धरानमा उपचाररत कोरोना संक्रमित ७३ वर्षीय वृद्धको मृत्यु
काठमाडौ । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्धको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको बिहिबार राती मृत्यु भएको हो । गत बुधबार वृद्धलाई अस्पताल भर्ना गरिएको थियो। मुटु, मधुमेह, उच्च रक्तचाप विरामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खोकी पनि देखिएपछि आइसोलेसनमा राखिएकाे अस्पतालले जनाएकाे छ । याेसँगै नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या ४० पुगेकाे छ ।