राष्ट्र बैंकका कर्मचारीमा काेराेना देखिएपछि मुद्रा व्यवस्थापन विभाग सिल
काठमाडाैं । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्र बैंकको प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुषटि भएकाे हाे । उनी मुद्रा व्यवस्थापन विभागमा कार्यरत कर्मचारी हुन् । कर्मचारीमा कोरोना देखिएपछि बालुवाटारस्थित उनको विभागमा सिल गरिएको छ ।
विद्युत प्राधिकरणका कर्मचारीको कोरोनाबाट मृत्यु
काठमाडाैं । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका एक कर्मचारीमा काेराेना भाइरस संक्रमण भएर मृत्यु भएकाे छ । विराटनगर वितरण केन्द्रका ५७ वर्षीय कर्मचारीको मृत्यु भएको बताइएकाे छ । मृतक मधुमेह र दमका रोगी थिए । विराटनगर महानगरपालिका स्थायी घर भएका उनको दिउँसो ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि सोमबार कोभिड अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।
बुधबार काठमाडाैं उपत्यकामा एकैदिन १३८ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा १३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १३८ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे १०९, ललितपुरकाे २१ र भक्तपुरकाे ८ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १०६७ ललितपुरमा १७२ र भक्तपुरमा ११३ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १४४४ पुगेको छ । आज देशभर ४८४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।