काठमाडौं उपत्यकामा थप १ सय १८ जनामा देखियो कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय १८ जनामा कोरोना देखिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ८३, ललितपुरको ३० र भक्तपुरको ५ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन् । योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या १६९७ पुगेको छ। आज देशभर ५ सय ९४ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

नेपालमा थप ५ सय ९४ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय ९४५ जनामा कोरोना भाइरस देखिएको बताएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै कर्मचारीको गरायो कोरोना बीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड-१९) को बढ्दो कहरलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । बैंकले आफ्ना हरेक कर्मचारीको १ लाख रुपैयाँ बराबरको बीमा गराएको हो । कम्पनीले यस बिषम र प्रतिकुल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागी खटीरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परिक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड-१९ बीमा गराएको हो । बीमामा उल्लिखित सम्झौता अनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पि.सि.आर. परिक्षणमा कोभिड-१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमा दावी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ । यो कोरोना बीमाबाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीहरुलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको छ । बैंकले सुरक्षाका उपायहरु अपनाएर सेवा प्रदान गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, सेनिटाइजर, पन्जा, फेस सिल्ड लगाएका अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिई सुरक्षितरुपमा सेवा प्रदान गर्न अभिप्रेरित गरेको छ ।