संसारभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, ५ लाख बढिको मृत्यु

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७४ हजार ६ सय ३० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ६ सय २५ जनाको मृत्यु भइसकेको छ भने ५४ लाख ५३ हजार २ सय ४७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २८ हजार १ सय ५२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २५ लाख ९६ हजार ४ सय ३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख २९ हजार ५ सय ७७ पुगेको छ भने अहिलेसम्म १६ हजार १ सय ३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १२ हजार ३ सय ९ जना संक्रमित भएका छन् भने २८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ८ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ

काठमाडौं । प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ का फोकल पर्सन पुष्कल श्रेष्ठले बताए । गत जेठ २१ गते भारतबाट आई वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा १४ दिन बसेपछि यही असार ३ गते उनको आरडिटी गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछि होम क्वारेन्टाइनमै बसेकी बालिकाको असार ६ गते मृत्यु भएको हो । उनको मृत्युपछि पिसिआर जाँचका लागि स्वाब पठाइएको थियो । बालिका मिर्गौला र रक्त अर्बुदरोगको बिरामी थिइन् । रासस

नेपालमा थप ५ सय ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ३ सय नाघ्याे

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा योसँगै कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेकाे स्वास्थ्य मन्त्रालयकाे प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३६ जना कोरोना संक्रमित मानिस कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा २ हजार ८ सय २९ जना कोरोनामुक्त भएका छन् । त्यस्तै शनिवार विहान १ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २८ पुगेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । हाल नेपालकाे ७७ वटै जिल्लामा काेराेना फैलिएकाे छ ।