स्वास्थ्य सामग्री किन्न नर्वेमा रहेका नेपालीले गरे आर्थिक सहयोग
डाेटी । नर्वेमा बसोबास गर्दै आएका नेपालीले जिल्लाका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गरेका छन् । जिल्लामा रहेका नागरिकलाई क्वारेन्टाइनदेखि अन्य स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा सहयोग पुर्याउन उनीहरुले २ लाख ३० हजार रूपैयाँ रकम सङ्कलन गरी उपलब्ध गराएका हुन् । जिल्लाको केआइसिंह गाउँपालिका–५ केदारगाउँका स्थानीयवासी तथा नेपाली काँग्रेस जनसम्पर्क समिति नर्वेका सभापति जीतेन्द्र शाहीको पहलमा उक्त रकम सङ्कलन गरी जिल्लामा पठाइएको हो । ‘स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग’ अभियानमा नर्वेमा बसोबास गर्दै आएका नागरिकले स्वःस्फूर्तरूपमा प्रदान गरेको रकम डोटी जिल्लामा पठाइएको शाहीले बताए । उनले भने, “जिल्लामा स्वास्थ्य सामग्री किन्न समस्या भएको खबर हामीले पायौं, सबै साथीको सहयोगमा रकम सङ्कलन गरी पठाएका छौं, आशा छ हाम्रो सहयोगले केही सहज हुने छ ।” नर्वेबाट प्राप्त उक्त सहयोगले जिल्लामा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा समस्या भएका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । केआइसिंह गाउँपालिका, शिखर नगरपालिकाको वडा नं १ र २ तथा सायल गाउँपालिका–२ को क्वारेन्टिनमा बसेका व्यक्तिलाई स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । भारतबाट दैनिक हजारौंको सङ्ख्यामा नपाली स्वदेश फर्किन थालेपछि स्थानीय सरकारलाई स्वास्थ्यदेखि क्वारेन्टाइन व्यवस्थापन गर्न निकै कठिन भएको अवस्थामा प्राप्त सहयोगले निकै सहज भएको सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले बताए । नर्वेबाट आएको आर्थिक सहयोगले यहाँका क्वारेन्टानमा बसेका व्यक्तिलाई सर्जिकल मास्क, नुहाउने र लुगा धुने साबुनलगायतका सामग्री खरिद गरी हस्तान्तरण गर्न लागिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए । रासस
कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा तथ्याङ्क
काठमाडौं । नेपाली समय अनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २ लाख ३८ हजार १ सय ९९ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ४ हजार ७८ जनाको मृत्यु भइसकेको छ भने ५५ लाख ४९ हजार ७ सय २९ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २८ हजार ४ सय ३७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २६ लाख ३७ हजार ३९ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ९७ पुगेको छ भने अहिलेसम्म १६ हजार ४ सय ८७ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १२ हजार ७ सय ७२ जना संक्रमित भएका छन् भने २८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३ हजार १३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार ः वल्डोमिटर)
कोभिड-१९ः विश्वभर एक सय ५८ नेपालीको मृत्यु
काठमाडाैं । कोभिड-१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ । एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ । साथै उक्त संस्थाले ८७ वटा शव पनि नेपाल पठाएको बताएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोभिड-१९ का कारण मृत्यु भएको तथा डेनमार्क, नेदरल्यान्डस्, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली सङ्क्रमणबाट मुक्त भएका छन् । रासस