आज थप ६ सय ३८ जनामा काेराेना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय ३८ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ हजार ९ सय ४८ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ११ हजार ५८ जना रहेका छन् भने आजसम्म ४ लाख ६३ हजार ६ सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ भने थप ४ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।
थापाथलीकाे प्रसूति अस्पतालमा पनि काेराेना परीक्षण सुरु
काठमाडौं । थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा काेराेना भाईरस (कोभिड-१९) को परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालमा कोभिड-१९ परीक्षण सुरु भएको हो । अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालको औपचारिक उ्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर प्रयोगशालाको उद्घाटन गरे । महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालले पीसीआर ल्याब निर्माण गरेको हो । महानगरले पीसीआर मेसिन सहित भिटिएम १ हजार ५ सय थान, आरडीटी १ हजार ५ सय थान र पीपीई ५ सय थान उपलब्ध गराएको छ । अस्पतालकी निर्देशक संगीता कौशल मिश्राले महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेपछि परीक्षण सुरु गरिएको बताईन् । उनले संक्रमणको महामारीको अवसथामा अस्पताल भित्रै पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुँदा विरामीको उपचारमा थप सहयोग पुग्ने बताईन् । अस्पतालले कोभिड-१९ संक्रमणको आशंका लागेका विरामीलाई कुपण्डोल स्थित छुट्टै भवनमा आइसोलेसनमा राखेर उपचार गर्दै आएको र पीसीआर परीक्षणको ल्याब सुरु भएपछि उपचारका लागि थप सहज हुने विश्वास मिश्राले व्यक्त गरिन् ।
भारतमा कोभिड–१९ समाप्त नहुन्जेल नेपालमा जोखिम रहन्छ: स्वास्थ्यमन्त्री ढकाल
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले भारतसँग खुला सिमाना भएका कारणले त्यहाँ कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम बढिरहने जानकारी दिए । उनले बन्दाबन्दी (लकडाउन) खुलेसँगै मानिसले स्वास्थ्यका न्यूनतम मापदण्ड लागू नगर्दा कोभिड–१९ को सङ्क्रमण बढेको बताए । उनले सरकारले प्रभावकारी कदम चालेको कारणले अन्य देशभन्दा नेपालमा सङ्क्रमितको सङ्ख्या तथा मृत्युदर पनि कम रहेको उल्लेख गरे । “मन्त्रालयले प्रक्षेपण गरेअनुसार यही साउन २५ गतेसम्म खराब अवस्थामा ९१ र अगामी भदौ २ गतेसम्म मध्यम अवस्थामा ३९ हजार पुग्ने अनुमान गरिएको थियो”, उनले भने, “तर सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाममा खेलेको भूमिका र स्वास्थ्यकर्मीको प्रयासका बाबजुद हामीले त्यो अनुुमान गरेको सङ्ख्याभन्दा कम नै सङ्क्रमित रहेका छन् ।” मन्त्री ढकालले पहिले देखिएका स्थानमा पुनः सङ्क्रमित देखिन थालेको जनाउँदै लक्षण नदेखिएका सङ्क्रमितलाई चिकित्सकको निगरानीमा घरमै रहेको आइसोलेसनमा राखिने जानकारी दिए । “अरू देशमा सङ्क्रमित भएको ठाउँमा फेरि भयाभह रुपमा सङ्क्रमित देखिएका छैनन् तर यहाँ भने पहिले सङ्क्रमित देखिएका ठाउँमा फेरि पनि सङ्क्रमित देखिन थालेका छन्”, उनले भने, “वीरगञ्ज, बाँके, उदयपुर, कैलालीजस्ता ठाउँमा फेरि पनि सङ्क्रमित देखिन थालेका छन् । त्यसैले अझ सतर्कता अपनाउन आवश्यक रहेको छ ।” उनले सरकारले कोभिड–१९ नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको भन्दै जथाभावी आलोचना नगर्न आग्रह गरे । “हामीले अहिलेसम्म जे जे उपाय अपनाएर नियन्त्रण र रोकथाम गर्न सकिन्छ । त्यो सबै गरेका छाैँ । अहिलेसम्म हामीले गरेको उपाय भएको छैन भने सुझाव गर्नुहोस”, उनले भने, “हामीलाई त्यो सुझाव राम्रो लाग्यो भने रोकथाममा सहयोग पु¥याउने छ । तर अनावश्यक आलोचना नगर्नुहोस् ।” कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको सेवालाई अझ प्रभावकारीरुपमा लैजानुपर्ने सुझाव दिए । मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह लगायतले अस्पतालले सेवालाई अझ छिटोछरितो बनाउनुपर्ने बताए । अस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्राले अस्पतालको सेवा अझ विस्तार गर्न लागेको जानकारी दिए । उनले संविधानले नै स्वास्थ्य सेवालाई निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको हुनाले गरिब, असहाय, विपन्नलाई आर्थिक अभावका कारण हुनै पनि बिरामी उपचार गर्नबाट वञ्चित हुन दिनेछैन भने । विसं २०१६ मा स्थापना भएको ४० श्ययाबाट अस्पतालमा अहिले ४१५ श्यया रहेका छन् । अस्पतालमा अहिले प्रसूति रोगसम्बन्धी सबै उपचार, आमा सुरक्षा, नवजात शिशु उपचार कार्यक्रम, परिवार नियोजन तथा सुरक्षित गर्भपतन, निःसन्तान तथा बाँझोपन, क्यान्सर तथा युरो गाइनोकोलोजीका सेवा प्रदान गर्दै आइरहेको छ । गत आर्थिक वर्ष ०७६/७७ मा ११ लाख १९ हजार ६२५ जनाको बहिरङ्ग सेवा, २२ हजार ४६१ गर्भवतीलाई सुत्केरी र १० हजार ९७७ जना शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । रासस