आज थप ३ सय ३८ जनामा काेराेना देखियाे, संक्रमितकाे संख्या २३ हजार नाघ्याे
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ३८ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ हजार ३ सय १० जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १० हजार ७ सय ५९ जना रहेका छन् भने आजसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको छ । आज थप ३ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एभरेष्ट बैंकको केन्द्रीय कार्यालय बन्द
काठमाडौं । एभरेष्ट बैंकको केन्द्रीय कार्यालय बन्द भएको छ । २ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएपछि बैंकको केन्द्रीय कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि केन्द्रीय कार्यालय बन्द गर्न लागेको जानकारी बैंकले नेपाल राष्ट्र बैंकलाई गराएको छ । कार्यालयलाई निसंक्रमण गर्नुपर्ने र अन्य कर्मचारीको पनि कोरोना परीक्षण गरेको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले केन्द्रीय कार्यालय बन्द गर्न लागिएको जानकारी बैंकले राष्ट्र बैंकलाई गराएको छ । गत शुक्रबार केन्द्रीय कार्यालयका १ सय ५२ जना कर्मचारीको पीसीआर परीक्षण गराएको थियो । यसरी परीक्षण गरिएकामध्ये २ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । बैंकले आफ्ना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएकोले कार्यालय निर्मलीकरण र निसंक्रमण गर्नको लागि केही दिन बन्द गर्ने जानकारी मौखिक रुपमा गराएको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दियो । यद्यपि बैंकले औपचारिक रुपमा सोको जानकारी नेपाल राष्ट्र बैंकलाई गराएको छैन । ‘केन्द्रीय कार्यालयका २ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएकोले केही दिन केन्द्रीय कार्यालय बन्द गर्ने जानकारी मौखिक रुपमा दिएको छ, लिखित रुपमा जानकारी गराउँदै होला, हामीले पनि नजिकको अन्य स्थानबाट आवश्यक सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु भनेका छौं, अरुमा संक्रमण विस्तार हुन पनि नपाउने र बैंकको सेवा पनि अवरुद्ध नहुने विधि अपनाउन निर्देशन दिएका हौं,’ नेपाल राष्ट्र बैंकका एक अधिकारीले भने ।
कोरोना अपडेट: विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघ्यो
काठमाडाैं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४४४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार ६१७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४७ लाख ५० हजार ४०४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख ५९ हजार ७२९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख २० हजार ५१५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख ३४ हजार ८४५ जनाको मृत्यु भएको छ । युरोपमा ३० लाख ३६ हजार ७५२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ६ हजार १४१ को मृत्यु भएको छ । एसिया ५० लाख ४२ हजार ४७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ९ हजार ६३१ जनाको मृत्यु भएको छ । अफ्रिकामा दश लाख ५२ हजार ४० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३ हजार ३२४ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३४० जनाको मृत्यु भएको छ ।